ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकवद्ध बनाएर राख्ने बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको वैठकको सुरुआतमा सभापति थापाले पार्टीभित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन भएको उल्लेख गर्दै अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताए ।
“अड्किएका सबै कुरा सम्बोधन भएका छन्, नेपाली कांग्रेस एउटा परिवार हो, सबैलाई समेटेर जान्छौँ, तोकिएको तिथिमा अधिवेशन गर्नुपर्ने कुरामा हामी बाँधिएका छौँ, हामी सबै एक ठाउँमा उभिएर रहेका छौँ, सँगै बसेर अधिवेशन गर्नु नपर्ने कुनै कुरा छैन, पार्टीलाई एक बनाउने भनेको नेता मात्रै मिलाउने हैन, रिसाएर कांग्रेस छोडेकाहरुलाई जोड्नु आवश्यक छ, यही असोज १६ गते खुला मञ्चमा महाधिवेशन उद्घाटन गर्छौँ,” सभापति थापाले भने ।
सभापति थापाले पार्टीको महाधिवेशन टुङ्ग्याएर जनतासामु जाने उल्लेख गर्दै देशभरका पार्टी कार्यकर्ता तथा नेताहरूलाई एकतावद्ध हुन आग्रह गरे । उनले पार्टीभित्र कसले जित्यो वा कसले आफ्नो अडान छाड्यो भन्ने रूपमा नभई सबैले केही न केही लचकता अपनाएर पार्टीको हितमा सहमति गरेको विषयका रूपमा लिन आग्रह गरे ।
“मतभिन्नता हुनु स्वाभाविक हो, त्यसलाई व्यक्तिगत विवाद नबनाई संवाद र सहमतिबाट समाधान खोज्नुपर्छ, पार्टीभित्रको एकता केवल नेताहरूबीचको एकतामा सीमित नराखी पार्टीबाट टाढिएका पुराना समर्थक तथा मतदातालाई समेत पुनः जोड्नुपर्छ,” उनले भने ।
पार्टीका पूर्वसभापति तथा वरिष्ठ नेताहरूलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी भएर एकताको सन्देश दिन सभापति थापाले आग्रह गरे । वडा, जिल्ला तथा अन्य तहको अधिवेशनको जिम्मेवारी पाएका नेताहरूलाई पनि अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन अनुरोध गर्दै उनले सहभागी हुन नसक्ने अवस्थामा विधानअनुसार वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउनसक्ने बताए ।
महाधिवेशन व्यवस्थापनका लागि विभिन्न समिति गठन गरी छोटो समयमै व्यवस्थित रूपमा काम गर्नुपर्नेमा सभापति थापाले जोड दिए । नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएका मतभेद र महाधिवेशनसम्बन्धी विवाद समाधान गर्न विभिन्न चरणमा निरन्तर संवाद हुँदै आएका थिए । विशेष महाधिवेशनपछि पनि पार्टीभित्र र नेताहरूबीच छलफल जारी रहेको तथा त्यसै क्रममा विभिन्न प्रस्ताव र सुझावका आधारमा सहमतिको वातावरण बनेको सभापति थापाको भनाइ थियो ।









