२५ बैशाख २०८१, मंगलबार

बदलिँदो युगले मागिसक्यो युवाको काँध र विवेक


युवाहरु

काठमाडौँ । ‘युवाको काँध र विवेक’ बदलिँदो युगले मागिसकेको छ । मुलुक परिवर्तनको मुख्य आधार भनेकै युवा हुन् । आज भन्दा तीन दशक अगाडिसम्म पनि एकाध बाहेकका नेपाली युवाहरुमा पैसा कमाउनु पर्छ भन्ने धेरै भोक जागेको थिएन । युवाहरु समाज परिवर्तनका संवाहक हुन् ? भन्ने संस्कार नै थिएन । समाजमा उमेरको जेष्ठताले गरिएको निर्णय र निर्देशन नै अन्तिम बिकल्पको रुपमा स्विकार्य हुने गर्थ्यो र अझै गरिरहेको पनि छ ।

समय परिवर्तन हुँदै गयो, आफ्नो खुट्टामा आफै उभिन र साँघुरो समाज हुँदै समग्र मुलुकको आवश्यकतामा आफ्नो दर्विलो उपस्थिति दिन युवाहरु अग्रसर हुँदै गए । पुग्नु टाढा छ, गर्नु धेरै छ भन्ने आव्हानलाई आत्मसात गरे, तर राजनीति यति धमिलो पारियो कि एउटा बालकलाई पढ्न विद्यालय छैन, एउटा गुणस्तरीय कलेज छैन, छन त केवल कुनै राजनीतिक दलको तालिम केन्द्र जहाँ बामपन्थीहरुले भने झै बुर्जुवा शिक्षा पढाउने गरिन्छ, जसको कुनै सामाजिक र शैक्षिक उपादेयता नै छैन ।

मेरो घर पाँचथर जिल्ला, याङवरक गाउँपालिका-६ नागी हो । विगत लामो समयदेखि मैले देखिरहेको अवस्थालाई नियाल्दा.. हुनेखानेका छोराछोरीहरु अंग्रेजी माध्यमको राम्रो विद्यालयमा पढाउछन्, विद्यालयकै शिक्षकका छोराछोरीहरु समेत निजी विद्यालयमा पढाउने गर्छन् । बनिबुत्तो गर्ने र सामान्य जिविका चलाउनेहरुको पनि शहर बजार गएर आफ्ना बालबच्चालाई निजी विद्यालयमा पढाउने आम फेसन भनौ वा नियति बनिसकेको छ । आफ्ना नाबालक छोराछोरीहरुको शिक्षाको खातिर आफन्तका घरमा राखेर पढाउने चलन पनि हाम्रो समाजको पुरानै चलन हो । शिक्षा आजको अन्तिम विकल्प हो भन्ने बुझाई आम मानिसमा परेको छ । त्यसैले नै आफ्नो सर्वस्व गुमाएर आमाबुबाले आफ्ना छोराछोरीको भविष्यको लागि आफ्नो घरवारी बेचेर विवस भई विदेश पठाउन बाध्य भएका छन् । किन विद्यार्थीहरु विदेश जान चाहन्छन् ? यसका अनेकन तीता उत्तरहरु हामी सामु ठिङ्ग उभिएका छन् :

(क) विद्यालयदेखि न्यायलयसम्म हरेक स्थानमा राजनीतिकरण गरिनु र एक स्वभिमानी मानिसले यो मुलुकमा आफ्नो भविष्य अन्धकार देख्नु,
(ख) अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर कायम गर्ने चेष्टा सम्म नहुनु,
(ग) शिक्षा आर्जन पश्चात् रोजगारी नै नपाउनु,
(घ) पाइहाले पनि आफ्नो परिवार धान्न सक्ने रोजगारी स्वदेशमा उपलब्ध हुन नसक्नु,

आदि आफैमा विद्यार्थी पलायनको मुख्य कारक बनिरहेका छन् । केही बर्षयता ठूलो संख्यामा विद्यार्थीहरु विदेशका कलेजहरुमा पढ्न जाने गरेका छन् भने गएको वर्षको तथ्यांक नियाल्दा झण्डै एक लाख दस हजार विद्यार्थीले No Objection Certificate शिक्षा विभागबाट लिइएको देखिन्छ, यसै तथ्यांकलाई मान्दा मात्र औसत १ अर्व डलर यानेकी १ खर्व ३० अर्व रुपैंया शिक्षा आर्जनको लागि विदेश पठाउनु परेको छ । एक पाटोबाट हेर्दा यसबाट अत्यन्तै ठूलो रकम विदेशिएको छ भने अर्कोतर्फ गुणस्तरीय विद्यार्थीहरु फर्किएर नेपाल आएपछी उचित रोजगारी नै नपाउने भएकोले विदेशमै रोजगारी खोज्न र विदेशमै पलायन भइदिनाले हाम्रो मुलुकको लागि दक्ष जनशक्तिको आभाव हुने प्रष्ट देखिएको छ ।

शिक्षालाई गुणस्तरीय र उद्यममुखी बनाइनु, विद्यालय, कलेज र विश्वबिद्धालयमा समेत राजनीतिलाई पूर्ण बर्जित गरि अधिकतम लगानी शिक्षामा वृद्धि गरि नेपाललाई शिक्षाको हबको रुपमा विकास गरी दक्ष जनशक्तिलाई विश्व बजारमा पठाउदा आर्जन गर्ने ‘रकम र स्वभिमान’ दुवैले मुलुकको हीत हुनेमा दुईमत नै छैन । तर किन यो भइरहेको छैन ? के अझै पनि सरकार र सरकारमा आसिन केही व्यक्ति वा दलहरु यो मुलुकको विकास र समृद्धि चाहदैनन ? के उनीहरु शिक्षाको गुणस्तर अझै तल्लो अवस्थामा पुर्याएर मुलुक बर्बादी उन्मुख पार्दै त छैनन् ? अत्यन्तै सोचनीय र बिचारणीय अनि गम्भीर बिषय बनिसकेको छ नेपालमा शिक्षा । कहिलेकहि अनायासै मेरो मनमा राणाकालीन अवस्थामा शिक्षालाई बर्जित गरिएको नयाँ स्वरुप झैं आजको यो दिन लागिरहेको छ । प्राय: हरेक कलेजमै हेरौ, नेबिसंघ, अनेरास्ववियु र अनेकन विद्यार्थी युनियन छन्.. हामी जस्ता एकाध बाहेक कोहि न कोहि कुनै न कुनै ती संघ र संगठनमा लाग्न बाध्य पारिएका छन्, गाउँमा ७,८ कक्षा देखिका कलिला विद्यार्थीलाई फकाएर विद्यार्थी युनियनमा लाग्न बाध्य पारिंदैछ … तर किन ?

हामीले बुझ्नुपर्ने भनेको नेपालको भक्ति अनि मातृभूमिको प्रेम मात्र हो । एउटा् विद्यार्थी आफ्नो मुलुकको राजनीतिक, सामाजिक गतिविधि र अन्तर्राष्ट्रिय गतिविधिमा सचेत हुनु जरुरी छ तर यसको लागि कुनै विद्यार्थीले कोहि अमूक दलको झोला बोक्नै पर्ने हुन्छ र ? यसको लागि हरेक विद्यालय, कलेज र विश्वविद्यालयहरुमा राजनीतिक र सामाजिक सचेतनाका कार्यक्रम, वादविवाद, गोष्ठी आदिको कार्यक्रम राखेर ती म जस्ता विद्यार्थीलाई सचेत बनाउन सकिँदन र ? के कुनै पनि दलका भातृसंघ वा संगटन अन्तर्गतका विद्यार्थीहरुमा एक गुणवान् नेतृत्व हुने क्षमता विकास भएको हुन्छ ? यसको अत्यन्तै सोझो उत्तर तपाईंसँग पनि छ ।

