१४ बैशाख २०८१, शुक्रबार

को हुन् प्रतिनिधिसभाको उपसभामुखमा नवनिर्वाचित पुष्पा भुसाल ?

दोस्रो प्रयासमा उपसभामुखको पद बाजी मरेकी पुष्पा भुसालको जीवनी


पुष्पा भुसाल

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको आज बसेको दोस्रो सत्रको बैठकले उपसभामुखमा भुसाललाई निर्वाचित गरेको हो ।

उपसभामुखको मतदानमा २ सय ४२ जना सांसदहरु सहभागी भएका थिए । उपसभामुखमा निर्वाचित भुसालको पक्षमा १४८ मत परेको छ भने विपक्षमा ९३ मत खसेको छ भने भोट दिन्न भन्ने पक्षमा १ मत खसेको छ ।

सांसद भुसालले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायमको रहेको सांसदहरुको बहुमत भएकाले सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख पदमा उनी निर्वाचित भएको घोषण गरेका थिए ।

काँग्रेस सांसद भुसालको उम्मेदवारीमा माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मीकुमारी चौधरीको समर्थक रहेकी थिइन् ।

जन्म र शिक्षा

२०१७ साल फागुन १ गते अर्घाखाँची जिल्लाको पोखराथोकमा जन्मिएकी भुसालले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्रध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् । उनी केही समय कानुन व्यवसायमा पनि सक्रिय भएकी थिइन् ।

राजनीतिक परिवार

उनको पारिवारिक पृष्ठमूमि राजनीति हो । भुसाल २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमका छोरी हुन् । २०१७ सालमा पञ्चायत सुरु भएपछि काशीनाथ गौतम १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै थिइन् ।

राजनीतिक यात्रा 

भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध रहेकी छन् । नेपाली कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील भएकी उनले नेपाल महिला संघको महासचिव भएर पनि काम गरिन् । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी भुसालले विश्वविद्यालयमा प्रध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ बढाएकी थिइन् ।

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा उनी अर्घाखाँचीबाट निर्वाचित भइन् । त्यतिबेला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरिन् । भुसालले २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरेकी थिइन् ।

दोस्रो प्रयासमा उपसभामुखको पद बाजी मरेकी पुष्पा

२०७४ सालको चुनावबाट समानुपातिक सांसदमा निर्वाचित भएर आएपछि भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार थिइन् । यसअघि उनी तत्कालीन नेकपा एमालेकी डा. शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् ।

२०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । तत्कालीन उपसभामुख तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो ।

यो पटक उनलाई कांग्रेससहित पाँचदलीय गठबन्धनमा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । अहिले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखको दोस्रोपटक उम्मेदवार बनेकी भुसालले अहिले बाजी मरेकी हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !