काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ ।
मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । आज बेलुका ६ बजेसम्म भक्तजनका लागि मन्दिर खुला नै राखिने दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले राससलाई जानकारी दिइन् ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
मूलचोकमै सोमबार महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।












