८ श्रावण २०८१, मंगलबार

पहिचानको विषयमा रविलाई पत्र, बालेन र हर्कलाई बोधार्थ


पहिचानको विषयमा रविलाई पत्र, बालेन र हर्कलाई बोधार्थ

काठमाडौँ । इन्द्रचन्द्र कलेज बिर्तामोड झापामा बिबिएस चौथो बर्षमा अध्यनरत पाँचथर जिल्ला, याङ्वरक गाउँपालिका-६ नागी निवासी मञ्जु योङहाङले  पहिचानको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बोधार्थमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पत्र लेखेकी छन् ।

‘पहिचानको कथाभित्र रुमल्लिएको कोशी प्रदेश’ भन्दै उनले रास्वपाका सभापति लामिछाने, मेयर शाह र मेयर साम्पाङलाई पत्रमार्फत ध्यानाकर्षण गराएकी हुन् । उनले पत्रमार्फत संघीयताको रुप र असरहरुको बारेमा आफ्नो विचार व्यक्त गरेकी छन् ।

यस्तो छ हेर्नुहोस् उनले लेखेको पत्र

श्री रवि लामिछानेज्यू,
(सभापति)
राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल
बनस्थली, काठमाण्डौ ।

न्यूज २४ मा “सिधा कुरा जनतासँग” कार्यक्रम चलाउनु भएदेखि, मुलुकका बेथिति, भ्रष्टाचार, विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार लगायतमा यहाँले चाल्नु भएका हरेक कर्महरुको सुक्ष्म नियालिरहेकी छु । तपाईका अदम्य सहासप्रति नतमस्तक भई उ बेलादेखि नै तपाईको ठूलो फ्यान बनेकी हुँ । तपाईलाई सहकर्मीको हत्या आरोपमा फसाउन खोजियो ? र अहिले सहकारीको ठगी आरोप लगाएर फसाउन खोजिदैंछ ? उ बेला आम नेपालीको साझा व्यक्ति हुनुहुन्थ्यो तर अहिले तपाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भइरहँदा मुलुकको पक्षधर बाहेककाको आँखाको कसिंगर नै बनिनु भएकोले र राजनीतिलाई फोहोरसँग दाजिने भएकोले, उबेला भन्दा अहिले तपाईलाई धेरै नै गाह्रो पर्ने अवस्था बन्न सक्छ ? तर सत्य जहिले तपाईंसंग छ ।

सत्यको बाटोमा हिड्न गाह्रो भएपनि गन्तव्य सुनिश्चित अनि सुन्दर छ । सत्यले तय गरेका दूरीले, हर नेपालीको भोलिको भविष्य सुनौलो हुनेमा आम युवाहरु आशावादी छौं । उर्वरता र प्रकृतिले अत्यन्तै धनी हाम्रो मुलुक, साँचोअर्थमा अविभावकविहिन अवस्थामा छ, आसा छ यहाँ र यहाँका दलका सक्षम नेतृत्वले यो मुलुकलाई छोटो अवधिमै गर्व गर्न लायकको मुलुक बनाउनेमा कुनाकाप्चा समेतका आम समर्थकहरु पनि आशावादी भेटिएका छन् ।

नेपाल सरकारको मौजुदा दोहोरो चरित्र र अक्षम पद्धतिकै कारण तपाईलाई नागरिकताको विषयमा उछालियो । सरकारमा रहँदा यहाँ र थप तीन जना मन्त्रीहरुले गरेका कामहरु सहन नसकेर, सरकारवाट हटाउने र जनताको नजरमा यहाँ र रास्वपालाई गिराउने खेल खेलिएतापनि, जनताले उपनिर्वाचनमा झण्डै १० प्रतिसत मत थपेर दिई तपाई र रास्वपाको चुलिदो साखलाई थप बढाईदिएका छन् । पद्धति र पारदर्शिताको धज्जी उडाउदै लामो समयदेखि भ्रष्टाचार र बेथितीको जालो बनाई अकूत सम्पति आर्जन गर्न र फोहोरी राजनीति गर्न पल्केकाहरुलाई चितवनका राष्ट्रभक्त जनताले उदांगो पारिदिएका छन् ।

पूर्वको सुन्दर जिल्ला पाँचथरको याङवरक गाँउपालिकाको नागी भन्ने ठाँउमा जन्म भई त्यहाँको गणेश मा.बि.वाट कक्षा १२ पास भई हाल झापा बिर्तामोडको ईन्द्रचन्द्र क्याम्पसमा डिप्लोमा अन्तिम सेमेस्टरमा अध्यनरत छु । म कुनै राजनीतिक दलको सदस्य हैन र आम युवाहरु राजनीतिबाट निकै माथि उठ्न सक्नु पर्छ भन्ने मेरो व्यक्तिगत बुझाई छ र यहाँको दलले शैक्षिक क्षेत्रमा राजनीति निषेध गरेकोमा म र मजस्ता लाखौै स्वभिमानी विद्यार्थीहरु खुसी मात्र हैन गौरवान्वित भएका छौं ।

डा. स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, डा. तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियार, हरि ढकाल, शिशिर खनाल, मनिष झा लगायतका माननीयहरुले गर्नुभएका अध्ययन र उठान गरेका विषयहरुले साँचो अर्थमा संसदको गरिमालाई नै उचो बनाएको छ ।

मेरो सानो दिमागले धरानका मेयर हर्क साम्पाङज्यूलाई नियालिरहेकी हुन्छु, मुलुकमा सबैले श्रम गर्नुपर्छ भन्ने संस्कार बसाउन प्रयासरत हुनुहुन्छ । केहि दिन अघि, पार्किङ शुल्क १० रुपैया र रास्वपावीचको मतभेदलाई मेयर साबले दैनिक ५,७ पटक फेसबुकमा पोष्ट गर्नुभएको थियो । कथाको सारमा, मेयर साब चुनावमा भाग लिन अघि, धरान उपमहानगरले प्रतिरिक्सा रु ५ (पाँच) उठाउदैं आएकोमा उहाले विरोध गर्नुभएको रहेछ । हो, यहि परिधिभित्र रहि रास्वपाले उहाँकै विरोधलाई सम्झाउदा, विरोध संझिनु भएको तथ्य पाएँ । तर तपाईलाई यहि विषयमा सोधिदां अत्यन्तै सरल र धरानका मेयरलाई पूर्णसाथ समर्थन हुने जनाउनु हुँदा अत्यन्तै खुसी लागेको छ । अब यूवाहरु फुटेर हैन जुटेर यो मुलुकको विकासमा लाग्नु पर्दछ भन्ने सुझाव छ उहाँलाई ।

मेरो हिलिहाँग दरबार क्षेत्र नजिकै घर भएरपनि होला ? वा सानैमा थर्पुको निशानको कथा र यसको बिरासतको विषयमा बुझ्ने प्रयत्न गरेर पनि हुन सक्छ, अरुण पूर्वका नौ जिल्लामा लिम्बु र किराँतहरुको बाहुल्यता रहेको र उ बेला देखिनै गाँउ, ठाउँको नाम समेत यसै भाषाको वरिपरि राख्ने गरेको हामी सबैले बुझेकै छौं र संसारभर जताततै नाम राख्ने चलन पनि यस्तै पाएकी छु । तर हाम्रो प्रदेशको नाम स्थानीय मौलिक भाषा, सभ्यता वा बिरासत अनुसार राख्न किन कन्जुस्र्याँई गरियो ? र यसको नामाकरण किन ‘ “कोशी” राखियो ? यो बिषयमा पहिचानको आँखाले रास्वपाले हेर्नेछ भन्ने कामनाका साथ तपाईसँग ठूलो आसा राखेर यो पत्र प्रेषित गर्दैछु ।

विषय : पहिचानको कथा भित्र रुमल्लिएको कोशी

सगरमाथा र लुम्बिनीले संसारमा चिनाएको हाम्रो मुलुक नेपालकोे आर्थिक अवस्था जिर्ण बन्दै गएको सबैले बुझेकै छन् ।  मुलुक संचालनको स्पष्ट खाका नआई यहि पाराले अर्को चुनाव पछि पनि फेरि यहि मति, यहि पद्धतिकाहरु सरकारको कुर्सिमा आए ? मुलुकमा भोलिको भबिष्य कस्तो हुन्छ ? भन्नेमा कोहि कसैले सकारात्मक उत्तर दिन्छन जस्तो मलाई लाग्दैन तर हामी किन नेपालमै हाम्रो प्राण जाओस भन्ने चाहन्छौ ? किन विदेशबाट लाश नेपालमा ल्याईन्छ र आफ्नो गाँउ लगेर अन्तिम कर्म गरिन्छ ? काठमाण्डौंमा मरेको मानिसको  शव गाँउमा लगेर किन अन्तिम संस्कार गर्दछौ ? त्यसको एउटै मात्र उत्तर हो, हाम्रो चलन, हाम्रो सस्कार, माटोको मोह अनि स्वभिमान । हो यहि स्वभिमान नै हो हरेक मुलुकका नागरिकको आफ्नो पहिचान । पहिचान नै नभएको कोहि व्यक्ति हुन्छ र ?

खासमा पहिचान भनेको मागेर, झगडा गरेर पाउनु पर्ने र कोहि दिने र कसैले लिने विषय नै होइन । यो त सदियौंदेखि तपाईं हामीले स्वःअर्जिएका विषयहरु हुन ! तपाईं हामीलाई चिनाउने र त्यो नामले समग्रतामा परिचय बोक्ने विषय हो पहिचान । क्षेत्री, बाहुन, नेवार, लिम्बु, राई, लामा, कामी, दमाई, थारु आदि जातीय पहिचान हुन भने हिन्दु, बौद्ध, मुश्लिम, ईशाइ, किरात आदि धार्मिक पहिचानहरु हुन् ।

हाम्रो समाजमा हरेक जात जातका विभिन्न मौलिक सस्कृती र चलनहरु छन भने केहिको हालै उन्नयन हुँदै चलनमा समेत आईरहेका छन् । विश्व इतिहास नियाल्दा, हरेक समाज, शैक्षिक र आर्थिक हिसाबले बलियो हुँदै गएपछि, पहिचानका बिषय पनि आफै स्थापित हुँदै गएको देखिएका छन् ।

हामी पूर्वेलीहरुको प्राय: घरमा युमा महारानीलाई घरको इष्ट देवताको रुपमा मान्ने र नियमित तथा मुख्य कार्यहरुमा नछुटाई पुजा गर्ने चलन छ । यसले हामी पूर्वका मानिस हौं भन्ने स्पष्ट बुझाउँछ । यसलाई हाम्रो सांस्कारिक पहिचानको रुपमा लिने गरेकी छु ।

जनजाती युवाहरु हदैंसम्म सुरवीर हुने र उनीहरुलाई गोलबन्द गर्न दस बर्षे जनयुद्धको मुख्य एजेन्डाकै रुपमा जातीय मुद्दालाई अगाडि सारियो । हजारौं युवाहरुले यहि क्रान्तिमा शहादत प्राप्त गरे । माओवादी आन्दोलनले जंगलबाट सदनमा आफ्नो दर्विलो डेरा जमाएर माओवादी कमाण्डर प्रचण्ड पटक-पटक सरकारमा आउदा समेत कहिले पनि यी मुद्दाहरूको विषयमा कुनै निर्णय त के, निर्णायक अडानसम्म पनि लिइएको पाइएको छैन । यहाँहरु सबैलाई थाहा छ कि हाम्रो प्रदेशको नामाकरण “कोशी“ भईरहँदा समेत तात्कालिक प्रदेश १ को सरकारमा नेकपा एमाले, माओवादी लगायतका दल सरकारमा थिए । कोशी प्रदेशसभाका कूल ९३ सांसदहरुमध्ये जातिगत आधारमा लिँदा क्षेत्री-बाहुन ३३, राई-लिम्बु २९, मधेसी आदिवासी १५, गुरुङ ३, मुश्लिम २, नेवार ५, मगर ३, दलित पहाडी ३  छन् । यो जातिगत प्रतिनिधित्वको विवरण र कोशी प्रदेश नामाकरण गर्दा प्राप्त दुई तिहाई मतलाई सुक्ष्म केलाउने हो भने पहिचानको मुद्दामा कोही व्यक्ति र जातभन्दा पनि संस्थागत निर्णयले नै अन्तिम टुगों लागेको प्रष्ट देखिन्छ ।

गएको निर्वाचनको दौरानमा ताप्लेजुङको आमसभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेशको नामाकरण किरात राख्ने उद्घोष गरेका थिए । तर सधै झुटको खेती गरि अन्तर संघर्ष र किचलोमा मुलुकलाई फसाएर आफू राजगरिरहने नीति बोकेकाहरु बाट दस बर्षे जनयुद्धको मर्म र आफुले पटकपटक जनतासंग गरेको प्रतिबद्धता बिर्सदाको परिणाम हो आजको पहिचानको आन्दोलन ।

यहाँहरु सबैलाई थाहा छ, जुन ठाउँमा जसको बाहुल्यता छ ? यानेकी जुन भाषाको बाहुल्यता छ, प्राय: सबै स्थानमा सोही अनुसार नै नामाकरण भएको पाईएको छ । ताप्लेजुङको सदमुकाम फुङलिङ, पाँचथरको सदरमुकाम फेदेन, तेह्रथुमको सदरमुकाम मेङ्लुङ…आदि.. यी पूर्णतय लिम्बू भाषाका नाम हुन्,  ताप्लेजुङको तेल्लोक भन्ने स्थानमा आजभन्दा ३१९ बर्ष पहिला लिम्बू भाषाविद् तेअङ्सी सिरिजंघा सिं थेबेको जन्म भएको थियो । आज उनै महान व्यक्तिको नामबाट उक्त गाउँपालिकाको नाम सिरिजंघा गाँउपालिका राखिएको छ । त्यहाँ कोहि कसैलाई नामको विषयमा कुनै बिबाद छ जस्तो बुझेकी छैन । नामको कारणले हुने बिभेदको तुषले सम्प्रदायवीचको भाईचारमा कतिपनी बिचलन आएको सुनेकी छैन मैले ।

तर अचम्म त्येती बेला हुन्छ ? जति बेला एउटा् पण्डित कृष्णमुरारी आचार्यको छोराको नाम तेन्जिङ आचार्य र छोरीको नाम डोल्मा आचार्य हुन्छ । त्यसैगरी एक जना लामा गुरु पेम्बा रिन्जिन रिम्पोछेको छोराको नाम बेदनिधी शेर्पा र छोरीको नाम हरिदेवी शेर्पा हुन्छ । हो यसैगरी अचम्मको निर्णय हुन पुगेको छ हाम्रो प्रदेशमा ।

म कुनै साम्प्रदायिक मुद्दा बोकेर हिड्ने व्यक्ति हैन र यो कुनै साम्प्रदायिक विषय नै हैन पनि । तर हिजो राजतन्त्रको अवशेषको रुपलाई पूर्ण समाप्त पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ नेपालमा परिणत गराउन, आफ्नो बलिदानी दिने आम जनजाति योद्धाहरुको सम्मान साथै रामायणकाल र महाभारतकाल देखिको इतिहासमा उल्लेख भएका र हजारौ बर्ष यहि ठाउँमा राज्य गरी बसेकाहरुको सम्मानार्थ खोजिएको एउटा प्रदेशको नामाकरणमा किन बिबाद गर्न खोजिएको छ ? आफैमा उदेक लागेको छ ।

संघीयताको रुप र असरहरु

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत भइ सकेपश्चात खडा भएका ७ प्रदेशहरु कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, ७५३ (गाँउपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिका) स्थानीय निकायहरु र ६७४३ वडापालिकाहरु आफैमा कति वैज्ञानिक छन् या यिनीहरुको संख्या उल्लेख्य परिमार्जन गरी कूल बजेटको अनुपातमा मुलुकको चालु खर्च अत्यन्तै न्युन पार्ने र कुल बजेट नै धनात्मक नबनाइन्जेल मुलुकको विकास र जनताको समृद्धि भयो भनिनु सफेद झुठ मात्र हुन भन्ने सबैले बुझ्न जरुरी भई सकेको छ । यद्यपि ७ प्रदेशको स्थानमा ३ वा २ प्रदेश मात्र हुने भए हाम्रो संघीयताको मर्ममा दख्खल पुग्थ्यो र ? के ७५३ स्थानीय निकायको ठाँउमा २५३ वा सो भन्दा कम स्थानीय निकाय भए, के हाम्रोमा संघीयताको मर्म अनुरुपको स्थानीय निकाय हुने थिएन र ? २०४६ को आन्दोलन पश्चात ४०१५ गाँउ पन्चायतलाई परिवर्तन गरि ३९९५ गाँउ विकास समिति बनाइएको र ३३ नगर पन्चायतलाई ३३ नगरपालिका बनाइएको थियो । मुलुकको अर्थतन्त्र कस्तो छ ? यो अर्थतन्त्रले कत्रो संघीय संरचना धान्न सक्छ ? मौजुदा ३९९५ गाँउ विकास समितिलाई  घटाउनु पर्ने पो थियो कि ? यसमा  पटक्कै ध्यान नदिई  मुलुकलाई राजनीतिक भर्तीकेन्द्र बनाइदा र प्रदेश सांसदहरुको संख्या प्रत्यक्षमा ३३० र  समानुपातिकमा २२० जना  गरी ५५० थपिनु र प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० जना सांसदहरु थपिनुले परेको व्ययभार मुलुकको अर्थतन्त्रले  कसरी धान्न सक्छ भन्ने हेक्का नहुनु आजको मुलुकको यथार्थ दूर्दशा हो ।

जनघनत्व बृद्धि हुँदै जाँदा नगरपालिकाको संख्या बृद्धि हुदैं जानु स्वभाविक नै रहेतापनि ३९५ बर्ग किलोमिटर क्षेत्रफल भएको काठमाण्डौभित्र, एक महानगर र दस नगरको आवश्यक्ता छ र ? जबकी ताप्लेजुङको फक्ताङलुङ गाँउपालिकाको लेलेप भन्ने एउटा वार्डको क्षेत्रफल ८१० बर्ग कि.मि. छ भने सगैको अर्को वडा ओलाङचुङगोलाको क्षेत्रफल ७०१ बर्ग कि.मि. छ  । जनधनत्वको कारण बिभिन्न वडाहरु नगरपालिकामा गाभिनु वा गाँउपालिकाहरु नगरपालिकामा परिणत हुँदै गएतापनि, झण्डै दुई हजार वडाहरुको संख्या बृद्धि हुनु मुलुकको लागी आफैमा ठूलो बिडम्वना हो ।

समाजका राम्रा र आवश्यकीय व्यक्तिहरुलाई पारदर्शी तवरले छान्न समानुपातिक प्रणाली आफैंमा उच्चतम पद्धति भएतापनि, हाम्रो मुलुकमा यसको छनौट बिधि पारदर्शी र थप व्ययभार नआउने गरी मिलाईन सक्नु पथ्र्यो । एकातिर प्रदेश र संघको समानुपातिक र प्रत्यक्ष सांसदहरुको संख्या धान्नै नसकिने  गरी बढ्नु, स्थानीय निकायको संख्या समेत क्षमता भन्दा अधिकको हुनाले मुलुकको अर्थतन्त्रमा कुप्रभाव पार्न सक्छ भन्ने हेक्का नभएकाहरु वा यी सब मुलुकलाई अप्ठ्यारो खाल्डोमा हाल्ने सुनियोजित चाल हो ? जनताले वा इतिहासले यसको कुनै दिन फैसला गर्ने नै छ ।

नेपालमा लामो समयदेखि पहिचानको मुद्दा लिएर हिड्ने समुह साथै राजनीतिक दलहरु छन् । यो पहिचानको आन्दोलनमा होमिएकाहरुले, कोहि किराँत प्रदेशको माग राखेका छन, कोही लिम्बुवान भन्ने छन भने कोहि के ? यी अत्यन्तै प्राविधिक विषय भए । यसलाई मिलाइनुपर्छ । त्यही मिलाउन सक्छु भनेर राजनीतिक दलको ढोक्सा थापेर बसेका तमाम दलहरुको कर्तव्य यसलाई मिलाउने होइन र ? के नेपालीले आफ्नो घरको समस्या मिलाउन सक्दैनन् र ? समाजका यस्ता समस्याबाट भाग्न पाइन्छ र ? के हाम्रो प्रदेशमा रास्वपाको प्रदेश सदस्य भए, यस्तै ब्यबहार गर्थे त ? यो विषयलाई गहन रुपमा लिन हार्दिक अनुरोध छ ।

अहिलेसम्मको इतिहाँस र कथाहरुलाई नियाल्दा, जबसम्म आन्दोलनले राजधानीमा आफ्नो पहुँच बनाउन सक्दैन, तबसम्म यो आन्दोलनले सार्थकता पाउने बाटो देखिन्न र यो हुने अवस्था समेत निकै कम्जोर देखिन्छ । तर अरुण पूर्वका ९ जिल्लामा बाहुल्यता बनाई बसेका किराँत र लिम्बुवान खोजी गर्नेहरु बिस्तारै हाम्रो सामाजिक अखण्डताबाट बाहिरिन थालेको देखिदैछ । पुराना दलका धेरै कट्टर कार्यकर्ता मात्र होइन नयाँ दलका कार्यकर्ता समेत पहिचानको विषयमा सम्झौता गर्ने पक्षमा देखिदैनन् । मैले धेरै रास्वपाकै युवाहरु समेत पहिचानको विषयमा आफ्नो अडान दर्बिलो देखाइरहेका छन् ।

पहिचान पक्षधरहरुले कोशी प्रदेशको नामाकरणको पक्षमा मतदान गर्ने हरेक सांसदलाई जिल्लामा प्रवेश रोक तथा चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा भएको यहाँलाई विधितै छ ! मुलुकको विकास र समृद्धिलाई जनताले अपनत्व ग्रहण गर्न यस्ता समस्यालाई मौजुदा प्रदेश संसदले तत्काल निकास निकाल्न जरुरी छ । नत्र नयाँ दलले २०८४ पछिको पहिलो संसद अधिवेशनबाटै पारित गरी यो प्रदेशलाई विकास र समृद्धि उन्मुख लैजान तैयारीमा रहन जरुरी भई सकेको छ ।

कोशी प्रदेश संशोधनको पक्षमा जाँदा के हुन्छ त ?

यद्यपि कुनै राजनीतिक दल वा सरकारको पक्षबाट कोशी नामाकरण संशोधनको पक्षमा वकालत गर्न थालियो भने, हिजो नेवाः तामसालिङ, मगरात भन्ने पक्षधरहरु निहु नखोज्लान भन्ने नरहला ? यो राजनीति हो । यहाँ मुलुकको हितभन्दा धमिलो पारेर कसरी आफू अगाडि आउने शकुनी खेल खेल्नेहरु मौलाउन केहीबेर लाग्दैन र चलन यस्तैको फस्टाइरहेको अवस्था समेत छ । तर ती बाँकी ६ वटै प्रदेशमा नामाकरणको विषयमा बिबाद देखिएको छैन । नामाकरण भएको लामो समय बितिसकेको र त्यो बिषय फेरि उब्जियो भने प्रायोजित नै हो भन्ने बुझ्न कोहि कसैलाई गाह्रो नपर्ला र मुलुकको दूर्दशामा रम्ने व्यक्ति, समुह वा दल जो कोहिलाई जनताले हदैसम्मको कारवाही गर्नेमा दुईमत नै छैन ।

बेथिती, बिसङ्गति, भ्रष्टाचारको पहरेदार गर्दै हिडिरहेको तपाई र तपाईका रास्वपालाई पाइला पाइलामा धर्नासो मै हानिरहेका छन् । यस्तै हो सिनियरले जुनियरको कहि कतै अस्तित्व नस्विकार्ने समाजभित्र छौ हामी । यस्तै विषम अवस्थालाई आत्मासाथ गर्दै समाज रुपान्तरणमा जुट्नु छ तपाईलाई । मुलुकको अर्थतन्त्रले धान्नै नसक्ने गरी बनाइएका संरचनाहरु पुनः रुपान्तरित गर्दै, मैज्दात विभेदलाई अन्त गर्नु छ तपाईले ।

अन्त्यमा पुर्खाको बचेको बिरासत, एउटा नामको लागि पुराना दलहरुबाट नहुने भएकोले, सामाजिक अखण्डता बेगर जो कोहि आएपनि विकास गर्न नसक्ने अवस्थालाई मध्यनजर गरी यहाँको दल रास्वपाले २०८४ सम्म पहिचानको पक्षमा समन्वयकारी भूमिका निवार्ह गरी अगाडी बढ्न र ०८४ मा हाम्रो प्रदेशमा यो विषयलाई मुद्दाको रुपमा उठान गरी आम पहिचानवादीहरुको माग सम्बोधन हुनेमा पूर्ण आशावादी छु । माता मुकुम्लुङले यहाँका हर मनोकांक्षा पुरा गरुन् । धन्यवाद । नोगेन

तपाईकी शुभचिन्तक
मञ्जु योङहाङ
पाँचथर, नागी

बोधार्थ:

१. हर्कराज राई, मेयर ( धरान उपमहानगरपालिका, सुनसरी)
(पहिचानको विषयलाई अझै सशक्त बनाइ रह नहुन र यूवा नेतृत्वहरु मिलेर अगाडी बढ्न हुन)

२. बालेन्द्र शाह, मेयर (काठमाण्डौ, महानगरपालिका)
(पहिचानको विषय र कोशीबिरुद्धको मुद्दालाई यहाँले पनि नियालिदिन र यूवा नेतृत्वहरु मिलेर अगाडि बढ्न हुन)

*यो पत्रमार्फत लेखिएको लेखका विचार लेखकका निजी हुन् ।

यो पनि पढ्नुहोस्

बदलिँदो युगले मागिसक्यो युवाको काँध र विवेक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !