१४ बैशाख २०८१, शुक्रबार

धार्मिक पर्यटकीय गन्तव्य पिण्डेश्वर-दन्तकाली पदमार्ग


पिण्डेश्वर-दन्तकाली पदमार्ग

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा सुनसरी जिल्लाको पिण्डेश्वर-दन्तकाली पदमागलाई छनोट गरेको छ ।

परिचय

पिण्डेश्वर मन्दिर धरानको विजयपुरमा अवस्थित छ । यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना गरिन्छ । श्रावण महिनाभरी यहाँदेखि करिब १३ किलोमिटर पश्चिममा रहेको सप्तकोशी नदीको पानी ल्याएर यस मन्दिरमा चढाउने चलन छ । समुद्र सतहदेखि १५६० फुट उचाइमा रहेको पिण्डेश्वर हिन्दु धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल मानिन्छ । पिण्डेश्वरमा बालाचतुर्दशी, शिवरात्रि र तीजमा मेला लाग्ने गर्छ । कात्तिक मेलाका अवसरमा वराहक्षेत्र आउने साधुसन्तका लागि पिण्डेश्वरमा हण्डीको व्यवस्था गरिने हुँदा यसको सम्बन्ध वराहक्षेत्रसँग समेत रहेको मानिन्छ ।

पिण्डेश्वर

दन्तकाली मन्दिर धरान नगरपालिका वडा नं. १४ विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । दन्तकाली क्षेत्रमा दशैंको नौरथामा मेला लाग्दछ । त्यस समयमा धरान बजारका प्रायः सबै मानिसहरू दन्तकालीमा पुग्ने गर्दछन् । यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ । नेपालीहरुको महान चाड दशैको समयमा दन्तकाली मन्दिरको महत्व छुट्टै रहेको छ ।

दन्तकाली

धार्मिक महत्व

ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले पिण्डेश्वर नेपालको पूर्वाञ्चल विकास क्षेत्रकै महत्वपूर्ण स्थल मानिन्छ । पिण्डेश्वरको सम्बन्ध यस भेगका अन्य धार्मिक स्थलहरूसँग पनि रहेकाले यसको अखण्ड ज्योति निभेमा रामधुनीको धुनीबाट आगो ल्याएर सल्काउनुपर्ने र रामधुनीको आगो निभ्दा पनि पिण्डेश्वरबाटै लगेर सल्काउने परम्परा छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

पिण्डेश्वर शिवालयका बारेमा वेद उपनिषद र स्कन्ध महापुराणमा व्यापक चर्चा गरिएको छ । पिण्डेश्वरको चर्चा गर्ने प्रमुख ग्रन्थ स्कन्द पुराणको हिमवत्खण्ड अन्तर्गत पर्ने रुद्राक्षारण्य माहात्म्य हो । यसमा पिण्डेश्वरलाई रुद्राक्षको वनका रूपमा रुद्राक्षारण्य भनिएको उल्लेख छ । पिण्डेश्वरको उत्पत्तिका सम्बन्धमा रुद्राक्षारण्य माहात्म्यमा के चर्चा पाइन्छ भने, समुद्र मन्थनबाट प्राप्त विभिन्न प्रकारका वस्तुहरूमध्ये अमृतलाई भने छानियो र त्यसका छोक्राहरू यसै भागमा फालिए । प्रचलित जनविश्वास अनुसार, तिनै छोक्राको पिण्डबाट पिण्डेश्वर महादेवको उत्पत्ति भएको हो ।

पौराणिक कथा अनुसार देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यस स्थानमा ल्याई र्पुयाएर शिवलिङ्गको रूपमा स्थापना गरेको भन्ने पुराण एवं धर्मशास्त्रमा व्याख्या गरिएको छ । समुद्र मन्थन गर्दा सुरुमा कालकुट विष उत्पन्न भएको र उक्त विषलाई शिवले आफ्नो कण्ठमा राखेको र अन्तिम रत्नका रूपमा उत्पन्न अमृतलाई भगवान विष्णुले देवताहरूलाई मात्र पिउन अवसर दिएका तर दैत्य पक्षकालाई विष्णुले मोहिनी अप्सराको रूप धारण गरेर लट्ठ पारेर अलमल्याएर अमर बन्न नदिएको कथा छ ।

भगवान् शिवले बाँडेको अमृतको छोक्रालाई देवताहरूले पिण्ड जस्तो बनाई रुद्राक्षरण्य क्षेत्रमा स्थापित गरेकाले पिण्डेश्वर बाबाधाम नामकरण रहेको पुराणमा उल्लेख भएकाले धार्मिक दृष्टिकोणले पशुपतिनाथ मन्दिरभन्दा पुरानो इतिहास बोकेको महत्वपूर्ण तीर्थस्थल मानिन्छ । पुराणमा वर्णन गरिएअनुसार कश्यप ऋषिका पहिलो पत्नी दितिबाट दैत्यहरू (राक्षस) र दोस्री पत्नी अदितिबाट आदित्य देवता जन्मेका सन्तानहरू अमर बन्ने उद्देश्यले अमृत निकाल्न समुद्र मन्थन गरेका थिए । पिण्डेश्वरको ख्याति मध्यकालदेखि नै बढेको पाइन्छ । तसर्थ यहाँ मध्यकालदेखिका कलाकृतिका नमुनाहरू पाइएका छन् । आभिलेख्य प्रमाणहरू भने नेपाल एकीकरणपछिका मात्र प्राप्त छन् ।

मध्यकालतिर कालिकाका नामले चिनिने दन्तकालीे मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रत कथामा पनि उल्लेख भएको पाइन्छ । नेपाल एकिकरण पूर्व बिजयपुर राज्यका सेनवंशी राजाहरूको ईष्टदेवीको रूपमा पुजित यो शक्तिपीठको महिमा सदाकाल उस्तै रहेको छ । तनहुका खनाल थरका बाहुनलाई पुजारी बनाएर शाहराजा गिर्वाणयुद्ध विक्रमले दिएको ताम्रपत्रमा उल्लेख छ ।

प्राकृतिक सौन्दर्य

विजयपुरको दन्तकलीबाट धरान बजारको रमणीय दृश्य देख्न सकिन्छ । यसबाहेक मोरङ जिल्लाका केही भाग र उदयपुर, सप्तरी तथा सुनसरी जिल्लाका इनरुवा, कोशी टप्पु आदि स्थान पनि देख्न सकिन्छ । तसर्थ दन्तकाली धार्मिक रूपमा मात्र नभएर सुन्दरताका दृष्टिले पनि निकै महत्वपूर्ण छ ।

धार्मिक पर्यटन

साउन महिनाभर नेपालका विभिन्न भाग र भारततिरबाट समेत पिण्डेश्वर बाबालाई जल चढाउन हजारौं भक्तालुहरू आउने गरेका छन् । तीज र स्वस्थानी पूर्णिमाका अवसरमा दन्तकालीमा मेला लाग्ने गर्दछ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस् 

झापाको सुन्दर पर्यटकीय गन्तव्य गौरादह कृषि पर्यटन क्षेत्र

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

घुम्न जाने होइन मोरङको प्राचीन तथा ऐतिहासिक पर्यटकीय स्थल विराट राजाको दरवार

दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु