२ असार २०८३, मंगलबार

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो


स्वास्थ्य बीमा बोर्ड

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप रु ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बिमा दाबीबापत रु एक अर्ब तीन करोड २४ लाख ७७ हजार भुक्तानी गरिएको थियो । उनका अनुसार गत जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत रु ३२ करोड १३ लाख ६ हजार निकासा गरिएकामा सोही महिनाको २७ गते थप रु २७ करोड ३७ लाख ७८ हजार भुक्तानी गरियो ।

गत मङ्सिरसम्मको बिमा दाबीमध्ये भुक्तानी दिन बाँकी रु सात अर्ब र पुसदेखि असारसम्मको रु साढे १४ अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ ।

सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !