२४ बैशाख २०८१, सोमबार

अविरल जनसाहित्य यात्रामा कवि खेमराज निरौला


अविरल जनसाहित्य यात्रा

काठमाडौँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको मासिक अविरल जनसाहित्य यात्राको ७१ औँ शृङ्खलामा आज कवि खेमराज निरौलाका एक दर्जन कविता प्रस्तुत भएको छ ।

विसं २०२३ मा ताप्लेजुङको फूलबारीमा जन्मिएका निरौलाका समसामयिक विषयका साथै राष्ट्र, राष्ट्रियता, श्रमिक वर्गका भावना एवं राजनीतिक नेतृत्वप्रतिका गुनासा मिश्रित छन्दोबद्ध कविता वाचन गरिएको होे ।

काभ्रे बहुमुखी क्याम्पसका सहप्राध्यापक उनका ‘कर्मसाधना’, ‘दलन’, ‘हे राष्ट्रद्रोहीहरू’, ‘उस्तै भयो’, ‘पति पाइएन’, ‘धर्तीको गोठालो’, ‘राष्ट्रघात’, ‘नेता नआओ कुनै’ लगायत शीर्षकका कविता प्रस्तुत गरिएको थियो ।

उनलाई वाचनमा नारायण निराशी, यशोदा अधिकारी, देवु लुइँटेल र निष्ठा निरौलाले सघाएका थिए । विभिन्न कृतिका स्रष्टा निरौलाको महाकाव्य प्रकासोन्मुख रहेको छ ।

वाचित कवितामाथि समीक्षा गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभागका प्रमुख प्रा डा हेमनाथ पौडेलले निरौलाका कवितामा इतिहासको चेतना, वर्तमानको बोध र गतिशील यथार्थ पाइने बताउँदै गतिशील यथार्थ निरन्तर परिवर्तनशील हुने भएकाले कविले त्यस पक्षलाई राम्रोसँग पक्रिएको टिप्पणी गरे ।

डा. पौडेलले प्रगतिशील स्रष्टाले आलोचनात्मक चेत बोक्न सक्नुपर्ने तर अति निराशा र आक्रोश व्यक्त गर्ने सन्दर्भमा विचार गर्नुपर्ने सुझाउँदै कवितामा अन्तरवस्तु र रुपको जैविक एकता हुनुपर्ने बताए ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले स्रष्टाले क्रान्तिचेतलाई सधै जीवन्त राख्नुपर्नेमा जोड दिँदै देशमा केही विकास नै नभएको वा सबै नेता खराब हुन् भन्ने भावना नभई केही हुँदैछ र हुनुपर्छ भन्ने भावना र सन्देश फैलाउनुपर्ने बताए ।

जनसाहित्यिक सङ्घका अध्यक्ष राम विनयले जनपक्षीय स्रष्टालाई मञ्च प्रदान गर्न अविरल जनसाहित्य यात्राको थालनी भएको अवगत गराउँदै समाजको रुपान्तरणमा स्रष्टाले योगदान दिन सक्नुपर्ने आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !