१३ बैशाख २०८१, बिहिबार

पर्वतमा अवस्थित विश्वकै ठूलो दाबी गरिएको बिशाल ढुंगा महाशिला


महाशिला पर्वत जिल्ला तस्वीर सौजन्य : शान्तराज पौडेल

पृष्ठभूमि : महाशिला गाउँपालिकाको वडा नंं. ५ जोरकाफल र बनपाखे भन्ने बस्तीको बीचमा महाशिला रहेको छ । यसैको नामवाट महाशिला गाउँपालिकाको नामकरण गरिएको हो । पर्वत जिल्लाको महाशिला गाउँपालिकाका प्रवक्ता जिवन विक्रम उचैका अनुसार पहाडी भू-भागमा भएको महाशिलालाई विश्वकै ठूलो बिशाल ढुंगाको रुपमा दाबी गरिएको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा पर्वत जिल्लाको महाशिलालाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको जिम्मा महाशिलालाई पनि दिइएको थियो ।

परिचय

पर्वत जिल्लामा साविकका होश्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी, लुङ्खुदेउराली, कुर्घाका ७ र ८ वडाहरू, तथा फलामखानी गाउँ विकास समितिहरूलाई समेटेर महाशिला गाउँपालिका बनाइएको हो । १ सय ३० मिटर अग्लो शिला एक बिघा जग्गा फैलिएको छ । शिलाको तल्लो भागमा गुफा समेत छ ।

महाशिला महाशिला गाउँपालिकामा रहेको बिशाल महाशिला जमिन बाहिर देखिने भाग १,३०,००० घन मिटर रहेको छ । स्थानीयबासीले यसलाई मालढुङ्गा पनि भन्ने गर्दछन् । पहिले उक्त शिला साविकको लुत्तेदेउराली गाविसकै धुँवाकोटमा थियो । पछि तल झरेर साविकको पाखापानी गाविसमा पुगेर अडिएको हो ।

महाशिला (ढुंगा) एक पटक हिँडेर परिक्रमा गर्दा १ माना चामलको भात पाक्छ । झण्डै दुई चार सय मिटर पैदल हिँडेर परिक्रमा गरेपछि गुफाको चारैतिर घुम्न सकिन्छ । भौगोलिक हिसाबले भिरालो स्थानमा रहेकाले एक पटक फन्को मार्नका लागि १० मिनेटभन्दा बढी समय लाग्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

यहाँ नित्य पूजाआजा हुने गर्दछ भने शिवरात्री, बालचतुर्दशी जस्ता बिशेष पर्वहरुमा भगवान आरोध्यदेव शिवजीको पूजाआजा गर्ने, शत् वीज छर्ने गरिन्छ । यहाँ पूजाआजा गरेमा मनोकामना पूरा हुने, सुस्वास्थ्य तथा दिर्घायू हुन्छ भन्ने भनाई रहि आएको छ । उक्त स्थानमा बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षय तृतीया लगायत चाडपर्वमा मेला लाग्ने गरेको छ ।

शिलामा बालाचतुर्दशी, महाशिवरात्री, रामनवमी, नाग पञ्चमीमा झक्तजनको घुइँचो लाग्नुका साथै मेला लाग्ने गरेको छ । शिलामा पूजा गर्न गुल्मी, पर्वत, बागलुङ, स्याङ्जा लगायतका जिल्लाबाट भक्तजनहरू आउँछन् । हिन्दुधर्म अनुसार शिलालाई भगवान् विष्णुका रुपमा पुजिन्छ । महाशिला पुज्नका लागि देशका विभिन्न ठाउँहरुबाट हरेक एकादशी, औंशी, सक्रान्ति लगायतका चाडपर्वमा धुमधाम मेला लाग्ने मात्र नभई धार्मिक आस्था राख्नेहरु दिनानुदिन आउँदछन् ।

पर्यटन प्रर्वद्धन

विश्वकै ठूलो महाशिला भएकाले यसलाई अवलोकन गर्न जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । लुंखुदेउरालीमा मोटरबाटोको सुविधा पुगेपछि भने पोखराबाट सिधै पर्यटक आउने गरेका छन् । महाशिला गाउँपालिकाले सोही महाशिलामा शिबको सुतेको मूर्ति बनाई विश्वभरका पर्यटक र धार्मिक तीर्थयात्रीहरु भित्रयाउने योजना अघि सारेको छ ।

समस्याहरु

आवश्यक प्रचार–प्रसारकै अभावमा र यसको महत्व देखाउन नसक्दा महाशिलामा आन्तरीक पर्यटकहरु फाटफुट जाने गरेको भएपनि जिल्ला बाहिरका र बिदेशी पर्यटकहरु भने तान्न सकिएको छैन । पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण मानिएको महाशिला दुर्गम गाउँमा भएका कारण उचित-प्रचार प्रसार हुन नसकेको हो ।

ध्यानाकर्षण

महाशिला जस्तो महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तब्यलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारको नेपालपत्रमार्फत ध्यानाकर्षण गर्दै तुरुन्त पहल गर्न जरुरी छ । जसले गर्दा यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाएर पर्यटन प्रर्वद्धन गर्नु आजको आवश्यकता हो ।

कसरी पुग्ने ?

सदरमुकाम कुश्मा बजारबाट करिव ४० किलोमिटरको दुरीमा पर्ने लुंखुदेउरालीमा यो महाशिला रहेको हो ।

यो पनि पढ्नुहोस्
मुस्ताङको ऐतिहासिक पर्यटकीय गन्तव्य लोमान्थाङ दरबार र गुफा क्षेत्र
मनै लोभ्याउने मनाङको पर्यटकीय गन्तव्य थोरङला पास
कास्कीको सुन्दर पर्यटकीय गन्तब्य मौजा होमस्टे
कास्कीको हजारौ वर्ष पुरानो सुन्दर पर्यटकीय गाउँ सिक्लेश
प्याराग्याइडिङको लागि नेपालकै उत्कृष्ट स्याङ्जाको पर्यटकीय स्थल स्वेरक मैदान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !