२४ बैशाख २०८१, सोमबार

संसदमा उमेश श्रेष्ठको प्रश्न, माननीयज्यूका बच्चा निजीमा पढ्छन् कि सामुदायिकमा ?


उमेश श्रेष्ठ

१८ भदौ, काठमाडौँ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको शिक्षा विधेयकको छलफल भइरहँदा सांसदहरुबीच सवालजवाफ चलेको छ । निजी शिक्षण संस्था चलाउने र अन्य दलका तथा नेकपाका सांसदबीच सवालजवाफ भएको हो ।

सोही छलफलमा भाग लिँदै नेकपा सांसद कृष्णभक्त पोखरेलले अहिलेको पाठ्यक्रमले दुई प्रकारको जनशक्ति उत्पादन गरेको तथा विधेयकले यसलाई सम्बोधन नगरेको बताए । उनले बेलायत, अमेरिका लगायत पूजीवादी देशमा समेत एकै प्रकारको शिक्षा हुने र प्रधानमन्त्री र सर्वसाधारणका बच्चा एउटै स्कुलमा पढ्ने भन्दै संविधानमा समाजवादमा जाने उल्लेख गरेपनि सो अनुसार शिक्षा विधेयक नआएको बताए ।

छलफलमा भाग लिँदै नेपाली कांग्रेस सांसद तथा शैक्षिक व्यवसायी उमेश श्रेष्ठले कक्षा १० सम्मको पाठ्यक्रम एउटै रहेको भन्दै दुई प्रकारको जनशक्ति उत्पादन नभएके बताए । उनले कृष्णभक्त पोखरेललाई जवाफ फर्काउँदै भने, ‘माननीयज्यूहरुले बच्चा कहाँ पढाइरहनु भएको छ ? निजी कि सामुदायिकमा ?’श्रेष्ठले शिक्षामा लगानी नपुगेका कारण निजी विद्यालयमा पढाउनु बाध्यता भएको बताए । उनले सामुदायिक विद्यालयमा ४० हजार शिक्षक नपुगेको र पाँच हजार भवन अझै नबनाएको बताए । ‘पब्लिक बलियो बनाउनुस् प्राइभेट आफैँ हराउँछ,’ श्रेष्ठले भने ।

संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठले पनि उमेश श्रेष्ठलाई समर्थन जनाए । उनले समाजवादी शिक्षा लागू गर्ने भन्दैमा तत्काल सम्भव नभएको बताए । उनले उमेश श्रेष्ठको नामै लिएर समर्थन गरे । सांसद भरतबहादुर साहले पनि सामुदायिक शिक्षा राम्रो नभएकाले निजीलाई अंकुश लगाउन नहुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !