, दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी

दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी

अन्न भरेको पाथी झैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको टुप्पोमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम 'पाथीभरा देवी' भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ

गोपाल भण्डारी

गोपाल भण्डारी

पृष्ठभूमि : अन्न भरेको पाथी झैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको टुप्पोमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्तुंवुङ” भनेर चिन्दछन । लिम्बू भाषामा “मुक्तुै”को अर्थ शक्ति वा बल, “वुङ”को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात लिम्बू जातिहरू पाथीभरालाई शक्ति वा बलको स्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

परिचय

ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको मन्दिरमा हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन् । ताप्लेजुङ जिल्लामा पर्ने १२ हजार फिट वा ३७९४ मिटरको उचाइमा अवस्थित विश्वास आस्था एवं पवित्रताकी पाथीभरा देवीको मन्दिर श्रद्धालु भक्तजनबीच सुविख्यात छ । पाथीभरा ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरी भक्तजनहरुको घुइँचो लाग्नेु गर्दछ । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेवी धाममा वर्षेनी पर्यटक बढ्दो छ । दशै तिहारको समयमा दैनिक ३०,००० जनासम्म जाने गर्दछन ।

धार्मिक तथा सांस्कृतिक महत्व

व्यक्तिका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने शक्तिशाली भगवतीका रूपमा पाथीभरा देवीको उत्पत्ति भएको जनविश्वास अनुसार आफ्ना अपूर्ण चाहनाहरू बोकेर असंख्य नेपाली तथा भारतीयहरू पाथीभरा जाने गर्दछन ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

पाथीभरा देवीको उत्पति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छ परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अचानक हराए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।

आत्मवोध प्राप्तल गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टतपुष्टग भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्चेर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चार्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे ।

यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिनगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्नेरहपूर्वक ग्रहण गर्छिन् भन्नेा जनधारणा रहिआएको छ ।

जनआस्था र जनधारणा

पाथीभरा देवी विश्वाबस आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ । धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । “मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्छ । पाथीभरा धाममा गर्भवती, रजस्वला भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ” भन्ने जनधारणा रहिआएको छ ।

पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभएपनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्टअ फलफूल तथा मिठाईको भोग चढाउँछन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रूपमा) चढाउने गर्दछन ।

पर्यटकिय सम्भावना

आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ । मनको इच्छा पूरा गरिदिने देवीको रुपमा प्रसिद्धी कमाएको पाथीभरामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा लगायत पूर्वाञ्चलका जिल्लाका साथै काठमाडौ विराटनगर, पोखरा र छिमेकी भारतको उत्तर प्रदेश, आसाम, दार्जीलिङ, सिक्किम सम्मका मानिसहरु तथा विभिन्न मुलुकबाट आउँछन् । वर्षायाम सकिएपछि आन्तरिक र बाह्य पर्यटकको घुँइचो लाग्ने पाथीभरा मन्दिर राम्रो गन्तव्य हुन सक्छ । पाथीभरा पदयात्रा र प्रकृतिक सौन्दर्यमा रमाउन चाहनेहरूका लागि पनि सुरक्षित र आरामदायी गन्तव्य स्थापित भएको छ ।

जैविक विविधता

पाथीभराको पदयात्रामा प्राकृतिक सौन्दर्य दुलर्भ जीवजन्तु तथा वनस्पतिको बेजोड संगमस्थल पाइन्छ । यसबाहेक राष्ट्रिय पंक्षी डाँफे, नेपालमा मात्र पाइने काँडे भ्याकुर लगायत दुई सयभन्दा बढी प्रजातिका चरा, १ सय ५२ प्रजातिका फूल, २८ प्रजातिका लालीगुराँस, दुर्लभ रेडपाण्डा, चितुवा, हिमाली कालो भालुलगायत ३ दर्जन भन्दा बढी जंङ्गली जनावर पाइन्छ । यो क्षेत्रमा पाँचऔंले, कुड्की, जटामसी, चिराइतो जस्ता ५० भन्दा बढी प्रजातिका बहुमूल्य जडिबुटी समेत पाइन्छ ।

प्राकृतिक सौन्दर्य र दृश्यावलोकन

पाथीभरा देवी दर्शन तथा पूजा अर्चना सकिएपछि पाथीभराबाट देखिने हिमश्रृंखलाको अवलोकन गर्न एकदमै आनन्द आउने गर्छ । पाथीभराबाट कञ्चनजंघामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुमधुर सुन्दर मोहनीलाग्दो दृश्य हेर्न तथा यसलाई आफ्नो क्यामरामा कैद गर्दा असाध्यै रमाईलो हुन्छ । पाथीभराबाट कञ्चनजंघा, कुम्भकर्ण, काङबाचेन, मकालु, लोत्से, नोत्से जस्ता हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ । अस्ताउँदो घामको दृश्यावलोकन, जैविक विविधता अनुसन्धाताहरूका लागि प्राकृतिक संग्रालयका रुपमा यो क्षेत्र मानिन्छ ।

यात्रामा अपनाउनुपर्ने सुरक्षा र सावधानीहरु

पाथीभरा देवीको मन्दिर ३७९४ मिटर उचाईमा रहेकोले यहाँको तापक्रम जाडोमा प्राय: शून्य डिग्रीको हाराहारीमा झर्ने गर्दछ । तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न (High Altitude Sickness) र न्युनताप (Hypothermia) बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगेर जानु उपयुक्त हुन्छ । पाथीभरा यात्राको लागि फागुनदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । टाउको दुख्ने तथा केही असहज हुने भएपनि खासै चिन्ता लिनुपर्दैन किनभने विभिन्न हिमाली फूलहरूको बासनाका कारणले हुनसक्छ । यात्रामा आवश्यक सामग्रीहरु क्यामरा, मोबाइल, औषधि, लौरो बोक्दा ठिक हुन्छ ।

कसरी पुग्ने ?

झापाको बिर्तामोडबाट-इलाम-फिदिम हुँदै २७० किलोमिटर मेची राजमार्गको यात्रा गरेपछि ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजार पुगिन्छ । फुङलिङबाट सुकेटार-तल्लो फेदी-उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ । अन्य मार्गमा धरानबाट धनकुटा-हिले हुँदै कोशी राजमार्गमा १०० किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी-गोर्गा दोभान हुँदै पैदल यात्रावाट पनि पाथीभरा ३ पुग्न सकिन्छ । साथै बिराटनगरवाट हवाई मार्ग मार्फत ताप्लेजुङको सुकेटार हुदै पाथीभरा थप १ दिनमा पुग्न सकिन्छ ।

ॐ जयंती मंगला काली भद्रकाली कपालिनी ,
दुर्गा क्षमा शिवधात्री स्वाहा, स्वधा, नमस्तुते !!

ॐ सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके,
शरण्ये त्रियम्बके गौरी नारायणी नमोस्तुते !!

ॐ सर्ब स्वोरुपे सर्बेसे सेर्बे शक्ति समन्बिते,
भयम्यस्त्राही नो देबी दुर्गे देबी नमस्तुते !!

ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया,
सर्वे भद्राणी पश्यन्तु माँ कश्चित् दुःख भाग्य भवेत् !!

मनोआकांक्षा पुरा गर्ने आस्था तथा बिश्वासकी देबी श्री पाथीभरा माताले हामी सबैको रक्षा गरुन ! श्री पाथीभरा माताको चरण कमलमा कोटी कोटी प्रणाम ! ॐ श्री पाथीभरा माताको आशिर्बाद सदा प्राप्त भईरहोस, ॐ श्री पाथीभरा माताकी जय जय जय जय जय !!!!!

(Pathibhara Devi is believed to possess supernatural powers and a pilgrimage to the temple ensures fulfillment of the pilgrims’ desires of devotees’ prayers.)

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस् 

जाने होइन ताप्लेजुङको सुन्दर तिम्बुङ पोखरी

मनै लोभ्याउने ताप्लेजुङको आकर्षक पर्यटकीय गन्तव्य फुङफुङे झरना

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

घुम्न जाने होइन मोरङको प्राचीन पर्यटकीय स्थल विराट राजाको दरवार