१३ माघ २०७९, शुक्रबार

लोप हुँदै मल्लकालीन योमरी माग्ने परम्परा, शिवालयमा दिनभर भीड


योमरी

भक्तपुर । तिहारमा देउसी-भैलो खेले झैँ धान्यपूर्णिमाको दिन साँझ टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ ।

“त्यःछिं त्यः, बकछिं त्यः
लातापाता कुलिचां जुसें त्यः
योमरी च्वामु, उकिइ दुने हामु
बिउम्हः ल्यासे, मबिउम्ह बुरिकुति”

अर्थात् पैसा हुनेले पैसा दिनु, धान हुनेले धान दिनु, चामल हुनेले चामल दिनु, योमरी हुनेले योमरी दिनु, केही नहुनेले संस्कृति संरक्षणका लागि मन दिनु भन्ने भावनाका साथ लोकलयमा खेल्ने परम्परागत योमरी माग्ने प्रचलन पछिल्ला पुस्ताले अनुसरण नगर्दा लोप हुने अवस्थामा पुगेको संस्कृतिकर्मी श्रीकुमार श्रेष्ठले बताए ।

“त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु यःमरी छग ती यः
ब्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
न्यग ब्यूसा काय् बुई छग ब्यूसा म्ह्याय् बुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु उकी दुने चाकु
व्यूम्ह ल्यासे मव्यूम्ह बुरीबुरी”

संस्कृतिकर्मी श्रेष्ठले मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकाले यःमरि माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने बताए । उनका अनुसार योमरी माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्कोसमेत पाइन्छ ।

यो प्रचलनलाई अहिलेका पुस्ताले छाड्दै गएपछि ऐतिहासिक परम्परा लोप हुन लागेको उहाँको भनाइ थियो । योमरी पूर्णिमाको दिन आज यहाँका नेवार समुदायले समयसूचक चाड एवं दान पर्वका रूपमा यःमरि पुन्हिमा मनाएका छन् ।

धार्मिक विश्वासअनुसार आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समयसूचकका रूपमा लिने गरिन्छ । धान्य पूर्णिमा अर्थात योमरी पुन्हिका अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन रहेको छ ।

“मल्लकालदेखि यो पर्वमा आजको दिन कुनै पनि चीज दान गर्दा पुण्य प्राप्त हुने विश्वासले योमरी लिने र दिने गरिन्छ”, परम्परा संस्कृतिकर्मी श्रेष्ठले जानकारी दिए । आज बिहानैदेखि विभिन्न शिवालयमा दर्शन गर्ने परम्परा रहेको छ । योमरी चढाएर पूजा गर्नेको शिवालयमा भीड लागेको हो ।

योमरी पुन्हिका दिन गृहिणी शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी त्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ । पूर्णिमाका दिन योमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ ।

यसो गर्दा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ । परम्पराअनुसार यःमरि पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा योमरी पूजा गर्ने र छोरी चेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन रहेको छ । योमरीलाई कुवेर र गणेशको प्रतीकका रूपमा समेत लिइन्छ ।

लोप हुँदै मल्लकालीन टोलटोलमा योमरी माग्ने प्रचलन

किंवदन्तीअनुसार पाँचाल देश (हालको पनौती) मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परमभक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एकदिन धनपति कुवेर गरिब ब्राहम्णको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राहम्णरूपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको योमरी खुवाए ।

उनको सत्कारदेखि प्रसन्न भई कुवेरले आफ्नो असली रूप देखाई योमरीको गुण र धानको भकारीमा श्री गणेश, कुवेर, लक्ष्मीको पूजा गरी योमरी चढाउने विधि बताएर गए । सोहीअनुरुप सुचन्द्र दम्पतीले योमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रूपमा बाँडेर खाएकाले उनीहरूको धनसम्पत्ति वृद्धि भयो र योमरी खाएका कारण शरीरसमेत हृ्ष्टपुष्ट हुन थाल्यो । त्यही बेलादेखि नेवार समुदायमा योमरी पूर्णिमाको संस्कृति विकास भएको भनाइ छ ।

धनसम्पत्ति वृद्धि र धनधान्य वृद्धि हुने विश्वासले नेवार समुदायमा योमरी पूर्णिमाका दिन सबैले योमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ । नेवार समुदायमा क्षमताअनुसार पैसा, धान, चामल र योमरी दान गर्ने प्रचलन रहेको छ ।

यसैगरी आजै पौष शुक्ल पूर्णिमाका दिनमा क्षेत्री समुदायका विभिन्न जातजातिले भने कूल पूजा अर्थात् दिवाली पूजा गरेर यो चाड मनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !