, घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अनुसार झापा जिल्लाको अर्जुनधारा पर्यटकीय क्षेत्रलाई छनोट गरेको हो

पृष्ठभूमि : महाभारत कालमा पाण्डवहरू लुकेर यिनै स्थानमा गुप्तवास बसेका र दुर्योधन लगायत कौरवहरूले पत्ता लगाई पाण्डवहरूको गुप्तवास भंग गर्न विराट राजाका नौ लाख गाईहरू हरण गरी लगेको तथा कौरवहरूले गाई हरण गरेको स्थान गौ हरण तथा यसको अपभ्रंश भई गोरुवा हुदै गरुवा भएको बताइन्छ, जुन स्थान हाल इलाम जिल्लाको तत्कालिन दानाबारी गाविसमा पर्दछ । हरण गरेर लगेका गाईहरू कौरव पक्षले गौहटी (हाल आसाम राज्यको गुहाटी) पुर्याएका थिए र पाण्डव पक्षका वीर योद्धा बृहन्नला (नपुसक) को रूपमा लुकेर बसेका अर्जुनले लुटिएका गाईहरू कौरवहरूसँग युद्ध गरी फिर्ता ल्याउँदा अत्यन्तै तिर्खाएकाले जलदेवता भगवान शिवको आराधना गरी जमीनमा प्रर्जन्य अस्त्रले पानी निकाली गौमातालाई खुवाएको स्थानका रूपमा यस स्थानलाई लिइन्छ । यहाँ निरन्तर धाराको रूपमा पानी बगिरहेको हुनाले यसलाई अर्जुनधारा धाम भनिएको हो भन्ने किवदन्ती छ ।

परिचय

झापा जिल्लाका महत्वपुर्ण तीर्थस्थल मध्ये अर्जुनधारा पनि एक हो । यो झापा जिल्लाको शनि–अर्जुन नगरपालिकामा अवस्थित छ । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अनुसार झापा जिल्लाको अर्जुनधारा पर्यटकीय क्षेत्रलाई छनोट गरेको हो । पहिले अर्जुनधारा गाविसमा पर्ने यो धाममा शिव मन्दिर, विष्णु मन्दिर र अन्य मन्दिरमा पूजाआजा गर्नेको जहिल्यै भीडभाड भइरहन्छ । खासगरी महाशिवरात्रि, बालाचतुर्दशी, कृष्णजन्माष्टमी, माघे सङ्क्रान्ति आदि अनेक पर्वमा अत्यन्त घुइँचो हुन्छ ।

बिर्तामोडदेखि उत्तरमा रहेको अर्जुनधाराधाम धार्मिक दृष्टिले झापाकै सबैभन्दा प्रसिद्ध स्थलको रूपमा रहेको छ । यहाँ बालाचतुर्दशी एवं अन्य विशेष पर्वमा मानिसको ठुलो भीड लाग्ने गर्दछ । साउनको महिनामा शिवको महिमा भए अनुसार पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा हजारौं धर्मानुरागीहरुले जल चढाउने गर्छन । अर्जुनधारामा प्रत्येक वर्ष बालाचतुर्दशी र श्रावण महिनाभर मेला लाग्ने गर्दछ, जुन अवसरहरूमा देश भित्रका र भारतबाट समेत भक्तजनहरू आउने गर्दछन ।

धार्मिक तथा पर्यटकीय महत्व

यहाँ शिव, गणेश, नाग, हनुमान र सरस्वती आदि देवी देवताका मूर्तिहरूका अतिरिक्त विवाह, कर्मकाण्ड, यज्ञकक्ष, क्रियापुत्री कक्ष, धर्मिक कार्यक्रम वाचन तथा श्रोता कक्ष आदिको स्थापना गरिएको पाइन्छ । जाँड रक्सी र धुम्रपान समेत निषेधित गरिएको अर्जुनधारा क्षेत्र परिसर भित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी छ भने यसको बीचमा अर्जुनले गाईलाई पानी ख्वाईरहेको मूर्ति स्थापित गरिएको छ ।

सातकुने उक्त पोखरीको दक्षिण तर्फ पंचधातुबाट निर्मित ५ वटा धाराहरू छन् जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका रंगी विरंगी माछाहरू पाइन्छन् । २०५५ सालको हुलाक टिकटमा समेत चित्रांकित अर्जुनधारा क्षेत्रमा प्रत्येक वर्ष लाखौं स्वदेशी तथा भारतीय तीर्थ यात्रीहरूले भ्रमण गर्ने गरेको पाईन्छ ।

कसरी पुग्ने ?

विर्तामोडबाट लगभग ५ कि.मी. उत्तरमा शनिश्चरे बजारबाट पश्चिमतर्फ करीब ६ मिनट जति हिँडेपछि अर्जुनधारा जलेश्वर धाममा पुग्न सकिन्छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस् 

जाने होइन ताप्लेजुङको सुन्दर तिम्बुङ पोखरी

यस्तो बन्दैछ पर्यटकीय गन्तव्य गुरु फाल्गुनन्द सर्किट

मनै लोभ्याउने ताप्लेजुङको आकर्षक पर्यटकीय गन्तव्य फुङफुङे झरना

यस्तो बन्दैछ सुन्दर पर्यटकीय गन्तव्य फिक्कल, कन्याम, श्रीअन्तु सर्किट