२३ बैशाख २०८१, आइतबार

कोरोना नियन्त्रण तथा उपचारका काँग्रेसद्वारा ४० लाख प्रदान


नेपाली काँग्रेस

जनकपुरधाम, २४ चैत । प्रदेश नं २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले आज रु ४० लाख ७५ हजार प्रदान गरेको छ ।

नेपाली काँग्रेसका प्रदेश नं २ स्थित आठवटै जिल्ला कार्यसमितिकोतर्फबाट नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा नेपाली काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादव, नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखरकुमार यादवसहितको उपस्थिति रहेको थियो ।

त्यस्तै सो उपचार कोषमा आज लक्ष्मी बैंकले रु १० लाख र सिभिल बैंकले रु पाँच लाख प्रदान गरेको छ । ती दुवै बैंकका प्रतिनिधिले छुट्टाछुट्टै कार्यक्रममा मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कोषमा अहिलेसम्ममा रु एक करोड छ लाख ७५ हजार जम्मा भइसकेको छ र सोबाहेक भाटभटेनी सुपर मार्केटले सो कोषमा रु २५ लाख दिने घोषणा गरेको मुख्यमन्त्री राउतको प्रेस संयोजक आतिस मिश्रले जानकारी गराउनुभएको छ ।

सहुलियत दरमा तरकारी पसल सञ्चालन

लहान : सरकारले गरेको लकडाउनका मारमा परेका आफ्ना नागरिकलाई सहज र सहुलियत दरमा तरकारी उपलब्ध गराउने उद्देश्यका साथ लहान नगरपालिकाले सहुलियत पसल सञ्चालन गरेको छ ।

कोभिड– १९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनकाबेला किसानबाट उत्पादित तरकारी खरिद गरी सहज र सहुलियत दरमा उपलब्ध गराउन नगरपालिकाको कृषि शाखाले सहुलियत पसल सञ्चालन गरेको हो ।

नगरवासीलाई सहजरुपमा तरकारी उपलब्ध गराउन सहुलियत पसल सञ्चालन गरेको लहान नगरपालिका कृषि संयोजक प्रदीप चौधरीले जानकारी दिनुभयो । लहान नगरपालिका– ७ स्थित राममन्दिरको अगाडिबाट शुरु गरिएको सहुलियत पसल लहानको अस्पताल चोक, शहीद चोकमा सामाजिक दूरी कायम गरिने गरी बिक्रीवितरण गरिने संयोजक चौधरीले बताउनुभयो ।

किसानबाट खरिद गरी प्रतिकिलो भन्टा रु १०, बन्दा काउली रु २०, हरियो खुर्सानी रु १००, साग रु ४०, काँक्रा रु २०, धनियाँ रु ४०, पालक साग रु ६०, लसुन रु १६० का दरले सहुलियत पसलबाट बिक्रीवितरण शुरु गरिएको संयोजक चौधरीको भनाइ छ ।

यस्तै टोलटोलमा किरानाका अत्यावश्यक सामान शहरी र ग्रामीण क्षेत्रमा पु¥याउन उद्योग वाणिज्य सङ्घ लहान सिरहाका अध्यक्ष अशोकलाल अमात्यसहितका पदाधिकारीसँग आग्रह गरेको लहान नगरपालिकाका नगरप्रमुख मुनी साहले बताउनुभयो ।

आँपको मजुरामा मधुवा किराको प्रकोप, किसान चिन्तित

आँपको राजधानी मानिने सिरहा र सप्तरीमा यो वर्ष बढी उत्पादन हुने विश्वास लिएका किसानले आँपको मजुरा (फूल)मा मधुवा किराले व्यापक क्षति पु¥याउन थालेपछि चिन्तित बनेका छन् ।

आँप उत्पादनको दृष्टिकोणले यो वर्ष बढी आँप उत्पादन हुने भए पनि आँप फल्नुआगावै मधुवा किराले मजुरालाई सखाप पार्न थालेपछि किसान चिन्तित बनेका हुन् । मधुवा किरा मार्न कुन औषधि कसरी छर्किने भन्ने कुरा थाहा नपाउँदा समस्या भएको सिरहाको गोलबजार नगरपालिका– ७ का किसान श्यामसुन्दर चौधरीले बताउनुभयो ।

यस वर्ष आँप राम्रो फल्ने समय भए पनि मधुवा किराले आँपको मजुरालाई क्षति पु¥याउन थालेपछि अपेक्षाकृत रुपमा आँप नफल्ने चिन्ता बढेको उहाँको कथन छ । आँपको राजधानी मानिने सिरहा र सप्तरीमा फल्ने आँप मुलुकको विभिन्न शहरका साथै भारतलगायतका अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएका छन् ।

“यसपालि पातभन्दा बढी मजुरा थियो तर मधुवा किरा लागेर कालो हुन थालेको छ”, सप्तरीको सितापुरका किसान राजेन्द्र विश्वकर्माले भन्नुभयो, “मधुवा किराले कमजोर पारेकाले हावा चल्नेबितिकै मजुरा झर्न थालेको छ, समयमै औषधि छर्किन पाए मजुरा बचाउन सकिन्छ ।” तर यसबारे बुझ्न लकडाउनका कारण कृषि कार्यालयसम्म पुग्न नसकिरहेकाले समस्या भएको उहाँको कथन छ ।

आँपको पकेट क्षेत्रका रुपमा पूर्वपश्चिम राजमार्गसँग टाँसिएको सिरहाको जिरोमाइल, गोलबजार, मिर्चैया तथा सप्तरीको कञ्चनपुर, रुपनगर, सितापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुरलगायत छन् । यस क्षेत्रमा आँपको घना बगैँचा छन् ।

आँपको पकेट क्षेत्रमा मधुवा किराले मंजुरामा पु¥याएको क्षतिबारे किसानबाट गुनासो आएको र सोही आधारमा मधुवा किराबाट आँपको मजुरा जोगाउन एफएम रेडियोबाट जानकारी दिइरहेको कृषि ज्ञान केन्द्र राजविराजका सूचना अधिकारी दिनेश यादवले बताउनुभयो ।

“मधुवा किरा हावा र माटोका माध्यमबाट एक बोटबाट अर्काे बोटमा सर्ने गरेको छ”, उहाँले भन्नुभयो, “मुलुकमा लकडाउन जारी रहेकाले एफएम रेडियोबाटै आँपलाई मधुवा किराबाट जोगाउन किसानलाई आवश्यक परामर्श दिइरहेका छौँ, यो जानकारी पाएर किटनाशक औषधि छर्किए मधुवा किराको प्रकोप धेरै हदसम्म नियन्त्रणमा आउन सक्छ ।”

मधुवा किरा र सुख्खा मौसमका कारण आँपको मञ्जरीमा क्षति भइरहेकाले पानीसँगै किटनाशक औषधि छर्किए यस वर्ष बढी आँप उत्पादन हुने सूचना अधिकारी यादवको भनाइ छ । यस वर्ष मञ्जरी सप्रियो भने दुई अर्बभन्दा बढी मूल्य बराबरको आँप उत्पादन हुने सम्भावना रहेको अनुमान गरिएको छ ।

सिरहामा गत वर्ष पाँच हजार १७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर एक दशमलव पाँच प्रतिशतका दरले सात हजार ७५५ मेट्रिकटन आँप उत्पादन भएको थियो । यस्तै सप्तरीमा कूल पाँच हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर एक दशमलव पाँच मेट्रिक टनका दरले सात हजार मेट्रिक टन आँप मात्र उत्पादन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !