२१ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?


कोरोना भाइरस

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

कोरोना भाइरस बारेमा जानकारी तथा परामर्श लिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १११५ वा ११३३ हटलाइन नम्बरमा विहान ६ बजेदेखि राति १० बजेसम्म फोन गर्न सक्नुहुन्छ । वा ९८५१२५५८३९ ,९८५१२५५८३७ , ९८५१२५५८३४ मा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सम्पर्क गर्न सक्नुहुन्छ।

कोरोना भाइरस रोगको मुख्य लक्षणहरू

१. ज्वरो आउने (१००.४°F भन्दा माथि)

२. खोकी लाग्ने

३. श्वाश फेर्न गाह्रो हुने

यस्ता लक्षणहरू देखा परेमा नजिकको तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस् ।

नोभल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने ?

१. ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने ।

२. खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने ।

३. भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने ।

४. बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।

५. कोरोना प्रभावित देशबाट आएको व्यक्त्तिहरूमा माथिका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त जानुपर्दछ । घरैमा बस्दा परिवारका सदस्यहरूबाट १४ दिन सम्म छुट्टै आईसोलेसनमा बस्नु पर्दछ ।

स्रोत : युनिसेफ नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !