१५ बैशाख २०८१, शनिबार

आखिर एक्कासी प्रचण्डलाई भेट्न राजेश हमाल किन पुगे खुमलटार ?

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता


प्रचण्ड-हमाल भेटवार्ता

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा महानायकको नामले सुपरिचित राजेश हमाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार गएका छन् ।

आखिर प्रचण्डलाई भेट्न राजेश हमाल किन खुमलटार पुगे ? भनेर राजनीतिक र चलचित्र क्षेत्रमा विशेष चासो बढेको छ । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि अरु थुप्रै कलाकारहरुको दौडधूप जारी रहेको अवस्थामा प्रचण्ड र हमालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ ।

महानायक हमाल प्राय: स्वाभिमानी व्यक्तित्व भएका मानिस हुन् । उनी प्राय: यसअघि नेताहरुको घरमा जाने गर्दैनथे । स्थानीय निर्वाचनको अघि काठमाडौँ उपत्यकाको मेयरमा उठ्नु पर्छ कि के हो ? भनेर उनले एउटा भिडियो सार्वजनिक गरेका थिए । उनी अव राजनीतिमा आउने भनेर पनि चर्चा चल्न थालेको छ ।

प्रचण्डलाई भेट्न हमाल शुक्रबार बिहान उनको निवास खुमलटार पुगेका थिए । ‘प्रचण्ड’ र हमालबीच समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी कलाकार चेतन सापकोटाले बताएका छन् । प्रचण्ड र हमालबीच केही राजनीति र केही सिनेमा क्षेत्रका विषयमा पनि छलफल भएको बुझिएको छ ।

प्रचण्ड र हमाल दुवै जना एक-अर्कालाई भेट्न इच्छुक भएपनि यसको सवै संयोजन सापकोटाले गरेका हुन् । यद्यपि प्रचण्ड र हमालबीच २० मिनेट एक्ला-एक्लै कुराकानीसमेत भएको थियो ।

देशमा राजनीतिक परिवर्तन भएको र जनतामा चेतनाको स्तर बढेको भन्दै राजनीतिक र सामाजिक आन्दोलनमा प्रचण्डले खेलेको भूमिकाको हमालले प्रशंसा गरेका थिए । अहिलेको परिवर्तनलाई संस्थागत गर्दै समृद्धि ल्याउन भने बाँकी नै रहेको बताउदै हमालले जनताले अपेक्षा गरेअनुसारको विकास नपाएको भने प्रचण्डसमक्ष गुनासो समेत गरेका थिए ।

हमालले प्रचण्डसँग राष्ट्रले सम्झिए आफू सेवा गर्न तयार रहेको बताएका थिए । तत्काल राजनीतिमा आउने सोच नरहेपनि आउँदै आउँदिनँ भन्ने पक्षमा पनि आफू नरहेको हमालले बताएको सापकोटाले उल्लेख गरेका छन् ।

नेपाललाई विदेशी चलचित्रको सुटिङका लागि हब बनाउन सकिने भन्दै त्यसका लागि नेपाली कला संस्कृति अनि प्राकृतिक दृश्यलाई विश्वमा चिनाउन जरूरी रहेको हमालले बताएका थिए ।जवाफमा प्रचण्डले हमाललाई आफूले बौद्धिक अनि अध्ययनशील कलाकारको रूपमा बुझेको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !