१९ बैशाख २०८१, बुधबार

कास्कीको हजारौ वर्ष पुरानो सुन्दर पर्यटकीय गाउँ सिक्लेश


सिक्लेश

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा कास्की जिल्लाको सिक्लेश पर्यटकीय क्षेत्रलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको जिम्मा सिक्लेश पर्यटकीय क्षेत्रलाई पनि दिइएको थियो ।

परिचय

कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै गएको कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको हजारौ वर्ष पुरानो गाउँ सिक्लेसको वरिपरिको हरियो वनजङ्गलका कारण चरा र वन्यजन्तुप्रेमी रमाउने गर्छन । यो गाउँमा पुग्नासाथ ढुङ्गाले छाएको एवम् छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमुना बस्ती देख्न पाइन्छ जसलाई हेरेर पर्यटकले आफ्नो यात्राको थकाइ क्षणभरमै बिर्सने गर्छन् ।

स्थानीय जनताको जागरुकतासँगै सरसफाईमा यहाँका सर्वसाधारणले निकै ध्यान दिएका कारण बाटाघाटा तथा घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिनु यहाँको अर्को विशेषता हो । नेपालकै ठूलो गुरुङ बस्तीका रुपमा रहेको यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ ।

महत्व

गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी एवम् विदेशी अनुसन्धाता सिक्लेस आउने गरेका छन् । गुरुङ संस्कृतिको अध्ययनका लागि यहाँस्थित सिक्लेस ईको म्युजियम पनि महत्वपूर्ण अङ्ग बनेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

कला संस्कृति बचाउन यहाँ बेलाबेलामा मेला तथा महोत्सव आयोजना गर्ने गरिन्छ । यस्ता अवसरमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघि सम्म प्रचलित खेल झिझिली, हेकुचे, घुर्राजस्ता खेलका प्रतियोगिता गराउने गरिएको छ । सूचना दिने प्राचीन प्रचलन कटुवाल घोकाउने प्रथा पनि सिक्लेसमा अद्यापि कायमै छ । सङ्ग्रहालयमा गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रुपमा झल्काउने सामग्री देख्न सकिन्छ ।

पर्यटकीय महत्व

पोखरादेखि उत्तरपूर्वमा अवस्थित सिक्लेसमा अधिकांश गुरुङबस्ती छ । गुरुङ कला र संस्कृतिको अध्ययन तथा हिमाली दृश्यावलोकनका लागि सिक्लेसमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् ।

प्राकृतिक सौन्दर्य

सिक्लेसको कला, संस्कृति र प्रकृतिप्रति बढ्दै गएको पर्यटकीय आकर्षण र यहाँ पर्यटकको बसाइलाई लम्ब्याउन गाउँमाथि सिक्लेस पार्क निर्माण गरिएको छ । निर्माणाधीन पार्कबाट लम्जुङ हिमाल, अन्नपूर्ण(२, अन्नपूर्ण(४ का साथै वरिपरिको पहाडी भू-भागको एक साथ दृश्यावलोकन गर्न सकिन्छ । पार्कमा अपनत्वको भावना जागृत गराउन सिक्लेसका प्रत्येक घर कुरियालाई आ–आफ्ना घरबाट एक-एकवटा बिरुवा रोप्न लगाइएको छ ।

जैविक विविधता

सङ्ग्रहालयमा सिक्लेस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बा जस्ता जडीबुटीका बारेमा यहाँ पुग्ने पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गरेका छन् । पर्यावरणीय संरक्षणका लागि गरिएका लाटोकोसेरो महोत्सव जस्ता भिन्न किसिमका महोत्सवका कारण यहाँका स्थानीयवासीमा पर्यावरणलाई जोगाउनुपर्छ भन्ने भावना भित्रैदेखि जागृत भएको पाउन सकिन्छ । आसपासमा पाइने दुर्लभ कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔले र यार्सागुम्बा जस्ता जडीबुटी राखिनुले हेर्न आउने जडीबुटीको अध्येता पनि लाभान्वित हुने गरेका छन् ।

पर्यटकिय सम्भावना

कास्कीको पर्यटकीय गाउँमा सञ्चालित ‘सिक्लेस इको(म्युजियम’ गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धान र अवलोकनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । प्राचीन गुरुङ सभ्यताको विशिष्ट स्थलका रुपमा विकसित सङ्ग्रहालय गुरुङ सभ्यताको जानकारी राख्न चाहने जो कोहीका लागि निकै उपयोगी बन्दै गएको छ ।

सङ्ग्रहालयकै अवलोकनका लागि दैनिक रुपमा पोखरा हुँदै आउने स्वदेशी तथा विदेशी पर्यटकका कारण यहाँको जनजीवनमा पनि महत्वपूर्ण प्रभाव पारेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट निर्माण गरी समुदायमा हस्तान्तरण गरी सञ्चालिते म्युजियममा गुरुङ संस्कृतिका साथै पर्यावरणीय अध्ययन तथा सिक्लेस क्षेत्रमा पाइने विभिन्न जडीबुटी समेतको अध्ययनका लागि स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अनुसन्धाता आउने गरेका छन् ।

कसरी पुग्ने ?

यातायातका साधन हुँदै पोखराबाट लगभग ४ घन्टाको यात्रामा पुग्न सकिन्छ । पोखराको काहुँखोलाबाट लगभग ४० किमीको दूरीमा रहेको सिक्लेसमा यातायातको साधनबाट ढाँडबेसी, काभ्रेखोला, छाचोक, मेल्वो, थाक, तप्राङ, चिप्ली, खिलाङ र पार्चे हुँदै पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्
पोखरा, माछापुच्छ्रे र अन्नपूर्णको दृश्यावलोकन स्थल कास्कीको काहुँ धरहरा
प्याराग्याइडिङको लागि नेपालकै उत्कृष्ट स्याङ्जाको पर्यटकीय स्थल स्वेरक मैदान
स्याङ्जाको ऐतिहासिक धार्मिक स्थल श्रवणकुमार समाधि क्षेत्र र अन्धाअन्धी दह
एसियाकै सबैभन्दा ठुलो तनहुँको प्रसिद्ध पर्यटकीय गन्तब्य सिद्ध गुफा  


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !