१५ बैशाख २०८१, शनिबार

इलामको झण्डीडाँडाबाट मेची नगरसम्मको प्याराग्लाइडिङको परीक्षण उडान सफल


प्याराग्लाइडिङ

झापा । पर्यटकीय नगरी पोखराको आकाशमा मात्र प्याराग्लाइडिङ उडेको देख्नुभएका इलाम रोङ गाउँपालिका–६ का वडाध्यक्ष मनिकुमार स्याङ्बोले आफ्नै गाउँमा पहिलोपटक सोको मज्जा लिएका छन् । इलामको रोङ गाउँपालिका–६ झण्डिडाँडाबाट आज उनी आफैँले प्याराग्लाइडिङको मज्जासहित परीक्षण उडान शुरु गरेका हुन् ।

पोखराको हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका सञ्चालक रुपक कोइराला, हरि बुढाथोकी र सागर नेपालीलाई ल्याएर उनले आफ्नै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक झण्डीडाँडाबाट झापा मेचीनगर नगरपालिका–१ तिरिङसम्मको प्याराग्लाइडिङको परीक्षण उडान गराएका हुन् ।

शुक्रबार हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका कोइराला, बुढाथोकी र नेपालीले मात्र उडान गरेका थिए भने आज वडाध्यक्ष स्वयंले उडान गरेर परीक्षण सफल भएको बताए । उनले भने, “पहिलोपटक प्राविधिक हिसाबले उपयुक्त छ कि छैन भनेर परीक्षण उडान गर्यौ सफल भयौँ, अब एक महिनाभित्रैमा व्यावसायिकरूपमा काम गर्छौँ ।” उनले यस क्षेत्रका व्यवसायीलाई समेत तयार रहन आग्रह गरे ।

उनले प्याराग्लाइडिङबाट झापाका विभिन्न स्थान, भारतको मिरिक, खर्साङ, दार्जिलिङलगायतका स्थान देखिएको बताए । उनले सरकारले तराईका जिल्लामा भ्यूटावर बनाउन लाखौँ खर्च गरिरहेका बेला प्रकृतिले दिएको सुन्दर स्थानलाई सजाएर पनि पर्यटनको विकास गर्न सकिन्छ भन्ने उद्देश्यले काम गरिरहेको बताए । झण्डीडाँडाबाट उडान गरिएको प्याराग्लाइडिङ झापाको मेचीनगर नगरपालिका–१ स्थित तिरिङखोलाको बगर र सोही वडामा रहेको बाल विकास आधारभूत विद्यालयको प्राङ्गणमा अवतरण गरिने व्यवस्था मिलाइएको छ ।

मेची राजमार्गको हाँसपोखरीबाट कर्साङ पदमार्ग हुँदै झण्डीडाँडा थाकेर पुगेका पर्यटकका लागि आकाशमा डुल्दै पर्यटकीय स्थानको दृश्यावलोकनले थकान मेट्न प्याराग्लाइडिङ सहयोगी हुने उनको भनाइ छ । यहाँबाट सूर्योदयको दृश्वालोकनसमेत गर्न सकिन्छ । जसका लागि दैनिकजसो पर्यटक आउन थालेका छन् ।

सेलरोटी महोत्सव मनाइयो

माघे सङ्क्रान्तिको अवसर पारेर आज बाह्रदशी गाउँपालिकामा सेलरोटी महोत्सव उल्लासपूर्वक मनाइएको छ । जनचेतना मूल कृषक समूह राजगढको आयोजनामा राजगढ बजार परिसरमा आयोजित महोत्सवमा विभिन्न कृषक समूह सहभागी भएका थिए ।

सेलरोटीको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनचेतना मूल कृषक समूहका अध्यक्ष पुण्य ढुङ्गेलले बताए । नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय झापाले २५ जनाभन्दा बढी भेला नहुन जारी गरेको सूचनालाई बेपर्वाह गर्दै महोत्सवमा करिब तीन हजारको उपस्थिति रहेको थियो ।

माघे सङ्क्रान्तिमा तरुल, चाकु र तिलको लड्डुझैँ महत्व सेलरोटीको पनि रहेको उहाँको भनाइ छ । विभिन्न जातजाति र समुदायले आफ्नो पहिचान स्थापित गर्न मात्र विगतमा महोत्सवको आयोजना हुँदै आए पनि पछिल्लो समय झापामा पक्का र सेलरोटी महोत्सवसमेत सुरुआत भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !