१७ जेष्ठ २०८१, बिहिबार

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी


गुइँठा

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् ।

मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । यहाँ गोबरमा पराल वा साना झिक्रा हालेर डोलो ‘गुइँठा’ र घरका पर्खालमा गोबर सुकाएर ‘चपरी’ पारिन्छ ।

गाई, भैँसी पालेका किसानले आफ्नै गोठको गोबरमा र यी पशुबस्तु नपाल्नेले चरन क्षेत्र र बाटाघाटाका गोबर टिपेर घरमा ल्याई थुपारेर ‘गुइँठा’ बनाउँछन् । जिल्लाका सबैजसो स्थानीयतहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिँदा छन् । जिल्लाका १५ स्थानीयतहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा अहिले गृहिणीको ‘गुइँठा’ बनाउने काममा व्यस्तता बढेक हो ।

“कि करु ? खाना त खाइपरत, अइकेलेल जोगार त कर परल नई” (के गर्नु ? खानु त परिहाल्छ, त्यसका लागि इन्धनको जोहो त गर्नै प¥यो नि) धमाधम गुइँठा बनाउँदै भङ्गाहा–३ सकरी बस्तीकी रामराजी सदा भन्छन्, “अखैन जोगार नइकरब त बर्खामें दिकत होयत” (अहिले इन्धनको जोहो नगरे बर्खामा अप्ठ्यारो हुन्छ) । बर्खामा गुइँठा चाँडै बल्ने र सल्केपछि ननिभ्ने भएपछि गृहिणी यसमा खाना पकाउन अभ्यस्त भएका छन् ।

जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी र गुइँठा (गोरहा) मा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आमविश्वास छ । बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक सुरेश पासवान गोबरका ‘चिपरी’ र ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने बताउछन् ।

यहाँका महिला अहिले कृषि कार्य नहुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’ र ‘गुइँठा’ बनाउन व्यस्त भएका हुन् । घरमा पशुबस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर लगाउने र गोठमा नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घर वरपर ल्याएर थुपार्ने महोत्तरीमात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ । यसरी दुई-तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई-तीन दिन लगाएर ‘गुइँठा’ र ‘चिपरी’ पाथ्ने गरिन्छ ।

सामान्यतया गोबरलाई चाक्लो पारेर पथारिनेलाई ‘चिपरी’ र भित्रपट्टि पराल र मसिना झिक्रा हालेर लामो डोलो बनाइनेलाई ‘गुइँठा’ वा ‘गोरहा’ भनिन्छ । यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ । यस्तो चाङ एक महिना जति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ ।

खासगरी वन क्षेत्र टाढा भएका र ग्यास किन्ने हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाउनुपर्ने बाध्यता छ । तराई क्षेत्रमा गाई, गोरु, भैँसी र राँगाको गोबर इन्धनमा खर्च भएपछि जग्गा जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् ।

“खेतबारीमा हाल्नुपर्ने कम्पोष्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ”, महोत्तरीकै बर्दिबास–७ का विन्देश्वर यादव भन्छन्, “खेतबारी मलिलो बनाउने कम्पोष्ट मल नभएपछि उत्पादन निकै घटेको छ ।” अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वरा शक्ति ह्रास भएर यहाँका जग्गा बेकामे बन्ने किसान बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !