१५ आश्विन २०८३, बिहिबार

काँग्रेसमा झिनो आशा : पूर्णबहादुर र शेखरका माग पूरा गर्न गगन सकारात्मक


कांग्रेस एकताको पहलमा गगन सक्रिय, पूर्णबहादुर र शेखरसँग छुट्टाछुट्टै संवाद

काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको विवाद वा असमझदारी समाधान भएर सहमति बन्न सक्ने सम्भावना अझै बाँकी छ रहेको संकेत देखिएको छ । पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले राखेका मागहरू सम्बोधन गर्न सभापति गगन थापा सकारात्मक देखिएका छन् । त्यसैले काँग्रेसभित्रको विवाद तत्कालै टुटफुटतर्फ नजाने र वार्ता तथा सहमतिबाट समस्या समाधान हुन सक्ने झिनो आशा देखिएको हो ।

कांग्रेसका सभापति थापाले पार्टीभित्र विशेष महाधिवेशनदेखि नै सुरू भएको मतभेदलाई अन्त्य गर्दै १५ औं महाधिवेशन प्रक्रिया सुरू गर्ने तयारीस्वरूप संस्थापनइतर पक्षका नेताहरूसँग संवाद गर्दै उनीहरूले अघि सारेका माग पूरा गर्न तयारी गरेका हुन् ।

निवर्तमान सभापति शेरबहादुर देउवासँग छलफल हुन नसके पनि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग सभापति थापा संवादमा छन् र उनीहरूकै संवादपछि केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय गर्ने तयारीमा सभापति थापा जुटेको नेताहरू बताउँछन् ।

निवर्तमान सभापति देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई संयोजक बनाएर १५ औं महधिवेशन तयारी र मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याइसकेका छन्। उनीहरूले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गरिरहेका छन्।

यही बेला निवर्तमान सभापति देउवा पक्षका गतिविधिसँग असन्तुष्ट रहँदै पार्टी एकताका पक्षमा उभिएका निवर्तमान कार्यवाहक सभापति खड्का र नेता शेखर कोइरालाले यसअघि उठान गरेका मागहरू पूरा गर्नेतर्फ संस्थापन पक्ष लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !