लाङ्टाङ (रसुवा) । वरिपरि सेताम्मे हिमशृङ्खला, अग्ला चट्टानी पहाड र बीचमा सुन्दर उपत्यका । हिमाली काखमा बसेको लाङ्टाङ उपत्यका देखेपछि गायिका तारादेवीको गीत गुनगुनाउन मन लाग्छ—
“हिमालको काखमा छ, सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म, पार्वती हो नाउँ…”
हिमालको काखमा हुर्किएको लाङ्टाङ उपत्यका सुन्दर छ । त्यसभन्दा सुन्दर छन्, हिउँजस्तै निर्मल र निश्चल मन भएका यहाँका बासिन्दा । उनीहरू एकातिर हिउँजस्तै मुस्कान लिएर मुस्कुराउँछन् भने अर्कातिर जीवनका अनेक सङ्घर्षलाई चट्टानझैँ सहर्ष स्वीकार गर्छन् ।
लाङ्टाङकी ५० वर्षीया फुर्पु शेर्पा भन्छिन्, “हामी हिमालीवासीहरू खुसी हुँदा हिमालझैँ हाँस्छौँ, दु:ख पर्दा चट्टानझैँ जुध्न सक्छौँ । शेर्पालाई खुसी हुन धेरै ठूलो कुरा केही चाहिँदैन ।”
हिमाली गाउँ हेर्न आउने पर्यटक देख्दा उनलाई खुसी लाग्छ । विशेषगरी आफ्नै छोराछोरीको उमेरका युवा पर्यटक गाउँ आइपुग्दा उनी तिनलाई आफ्नै सन्तानजस्तै ठान्छिन् । “कहाँसम्म पुग्ने हो ? आउनु, चिया खाउँ,” भन्दै पर्यटकलाई बोलाउँछिन् । व्यापारका दृष्टिले यो ग्राहक बोलाउने सामान्य शैली हुन सक्छ, तर फुर्पुका लागि पर्यटकसँगको आत्मीयता र सन्तानको सम्झनासँग जोडिएको भावनात्मक सम्बन्ध पनि हो ।
भूकम्पमा परिवारका सदस्य गुमाएपछि उनी एक्लै जीवनको जिम्मेवारी सम्हाल्दै आएकी छन् । चार सन्तानकी आमा उनी अहिले एक्लै छिन् । विसं २०७२ को भूकम्पले उनको परिवारमा ठूलो बज्रपात ल्यायो । उनले जेठो छोरा, छोरी र श्रीमान् गुमाइन् । अहिले उनका दुई छोरीमध्ये एक क्यानडामा अध्ययनरत छिन् भने अर्की काठमाडौँमा पढिरहेकी छन् ।
गाउँ आउन आग्रह गर्दा छोरीले ‘हेलिकप्टर पठाइदिनु, हिँडेर त आउँदिन’ भन्ने गरेको उनले सुनाइन् । छोरीको यस्तो जवाफ सम्झेर उनी एकछिन मुस्कुराउँछिन् । तर त्यो हाँसोभित्र सन्तानसँग भेट्ने प्रतीक्षा र कतै उनीहरूले आफूलाई बिर्सने हुन् कि भन्ने चिन्ता पनि लुकेको छ । “जिन्दगी के नै रहेछ र ?” छोटो वाक्यमै उनी आफ्नो पीडा पोख्छिन् ।
लाङ्टाङका ७२ वर्षीय तेन्जेन लामा र उनकी ७० वर्षीया पत्नी याङ्जेन जाङ्डुम्पाको जीवन पनि देखेजस्तो सजिलो छैन । यहाँ बस्ने प्रत्येक व्यक्तिका आ–आफ्नै कथा छन् । लामादम्पतीको कथा पनि रोचक छ । उनीहरूका एक छोरा र तीन छोरी छन् । दुई छोरी तथा छोरा–बुहारी अमेरिकामा छन् । सन्तान विदेशमा भए पनि उनीहरूको मन भने आफ्नै गाउँ र हिमालसँग जोडिएको छ ।
लाङ्टाङमा अहिलेसम्म सहज सडक पहुँच छैन । दैनिक उपभोग्य सामग्रीसमेत कठिनाइका साथ ढुवानी गर्नुपर्छ । बजारमा दुई हजार पाँच सय रुपैयाँ पर्ने चामल गाउँसम्म ल्याउँदा ढुवानी खर्च जोडिएर पाँच हजार रुपैयाँसम्म पर्ने स्थानीय बताउँछन् । खाद्यान्नदेखि निर्माण सामग्रीसम्म महँगो मूल्य तिर्नुपर्ने बाध्यता यहाँका बासिन्दाले भोगिरहेका छन् । त्यसमाथि लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले स्थानीयले विभिन्न शुल्क र नियमको भारसमेत व्यहोर्नुपरेको गुनासो गर्छन् ।
विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार र नेपाली पर्यटकबाट प्रतिव्यक्ति एक सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । पर्यटकबाट शुल्क उठाइए पनि पदमार्ग, फोहर व्यवस्थापन र स्थानीय पूर्वाधार सुधारमा त्यसअनुसार काम नभएको स्थानीयको गुनासो छ । प्रकृतिले मन खोलेर दिएको सौन्दर्यका बीच लाङ्टाङवासीको दैनिकी भने सहज छैन । पर्यटकको आगमनबाट जीविका चलाउने यहाँका बासिन्दा बाटो, स्वास्थ्य सेवा, खाद्यान्न ढुवानी र पर्यटन व्यवस्थापनको अभावसँग जुधिरहेका छन् ।
गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने लाङ्टाङ उपत्यका नेपालको लोकप्रिय पदयात्रा गन्तव्यहरूमध्ये एक हो । सगरमाथा र अन्नपूर्णपछि चर्चामा आउने लाङ्टाङमा हिमाली दृश्य, स्थानीय तामाङ तथा शेर्पा समुदायको संस्कृति र मौलिक जीवनशैली हेर्न बर्सेनि स्वदेशी तथा विदेशी पर्यटक पुग्छन् । तर पर्यटकलाई लोभ्याउने यही गन्तव्यसम्म पुग्ने बाटो र त्यहाँको आधारभूत सेवा अझै व्यवस्थित हुन सकेको छैन ।
ठूलो स्याफ्रुस्थित नमस्ते होटलका सञ्चालक कर्मा लामाका अनुसार लाङ्टाङ नाम रहनुका पछाडि स्थानीय जनविश्वासमा आधारित रोचक किंवदन्ती छ । उनका अनुसार पहिले तिब्बतबाट एउटा जनावर गोठालासँगै भागेर आएको थियो । गोठालाले फर्काउन खोज्दा पनि नमानेपछि त्यसलाई किलाले बाँधेर राखियो । पछि किला फुकाएर भागेको उक्त जनावरलाई धेरै दु:ख दिएको भन्दै गोठालाले हतियार प्रहार गरी मारेको स्थानीयको भनाइ छ । त्यसपछि त्यस स्थानको नाम लाङ्टाङ रहन गएको जनविश्वास रहेको उनले बताए । यस्ता किंवदन्ती र स्थानीय संस्कृति पनि लाङ्टाङका पर्यटकीय आकर्षण हुन् । यद्यपि प्राकृतिक एवं सांस्कृतिक सम्पदाको प्रचार र संरक्षणसँगै यहाँका बासिन्दाको जीवन सहज बनाउनेतर्फ पर्याप्त ध्यान पुग्न सकेको छैन ।
बिरामी पर्दा हेलिकप्टरको भर
हिमाली जीवनको अर्को ठूलो चुनौती स्वास्थ्य सेवा हो । सामान्य अवस्थामा जसोतसो जीवन चलाए पनि बिरामी पर्दा अस्पताल पुग्ने चिन्ताले स्थानीयलाई सताउने गरेको छ । “अरु बेला त जसोतसो चलेको छ, बिरामी पर्दा उपचार नपाइने डरले सताउँछ,” फुर्पु शेर्पा भन्छिन्, “बिरामी भए हेलिकप्टरबिना अस्पताल पुग्न सकिँदैन । हेलिकप्टरको व्यवस्था गर्न बैंक खातामा तीन लाखदेखि पाँच लाखसम्म जम्मा भएकै हुनुपर्छ ।” आपत्कालीन अवस्थामा हेलिकप्टर नै एक मात्र विकल्पजस्तो बन्नु यहाँ स्वास्थ्य सेवाको कमजोर पहुँचको चित्र हो ।
आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यस्तो खर्च जुटाउनु झन् कठिन हुन्छ । पर्यटनको आकर्षक गन्तव्यका रूपमा चिनिएको लाङ्टाङमा स्थानीयले सामान्य स्वास्थ्योपचारका लागि समेत ठूलो आर्थिक जोखिम मोल्नुपर्ने अवस्था छ ।
बाढीपछि घट्यो पर्यटकको चहलपहल
विसं २०७२ को भूकम्पले तहसनहस भएको लाङ्टाङ विस्तारै उठ्दै थियो । त्यसपछि भोटेकोशी नदीको बाढीले स्याफ्रुबेँसी क्षेत्रमा क्षति पुर्याएपछि पर्यटन गतिविधिमा थप असर परेको स्थानीय व्यवसायी बताउँछन् । ओर्जिनल लामा होटलका सञ्चालक राजु गुरुङका अनुसार बाढीपछि स्याफ्रुबेँसी हुँदै हुने पदयात्रा प्रभावित भएको छ । त्यसको असर लाङ्टाङ आउने पर्यटकको सङ्ख्यामा परेको छ । “पहिला नेपाली पर्यटनको पनि आकर्षणको केन्द्र थियो । अहिले पर्यटकको सङ्ख्या निकै घटेको छ,” उनले भने ।
उनका अनुसार बाढीका कारण पुरानो पदमार्ग प्रयोग गर्न कठिन भएपछि पर्यटकले अहिले ठूलो स्याफ्रु हुँदै यात्रा सुरु गर्नुपर्ने अवस्था छ । पदयात्राको मार्ग परिवर्तन हुँदा पर्यटकलाई आवतजावतमा थप कठिनाइ भएको छ । यसले होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा निर्भर स्थानीयको आम्दानीसमेत प्रभावित बनाएको छ । लाङ्टाङमा होटल व्यवसाय सञ्चालन गर्ने सोनाम शेर्पा निकुञ्जले वार्षिक चार लाख रुपैयाँ लिने गरेको बताउँछन् ।
पर्यटन व्यवसायबाट आम्दानी गर्न खोज्ने स्थानीयले महँगो शुल्क तिर्नुपरे पनि पदमार्गको अवस्था र व्यवस्थापनमा सुधार नदेखिएको उनको गुनासो छ । केन्जिङ गुम्बाका २७ वर्षीय पेम्बा तामाङका अनुसार उक्त क्षेत्रमा करिब ३० घर छन् । स्थानीयले आफ्नै प्रयासमा पर्यटकलाई आवश्यक सेवा उपलब्ध गराउँदै आएका छन् ।
गोसाइँकुण्ड गाउँपालिका–४ का जनप्रतिनिधि लाक्पा तेन्जिङ तामाङ लाङ्टाङ उपत्यका पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि तीनै तहका सरकारले प्राथमिकता दिन नसकेको बताउँछन् । स्थानीयले भत्किएको पदमार्ग आफ्नै बलबुतामा मर्मत गरेर पर्यटकलाई गाउँसम्म ल्याउने प्रयास गरिरहेको उनले सुनाए । “निकुञ्जको भालुले हामीलाई खायो भने पाँच लाख क्षतिपूर्तिमा चित्त बुझाउनुपर्छ । यदि हामीले ज्यान जोगाउन प्रतिकार गर्दा भालु मर्यो भने आजीवन कैदी बन्नुपर्छ,” उनले भने, “के गर्नु ? हाम्रो मूल्य जनावरको जति पनि छैन ।”
प्रचुर सम्भावना, कमजोर व्यवस्थापन
लाङ्टाङ उपत्यकाको अर्को चुनौती पदमार्गको अवस्था र फोहर व्यवस्थापन हो । निकुञ्ज क्षेत्र पार गर्दै लाङ्टाङ उपत्यका पुग्दासम्म फोहर सङ्कलन गर्ने डस्टबिन देखिँदैनन् । कतिपय स्थानमा ठूला पहिरो खसेका छन् । जोखिमपूर्ण बाटो हुँदै पर्यटकले यात्रा गर्नुपर्ने अवस्था छ ।
तिहारका बेला लाङ्टाङ पदयात्रामा पुगेका स्याङ्जाका प्रविन न्यौपानेले पर्यटकीय आकर्षण भए पनि यहाँ सुरक्षित र व्यवस्थित पदमार्ग बनाउन खासै ध्यान नदिइएको गुनासो गरे । उनले भने, “यति सुन्दर ठाउँ छ, फोहर व्यवस्थापन र पदमार्ग व्यवस्थित नहुँदा दु:ख लाग्यो ।” नमस्ते होटलका सञ्चालक कर्मा लामा भन्छन्, “नेपालीले सफा गर्ने हो भने पदमार्ग फोहर हुँदैन ।”
काठमाडौँबाट करिब छदेखि सात घण्टाको बस यात्रापछि ठूलो स्याफ्रु पुगेर लाङ्टाङ पदयात्रा सुरु गर्न सकिन्छ । क्यान्जिन गुम्बा यस क्षेत्रको प्रमुख आकर्षण हो । त्यहाँबाट करिब चार हजार ९८४ मिटर उचाइमा रहेको त्सेर्को री पुगेर वरिपरिका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । हिमाल, हिमनदी, पहाड र उपत्यकाको प्राकृतिक दृश्यसँगै तामाङ तथा शेर्पा समुदायको संस्कृति, परम्परा र जीवनशैलीले लाङ्टाङलाई विशिष्ट पर्यटकीय गन्तव्य बनाएको छ । स्थानीय संस्कृति बुझ्न, हिमाली जनजीवन अनुभव गर्न र पदयात्रामा रमाउन चाहने पर्यटकका लागि यो क्षेत्र विशेष आकर्षणको केन्द्र हो ।
नेपाल पर्यटन बोर्डको पदयात्रा गन्तव्यसम्बन्धी वर्गीकरणमा लाङ्टाङलाई सगरमाथा र अन्नपूर्णपछि चर्चित पदयात्रा क्षेत्रका रूपमा लिने गरिन्छ । यसको वास्तविक सम्भावना उपयोग गर्न पदमार्गको स्तरोन्नति, सुरक्षित आवागमन, स्वास्थ्य सेवामा पहुँच, खाद्यान्न ढुवानीको सहजता र फोहर व्यवस्थापनमा लगानी आवश्यक देखिन्छ ।















