१४ बैशाख २०८१, शुक्रबार

जडिबुटी र आयुर्वेदिक औषधि


जडिबुटी र आयुर्वेदिक औषधि
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जडिबुटी भन्नाले जंगलमा पाइने एकल बुटी जसको जरादेखि पातसम्म औषधिमा प्रयोग हुने गरेको पाइन्छ । यस्ता जडिबुटीबाट बनेका एकल औषधिलाई हर्बल नामले पुकारिन्छ भने कुनै ४/५ प्रकारको जडिबुटी मिलाएर बनाएको औषधिलाई आयुर्वेदिक औषधि भन्ने चलन छ ।

प्रकृतिले हामीलाई धेरै ठूलो उपकार गरेतापनि हामीले यसको प्रयोग गरेर लाभ उठाउन सकिरहेका छैनौं केहि कम्पनीले हर्बल औषधि बनाएर तालिम दिएर दक्ष जनशक्ति तयार गरेर मानव सेवा दिएको हामीले देख्न सक्छौं । भारतले यस्ता औषधिबाट उपचार गर्नको लागि नागरिकलाई खुला छुट दिएको छ ।

अनुभवी व्यक्तिहरूलाई परम्परामा आधारित उपचार गर्ने अधिकार दिएको छ । भारतीय वैद्यहरूले यो उपचार गर्दै आएका छन् । यस्ता औषधिहरूबाट उपचार गराउदा रोग मात्र नभई रोगसंग लड्न सक्ने क्षमता समेत रहेको विज्ञहरू बताउछन् । हामीले प्रयोग गर्ने जडिबुटीको विधिसम्मत प्रयोग भने भारतीय महाद्वीपबाट भएको देखिन्छ । जडिबुटीको वैज्ञानिक प्रयोग गर्ने परम्परा बसाल्ने काम भने ऋषिमुनिले गरेका थिए ।

सबैभन्दा पुरानोे ग्रन्थ यजुर्वेदमा जडिबुटीको प्रयोग सम्बन्धि विधि उल्लेख भएको पाइन्छ । झण्डै ५ हजार वर्ष अगाडिदेखि जडिबुटीको प्रतिपादन भइसकेको प्रमाण वेदले नै दिएको छ । त्यसैबेला के खान हुन्छ, के हुँदैन ? के लगाउन हुन्छ, के हुँदैन ? कुन वनस्पतिको प्रयोग कसरी, किन, कहिले र कसले ? गर्ने भन्ने विधि विधान आयुर्वेद अन्तर्गत बनाइएको पाइन्छ ।

जडिबुटीको प्रचुर सम्भावना भएको हिमाली राज्य नेपालमा यस विद्याको विकास अधिक मात्रामा भएको छ । प्राकृतिक चिकित्सक उपचार विधिको प्रयोग गरेर हाम्रा पुर्खाले जगतलाई उत्तम उपचारको खोजी गरेका थिए । प्राकृतिक उपचार अन्तर्गत ध्यान, योग, साधना, आदिको आविष्कारमा हाम्रै हिमाली जडिबुटीको समावेश भएको छ ।

त्यसैले यिनैको मार्ग समातेर हामीले अहिलेसम्म ध्यान, साधना र योग प्रयोगका अनकौं विधि र नियम सिकिरहेका छौं । आफ्ना भावी पुस्तालाई यसो गर उसो गर भनेर अर्ती दिइरहेका छौं । जडिबुटी नेपालको महासम्पत्ति हो । यिनको उपयोगिता, पहिचान र प्रयोग हामीले पनि पुख्र्यौली पद्धतिमै गरिरहेका छौं ।

यस विद्याको प्रशारण मुख्य गरी बाउबाजेबाट छोरा नातिमा हस्तान्तरण गर्दै जनश्रुति विधिबाट हुँदै आएको छ । गाउँघरमा भने अझै पनि परम्परागत रुपमा पुर्वजबाट सिकेको जडिबुटी सम्बन्धी ज्ञानले घरैपिच्छे वैद्य, लामा, धाँमीझाँक्री र झारफुक गर्नेहरुले स्थानीय वनजंगल,पाखा, पखेराबाट खोजी गरी थिचेर, पिसेर, पकाएर, घोटेर, रोगको उपचार गर्ने परम्परा जीवितै छ ।

आयुर्वेदिक उपचार विधि सस्तो र सजिलो त छँदैछ । साथै नकारात्मक असर अर्थात् ‘साइड इफेक्ट’ नहुने खालको सर्वहितकारी पनि छ र सर्वसुलभ पनि छ । हामीले जन्मैदेखि छोएका तिनको गन्ध सुँगेका र न्वारानदेखि मृत्युसम्मका विभिन्न संस्कारमा प्रयोग गर्दै गरेका तिनकै शक्ति र पोषण प्रयोग गरी जीवन धानेका यस्ता जडिबुटी हाम्रै खेत, खोला, करेसाबारी, भिर, कान्ला र पखेरामा जताततै पाइन्छ ।

तर हाल नेपालमा भने यस्ता जडिबुटीबाट उपचार गर्ने विधि लोपोन्मुख अवस्थामा देखिन थालेको छ । मेरो बाजे जिजु र बुबाहरूले जडिबुटीको उपचार गर्दै आउनु भएकोले मेरो शेषपछि आयुर्वेद पद्धति जीवन्त रहोस् भनेर मेरो सानो छोरालाई आयुर्वेदिक शिक्षा दिन सफल भएको छु ।

यसरी हामीले जडिबुटीलाई अघि सार्नुपर्ने देखिन्छ । आज नेपालीहरू नोवेल कोरोनाबाट त्यति प्रभाव पारेको देखिदैन । यसको खास रहस्य भनेकै जडिबुटीको गन्ध हो भन्दा खासै फरक छैन । नेपाली जडिबुटीमा ठूलो रहस्य छिपेको छ । सहि तरिकाले यिनको प्रयोग गर्न सकिन्छ भने असाध्य रोग पनि साध्य हुनसक्ने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !