तङ्ग्रँदै पाल्पाको पर्यटन क्षेत्र Nepalpatra तङ्ग्रँदै पाल्पाको पर्यटन क्षेत्र
१४ असार २०७९, मंगलबार

तङ्ग्रँदै पाल्पाको पर्यटन क्षेत्र


पाल्पा भैरवस्थान

रामपुर, पाल्पा । कोभिड–१९ को असरले पर्यटन क्षेत्रलाई नराम्रोसँग धाराशयी बनायो । विसं २०७२ को विनाशकारी भूकम्पपछि विस्तारै बामे सर्दै गरेको पर्यटन क्षेत्रमा कोभिडले नराम्रोसँग प्रभावित तुल्यायो नै । कोरोना कहरले ठप्प बनेको पर्यटन क्षेत्रमा अहिले पर्यटकको आवागमन बढ्दै गएको पाइएको छ ।

पाल्पा सदरमुकाम तानसेन, रामपुर लगायतका क्षेत्रमा घुमफिर गर्नेको दैनिकजसो उत्साह भेटिन्छ । लामो समयसम्मको बन्दाबन्दी अन्त्य भएसँगै मानिसहरु घुम्न निस्किन थालेका हुन् । दुई वर्षदेखि कोरोना महामारीका कारण सुस्ताएको यहाँको पर्यटन र होटल व्यवसाय पुरानै लयमा फर्कंदैछ ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रमा यतिबेला साथीभाइ, पारिवारिक रुपमा अवलोकन गर्न जानेको चहलपहल देखिन्छ । नेपालको ताजमहल भनेर चिनिने रानीमहल दरबार, एसियाकै ठूलो त्रिशूली रहेको भैरवस्थान, रम्भादेवी मन्दिर, तालपोखरा, राम्चे दृश्यावलोकन (भ्यू टावर) क्षेत्र, रामघाट, सिद्धबाबाधाम, श्रीनगरडाँडा लगायतका स्थानमा अवलोकन गर्न जानेको उपस्थिति बाक्लिँदै गएको छ ।

रिब्दिकोट गाउँपालिका–४ स्थित भैरवस्थान मन्दिरमा पछिल्लो समय दैनिकजसो दर्शनार्थीको उपस्थिति बढ्दै जान थालेको छ । शनिबार र सार्वजनिक बिदाका दिन पाँचदेखि सात हजारसम्म पर्यटक आउने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवालीले बताए । उनका अनुसार कोभिड–१९ हुनुअघि भने शनिबार र बिदाका समयमा एक दिनमा १० देखि १२ हजारसम्म पर्यटक भित्रिने गरेका थिए । कोभिडले करिब दुई वर्षसम्म सुनसान बनेको मन्दिरमा अहिले पुनः पर्यटकको सङ्ख्या थपिँदै गएको छ ।

जनजीवन सामान्य अवस्थामा फर्कंदै गएपछि अहिले रोटको व्यापार बढ्न थालेको व्यवसायी वीरबहादुर पोखरेलले बताउनुभयो । शनिबारका दिन बढीमा ५० देखि ६० सम्म रोट बिक्री हुने गरेको उनको भनाइ छ । भैरव मन्दिरमा रोट चढाउने परम्परा छ । “कोरोना कहरले रोटको व्यापार चौपट बन्यो, कोभिडको त्रास कम हुँदै जाँदा अहिले पुनः थलिएको व्यवसाय विस्तारै उठ्दैछ, पहिलाकै अवस्थामा त आउन सकेको छैन, तैपनि हिजोआज मन्दिरमा पर्यटकको दर्शनार्थी बढ्दै जान थालेपछि व्यापार विस्तारै फस्टाउँदैछ,” उनले भने ।

उनले भैरव मन्दिर परिसरमा १३ वर्षदेखि रोटको व्यापार गर्दै आएक छन् । वैशाखदेखि यहाँ दर्शनार्थी बढ्दै गएको पोखरेल बताए । बिहान ६ देखि साँझ ४ बजेसम्म मन्दिरमा पूजाआजा हुने गर्दछ । यहाँ महाकाल भैरव रहेको कोठामा सयौँ वर्षदेखि अखण्ड ज्योति बलिरहेको त्यहाँका पुजारीको भनाइ छ । मन्दिरको छानामा स्वर्ण जलप लगाइएको गजुर रहेको छ ।

भैरव बाबासँग भाकल गरेमा मनोकामना पूरा हुने विश्वासले पाल्पासहित गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङ्ग लगायतका देशका विभिन्न जिल्लाबाट भक्तजन आएर रोट चढाउने र बलि दिने गर्दछन् । पाल्पाका तत्कालीन सेनवंशी राजा मणिमुकुन्द सेनले १६औँ शताब्दीमा भैरव बाबा उत्पत्ति भएको ठाउँमा यो मन्दिर निर्माण गरेका थिए । मन्दिरसँगै रहेका पौवाबाट मणिमुकुन्द सेनले नियमित भैरवको आराधना गर्ने गर्दथे ।

दुई तला रहेको मन्दिरमा माथिल्लो भागमा बटुक भैरवको मूर्ति छ भने तल्लो भागमा भयङ्कर काल भैरवको मूर्ति रहेको छ । यस मन्दिरमा वार्षिक ३० देखि ३२ लाख दर्शनार्थी भित्रिने गरेको तथ्याङ्क छ । भारतको उत्तर र दक्षिण क्षेत्रबाट ठूलो सङ्ख्यामा पूजाआजाका निम्ति आउने गर्दछन् ।

यस्तै तेस्रो मुलुकका नागरिक पनि यहाँको पर्यटकीय वातावरणसँग रमाउँदै घुमफिरका निम्ति भित्रिने गरेको पाइन्छ । भाकल गरेका कुरा पूरा हुने जनविश्वास, एसियाकै ठूलो त्रिशूली रहेकाले पनि यहाँ धेरै दर्शनार्थी आउने गर्दछन् । यहाँ राँगा, बोका, कुखुराको बलि दिइन्छ । पाल्पा सदरमुकाम तानसेनदेखि करिब साढे नौ किलोमिटर पश्चिममा अवस्थित यस भैरवस्थान मन्दिर समुन्द्र सतहबाट एक हजार ४७० मिटरको उचाइमा पर्छ । यहाँबाट गौरीशङ्कर, माछापुच्छ्रे, धौलागिरि, नीलगिरि लगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ । शक्ति सम्पन्न पीठ भएकाले ठूलो सङ्ख्यामा दर्शनार्थी भित्रिन्छन् ।

कोरोना कहरका कारण आठ महिना पूर्ण रुपमा बन्द हुन पुगेको मन्दिरमा अहिले पुनः पर्यटकको चहलपहल हुँदै जाँदा मन्दिर आसपासको क्षेत्रमा व्यापार व्यवसाय फस्टाउने क्रम बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले बताए । लामो समय मन्दिर पूर्णरुपमा बन्द हुन जाँदा आम्दानीको स्रोत पनि घटेको छ । तर अहिले भने पुनः पूजाआजा सुरु भएसँगै आम्दानी गर्ने अवसर जुट्दैछ ।

“मन्दिरका कारण स्थानीयलाई आयआर्जन गर्ने राम्रो अवसर मिलेको छ, गाउँघरमा उत्पादन भएका सामग्री यहाँ ल्याएर बिक्री गर्ने गतिलो माध्यम बनेको छ, मन्दिरले यहाँका ४० घरपरिवारलाई विभिन्न क्षेत्रमा स्वरोजगार सिर्जना गरेको छ”, अध्यक्ष अधिकारीले भने ।

उनका अनुसार मन्दिरले मासिक रुपमा १८ जना कर्मचारीलाई रोजगारी दिइरहेको छ भने भिडभाड बढेका समयमा ज्यालादारीमा कर्मचारी परिचालन गर्ने गरिएको छ । मन्दिर क्षेत्रमा चारवटा राम्रा खालका रिसोर्ट सञ्चालन गरिएको छ भने निजीस्तरबाट पर्यटन प्रवद्र्धन गर्दै जीपलाइन सञ्चालन गरिएपछि यहाँ आउने पर्यटक बढ्दै गएका छन् । मूल मन्दिरको पुनःनिर्माण सम्पन्न गरी गत वैशाख १ गते विधिवत् रुपमा उद्घाटन गरिएको थियो ।

रिब्दिकोट गाउँपालिका–५ र ६ को सिमानामा पर्ने जलेश्वर मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थी बढ्दैछन् । भैरवस्थानबाट सो ठाउँमा पुग्न करिब नौ किलोमिटरको दूरी पर्छ । राजा मणिमुकुन्दले शनिबार भैरवस्थान मन्दिर दर्शन गर्ने, सोमबार जलेश्वर र मङ्गलबार पुनः भैरवमा आएर दर्शन गरेर फर्कने गरेको किंवदन्ती पनि छ । जलेश्वर मन्दिरमा केही समय चहलपहल कम हुँदै गएकामा स्थानीय सरकार बनेपछि भने पुनः चहलपहल बढ्दैछ ।

कोभिडका कारण लामो समयसम्म थलिएको पाल्पाको पर्यटन तङ्ग्रँदै जाँदा यहाँका पर्यटन व्यवसायी, उद्योगी, व्यापारीहरु उत्साहित बनेका छन् । बन्दाबन्दीले नाजुक अवस्थामा पुगेको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । बन्दाबन्दीले पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन शून्य बन्यो । यहाँ पर्यटक लक्षित व्यवसाय धाराशयी अवस्थामा नै नपुगेका पनि होइनन्, तैपनि व्यवसायीले भने हार खाएनन् ।

लामो समयको बन्दाबन्दी खुलेसँगै व्यावसायिक वातावरण बन्दै जाँदा व्यापार व्यवसाय विस्तारै व्यवसाय बढ्न थालेको बताउनुहुन्छ, न्यू होटल श्रीनगर एन्ड रेष्टुरेन्ट रामपुरका सञ्चालक महेश श्रेष्ठ । “पर्यटकलाई लक्षित गरी व्यवसाय बढाउने क्रममा कोभिडको मारमा परियो, व्यवसाय चौपट बन्यो, तैपनि अहिले फेरि बिस्तारै व्यापार अगाडि बढ्दैछ, अब केही हुन्छ कि भन्ने आशा पलाएको छ,” उनले भने ।

ठूला लगानीमा चलाइएका व्यवसाय निल्नु न ओकल्नु जस्तै बनेको थियो व्यवसायीलाई । कोभिडको असर कम हँुदै गर्दा होटल तथा रेस्टुरेन्ट खुल्दै गए । लामो समय घरभित्र बन्द अवस्थामा बिताउन बाध्य पर्यटक कोभिडको त्रास कम भएपछि पारिवारिक तथा साथीभाइसँग घुमफिर र मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरु भित्रिने क्रम विस्तारै रहेको बताए, नमस्ते पाल्पा होटल एन्ड रेष्टुरेन्टका सञ्चालक कमल पाण्डेय । “व्यवसाय सुरु गरेको चार÷पाँच महिना नहुँदै बन्दाबन्दी सुरु भयो, लगानी ठूलो तर सोचेजस्तो व्यापार छैन, सुस्त गतिमा हिजोआज ग्राहक आउने क्रमले केही सन्तुष्टि मिलेको छ, हामीजस्ता ठूला व्यवसायीलाई कोभिडले नराम्रोसँग गाँजेको छ,” उनले भने ।

रामपुरको राम्चे सामुदायिक वनको भ्युटावर क्षेत्रमा दैनिकजसो एक सयको हाराहारीमा आन्तरिक पर्यटक पुगेकै हुन्छन् । यहाँ अहिले वनभोज जानेको पनि उत्तिकै आकर्षण छ । शनिबार र बिदाका दिन सयभन्दा बढी पर्यटक आउने गरेको वन समूहका सचिव राधिका भण्डारी बताइन । “बजार क्षेत्र नजिकै रहेको हुँदा बेझाड बजार घुम्न आएका, कामविशेषले सामान किनमेल गर्ने केही ग्राहक समय छुट्याएर भ्युटावर घुमेर फर्कने गर्छन्, गर्मीयाममा शीतलता हुने भएकाले दिउँसो र साँझ अबेरसम्म प्रकृतिसँग रमाउँदै कालीगण्डकी बेँसीको दृश्यावलोकन गर्नेको उत्साह बढ्दो छ,” उनले भने ।

बजारको होहल्लाबाट शान्त वातावरणमा रहन, दिनभरको कामको थकान मेट्न साँझपख परिवारसहित, साथीभाइसँग मिलेर राम्चे भ्युटावर क्षेत्रमा पुग्ने गर्दछन् । रामपुर उपत्यकासँगै स्याङ्जा, तनहुँका केही भूभाग एकै नजरमा दृश्यावलोकन गर्न पाइने भएकाले यहाँको भ्युटावर अवलोकनकै निम्ति पनि कतिपय आन्तरिक पर्यटक भित्रिन्छन् ।

चारैतिर हरियाली वन जङ्गल, उत्तरतर्फ कालीगण्डकी नदी बहेको दृश्य । झट्ट हेर्दा काठमाडौँ उपत्यका जस्तै देखिने, सहरीकरणतर्फ उन्मुख रामपुर उपत्यका, बजार भरिँदै गरेको रामपुरको मुख्य मुटु बेझाड बजार । कालीगण्डकी बेँसीको दृश्य एकै नजरमा देख्न सकिने बेझाड बजारको सिरानमा रहेको राम्चे सामुदायिक वन यतिबेला पर्यटक आकर्षणको अर्को केन्द्रविन्दु बनेको छ ।

‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अवलम्बन गरी वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएपछि अहिले यहाँ रमाउन आउने पर्यटक बढ्दैछन् । कोभिडको समयमा घरभित्रै बस्न बाध्य भएका नागरिक वातावरण सामान्य बनेसँगै फुर्सदको समय घुमफिरमा बिताउन थालेका छन् ।

हरियाली वनको चिसो शीतलता, चराचुरुङ्गीको मीठो गुञ्जयमान आवाज, उत्तरतिर हेर्दा सुन्दर रामपुर उपत्यकासँगै कालीगण्डकी बेँसीको दृश्य यहाँबाट हेर्दा मनका पीडा नै भुलाइदिने खालको प्राकृतिक सुन्दरता छ । रामपुर नगरपालिका–५ स्थित यो वन ९७.९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वन क्षेत्रको पाँच हेक्टर क्षेत्रफल छुट्याएर पर्या–पर्यटनका रुपमा विकासका कामहरु भइरहेको छ ।

तीन कोठाको कार्यालय भवन, रामपुर क्षेत्रमा हुने विभिन्न कार्यक्रम, वन समूहको भेला, बैठक, गोष्ठी सञ्चालन गर्नका लागि उपभोक्ता तथा विभिन्न व्यक्तिको सहयोगमा निर्मित ३५० मानिस अट्ने क्षमताको सभाहल पनि छ । जिल्ला भूक्षय तथा जलाधार नियन्त्रण कार्यालयको रु १० लाख सहयोगमा पानीको फोहरा निर्माण तथा पानीट्याङ्की निर्माण गरिएको छ ।

यहाँ पर्यटकलाई लक्षित गरी पानीको फोहरा, वनभोज स्थलको तल्लो भागदेखि दृश्यावलोकन स्तम्भसम्म पुग्ने पक्की पैदलमार्ग, दैनिक चार समूहसम्म अट्ने क्षमताका छुट्टाछुट्टै वनभोजका लागि संरचना तयार छ । एक समूहबाट रु ५०० शुल्क कायम गरिएको छ भने घुम्नका लागि मात्रै आउनेलाई प्रतिव्यक्ति रु १० टिकटको व्यवस्था छ । बस, कार, भ्यानजस्ता ठूला सवारी साधनमा आउने भ्रमण टोलीलाई रु २५०, मोटरसाइकल, स्कुटरमा आउने एक जनाको रु ३०, दुई जना आउनेलाई रु ५० शुल्क तोकिएको छ । यहाँ बँदेल, मृग, खरायो, कालिज, चितुवा, दुम्सील गायतका वन्यजन्तु, चराचुरुङ्गी पाइन्छन् ।

साल, खयर, कटुस, अमला, हर्रो, बर्रो, सर्पगन्ध, कुरिलो लगायतका विभिन्न प्रजातिका बहुमूल्य वनस्पतिले यस क्षेत्रको जैविक विविधतालाई उजागर गरेको छ । देशका १०० पर्यटकीय गन्तव्य स्थलका रुपमा सूचीकृत तालपोखरामा कोरोना कहर कम हुँदै गएपछि डुङ्गा पुनः सञ्चालन गरिएको छ । कोभिडको समयमा जोखिमलाई दृष्टिगत गर्दै यहाँ डुङ्गा सञ्चालन बन्द गरिएको थियो । हाँस डुङ्गा प्रतिव्यक्ति रु १०० र काठको डुङ्गा प्रतिव्यक्ति रु ५० शुल्क कायम गरिएको छ । उनका अनुसार बिहान ७ देखि साँझ रात नपरुन्जेलसम्म दुई डुङ्गा चालकले सेवा दिइरहेका छन् ।

कोरोना कहर सामान्य बन्दै जाँदा तालपोखरा घुम्ने पर्यटक बढ्दै गएका छन् । यहाँ नियमित रुपमा दुईवटा डुङ्गा चलेकै हुन्छ । दिउँसो र साँझपखको समयमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिन आउने पर्यटकको सङ्ख्या थपिँदै गएको बताए, तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा । विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुङ्गा सयर गर्दै सेल्फीमा रमाउने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्ने गरेको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !