४ जेष्ठ २०८१, शुक्रबार

भोजपुरमा पहिलोपटक कोभिड–१९ अस्पताल सञ्चालनमा


कोरोना भाइरस

भोजपुर, १८ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा नै पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले आवश्यक सुविधा सम्पन्न पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।

जिल्लाका नौवटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीयवासी हर्षित भएका छन् । ‘हाम्रो स्थानीय सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि छुट्टै अस्पताल निर्माण गरेकोमा हामी धेरै नै हर्षित छौँ,’ स्थानीयबासी विष्णु भट्टराईले भन्नुभयो, ‘अब हामीलाई स्वास्थ्य सेवा लिनका लागि धेरै सहज भएको छ ।”

केन्द्र सरकारको निर्देशनानुसार अस्पताल निर्माण गरेको गाउँपालिकाले जनाएको छ । केन्द्रबाट आएको १० लाख रुपैयाँमा गाउँपालिकाले समेत लगानी गरेर अस्पताल निर्माण गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । अस्पताल निर्माणले कोरोना भाइरस सङ्क्रमितसँगै गर्भवती महिला, वालबालिका, वृद्धावृद्धालाई समेत सहजता भएको गाउँपालिकाका उपध्यक्ष सम्झना राईले बताउनुभयो ।

अस्पतालबाट भिडियो एक्सरे, रगत जाँच, ल्याबलगायत सेवासुविधा पाउने बताइएको छ । त्यस्तै, सबै बेडमा अक्सिजन रहेको अस्पतालका डा. कैलाश विश्कर्माले जानकारी दिनुभयो । अस्पतालमा मेडिकल अफिसरसहितको टोलीले स्थानीयवासीलाई सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।

अस्पताल निर्माणले कोरोना भाइरस सङ्क्रमितको उपचारमा थप सहज हुने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले भन्नुभयो, ‘‘अस्पतालमा अक्सिजनलगायत आवश्यक सुविधा नहँुदा कोभिड–१९ का विरामीको उपचारमा समस्या देखिएको थियो, आवश्यक उपकरण र अक्सिजन सेवासहित अस्पताल निर्माण भएपछि अब हामीलाई व्यवस्थापनमा सहजता आउनेछ ।’’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !