काभ्रेपलाञ्चोक । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण प्रस्ताव गरिएको अत्याधुनिक इनडोर चलचित्र छायाङ्कन स्टुडियो ‘सिनेपा’ निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
बनेपा नगरपालिका–१० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा प्रस्तावित स्टुडियो निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री तिमिल्सिनाले राष्ट्रिय महत्त्वको परियोजनालाई थप ढिलाइ नगरी अघि बढाउनुपर्ने बताएका हुन् ।
उनले स्थानीय बासिन्दाको भावना, कानुनी प्रक्रिया र वातावरणीय पक्षलाई सम्मान गर्दै परियोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । केही व्यक्ति वा परिवारको असहमतिका कारण राष्ट्रिय महत्त्वका आयोजना अनिश्चितकालसम्म रोक्न नहुने उनको भनाइ थियो ।
मन्त्री तिमिल्सिनाले चलचित्र स्टुडियोलाई भौतिक संरचना निर्माणका रूपमा मात्र नभई रोजगारी, पर्यटन, स्थानीय व्यवसाय र चलचित्र क्षेत्रको विकाससँग जोडेर हेर्नुपर्ने बताए । स्टुडियो सञ्चालनमा आएपछि कलाकार, चलचित्रकर्मी, प्राविधिक तथा पर्यटकको आवागमन बढ्ने र त्यसबाट स्थानीय होटल, यातायात तथा अन्य व्यवसायले लाभ लिन सक्ने उनले उल्लेख गरे ।
करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य राखिएको सिनेपा स्टुडियोको प्रारम्भिक डिजाइनअनुसार संरचना निर्माण गर्दा स्थानीयस्तरबाट अवरोध भएपछि डिजाइन परिवर्तन गर्नुपर्ने वा नपर्ने विषयमा चलचित्र विकास बोर्डले अध्ययन गरिरहेको छ ।
बोर्डका अनुसार प्रारम्भिक प्राविधिक अध्ययनले निर्माणका क्रममा करिब एक लाख घनमिटर माटो व्यवस्थापन गर्नुपर्ने देखाएको छ । यस विषयमा मन्त्री तिमिल्सिनाले डाँडाको प्राकृतिक स्वरूप र सौन्दर्यमा असर पर्न सक्ने भन्दै निर्माणको वैकल्पिक डिजाइन र स्थानबारे पुनः अध्ययन गर्न निर्देशन दिए ।
उनले सम्भव भएसम्म प्राकृतिक सौन्दर्य जोगाएर निर्माण गर्न सकिने विकल्प खोज्नुपर्ने बताए । सुरुआती डिजाइन परिवर्तन गर्दा ठूलो परिमाणमा माटो कटान गर्नुपर्ने अवस्था देखिएकाले वातावरणीय प्रभावलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्ने कार्यक्रम समावेश गरिएको थियो । सोही योजनाअन्तर्गत २०८२ वैशाखमा शिलान्यास गरिएको स्टुडियोमा इनडोर तथा आउटडोर दुवै प्रकारका संरचना निर्माण गर्ने योजना छ ।
स्टुडियोको इनडोर क्षेत्रमा अस्पताल, प्रहरीचौकी, कारागार तथा ठूला भवनका भित्री दृश्य छायाङ्कन गर्न मिल्ने स्थायी र पोर्टेबल सेट निर्माण गरिनेछ । त्यस्तै, आउटडोर क्षेत्रमा चलचित्र सङ्ग्रहालय, पुस्तकालय, पटकथा लेखन तथा निर्देशन कक्ष र चलचित्रसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सभाहल बनाउने योजना रहेको छ ।
मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी एक वर्षभित्र स्टुडियो निर्माणको काम अघि बढाउने लक्ष्यसहित सरकार अघि बढेको बताए । यस विषयमा आफूले संसद्मा समेत प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै उनले स्थानीय सरकार, बासिन्दा र सरोकारवाला सबैको सहयोग आवश्यक रहेको बताए ।
निरीक्षणका क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले स्टुडियो निर्माणका लागि हालसम्म भएको प्रगति र देखिएका चुनौतीबारे जानकारी गराएका थिए ।
स्थानीय जनप्रतिनिधिले परियोजना निर्माणमा स्थानीय सरकारको सहयोग रहेको र पहुँचमार्ग निर्माणलगायतका काममा सहजीकरण भइरहेको जानकारी गराएका थिए । उनीहरूले सामुदायिक वन उपभोक्ता समिति र स्थानीय बासिन्दासँग समन्वय गरेर आयोजना अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
मन्त्री तिमिल्सिनाले स्थानीयका जायज माग र सरोकार सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै संवाद र सहमतिका आधारमा परियोजना अघि बढाउन आग्रह गरेका छन् ।