राजनीतिको झोला बोकेका विद्यार्थीहरुसँग केवल दलको बफादारिता हुन्छ । बौद्धिकता भइदिएको भए, दलको हरेक उच्छृङ्खल गतिविधिको अग्रमोर्चामा उनीहरु कहिले कदापी प्रयोग हुँदैन थिए । राजनीति भनेको ‘आफ्नो जीवन’ समाज र मुलुकको लागि समर्पण गरिनु हो । यदि मुलुकको लागि राजनीति गरिएको भए, शिक्षाको विकास र यसको गुणस्तर बृद्धिको बिषय प्रमुख अनि साझा एजेण्डा बन्ने गर्थ्यो ती विद्यार्थीको । तर त्यो हुन सकेन, यतिसम्म अबिबेकी बन्न पुगिसकेको अवस्था छ कि ? यदि म कुनै राजनीतिक दलको विद्यार्थी संगठनको सदस्य भएकी भए ? म भोलि स्वयम् भोलि कुनै न्याय दिने ठाउँमा पुगे… मैले सपोर्ट गरेको दलको मानिस र इतर दलको मानिसबीच बिबाद रहेछ भने आफै सोच्नुस्, मेरो दिमागले त्यो इतर दलको मानिसलाई न्याय दिउ भन्ने नलाग्न सक्छ । आफु सम्मिलित दलको विरुद्धमा केही धावा बोल्न नसक्ने अवस्था बनिरहेको अहिलेकै नेपालको कर्मचारीतन्त्र, न्यायलय, पत्रकारिता, प्रहरी, प्रशासन आदिको हविगतले आजको तस्वीर प्रष्ट्याउछ ।

समय परिवर्तन हुँदै गइरहेको छ, आम जनता र विशेषत युवाहरुमा परिवर्तनको संकेत देखिन थालिसकेको छ । यसले सधै यस्तो अवस्था नरहिरहन सक्छ भन्ने जनाउको घण्टी बज्न सुरु गरेको छ । राजनीतिमा आस्था राख्नेहरुले राम्रो स्थानमा रोजगारी नपाउने अवस्था सिर्जना हुनसक्छ । त्यो अवस्थाको जिम्मेवारी कसले लिन्छ ? विद्यार्थीले पढ्ने हो, गुरुहरुले पढाउने, यस्तो पवित्र स्थलमा राजनीति किन ?

यहाँ हरेक नराम्रा अवस्थाको पछाडि राजनीति कारक बनेर पहाड झैं उभिएको छ । त्यसैले अब हामी यो मुलुकलाई साँचो अर्थमा माया गर्नेहरु आफै सचेत भएर अगाडि नबढ्ने हो भने विद्यार्थीहरु विदेशमा शिक्षा आर्जन गर्न जानु र उतै पलायन हुनु नेपाली शिक्षाको कालो युग हो ..।

तपाईको घरमा बडादसैंको माहौल चलिरहेको होला ? यो लेख जसले जहिले पढ्नु भएपनि, यद्यपि तपाईं स्वयं विद्यार्थी हुनुहुन्छ भने आफ्नो घरपरिवार र मुलुकको हविगतलाई नियाल्नुस्, यदि तपाईं घरको मुली वा जिम्मेवार सदस्य हुनुहुन्छ भने आफ्ना अबोध आफन्त जो विद्यार्थी छन, उनीहरुलाई नियाल्नुस् । के उनीहरुको भाग्य कता जाँदै छ ? भइरहेको पद्धतिले तपाईं, तपाईंका आफन्त, यो समाज र मुलुकलाई कहाँ पुर्याउदै छ ? अनि निर्णय गर्नुस् । तपाई र मेरो परिवारबाटै सच्चिन सुरु गरौ ।

जय देश । जय मातृभूमि

*पाँचथर जिल्ला, याङ्वरक गाउँपालिका-६ नागी निवासी मञ्जु योङहाङ हाल इन्द्रचन्द्र कलेज बिर्तामोड झापामा बिबिएस चौथो बर्षमा अध्यनरत छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !