२० बैशाख २०८१, बिहिबार

विमानमा चरा ठोक्किएको भ्रम फैलाएकोमा ‘फ्लाई दुबई’ का कन्ट्री र एयरपोर्ट मेनेजरलाई विमानस्थल प्रवेशमा रोक


फ्लाइ दुबई

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानमा चरा ठोक्किएको भ्रमपूर्ण समाचार फैलाएकोमा ‘फ्लाई दुबई’ का कन्ट्री मेनेजर र एयरपोर्ट मेनेजरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

नागरिक उड्डयन प्राधिकरणले हिजो रातीको ‘फ्लाई दुबई’ फ्लाई नम्वर एफजेड ५७६ जहाज काठमाडौँ-दुबई उडानमा चरा ठोक्किएको भनेर भ्रमपूर्ण समाचार फैलाएकोले ‘फ्लाई दुबई’ का कन्ट्री मेनेजर र एयरपोर्ट मेनेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई निजहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारेको हो ।

फ्लाई दुबईका प्रवक्ताले के भनेका थिए ?

यसअघि हिजो राती फ्लाई दुबईले काठमाडौंबाट उड्ने क्रममा आफ्नो विमानमा चरा ठाेकिएकाे बताएको थियो । दुबई मिडिया अफिसले फ्लाइ दुबई प्रवक्तालाई उधृत गर्दै सामाजिक संजाल ट्वीटरमा यस्तो जानकारी दिएको थियो ।

फ्लाई दुबईका प्रवक्ताको भनाईलाई उधृत गर्दै दुबई मिडिया अफिसले लेखेको छ, ‘काठमाडौं विमानस्थलबाट दुबई इन्टरनेशनल एयरपोर्ट जाँदै गरेको फ्लाई दुबई उडान एफजेड ५७६ (FZ 576) काठमाडौंबाट उड्ने क्रममा चरा ठोक्किएको थियो ।’

फ्लाई दुबईका प्रवक्तालाई उद्धत गर्दै दुबई मिडिया अफिसले सामाजिक संजाल ट्वीटरमा आज बिहान लेखेको लेखेको थियो, ‘हाम्रो योग्य चालक दलले उच्च सञ्चालन प्रक्रियाहरू पुरा गरेर विमान अगाडि बढ्यो र इन्जिन सामान्य अपरेटिङ प्यारामिटरहरूभित्र रहेको सुनिश्चित गरेपछि उडान अगाडि बढ्यो ।’

फ्लाई दुबईका अनुसार विमान दुबईमा सामान्य रूपमा अवतरण भएको थियो र विमानलाई अव जाँच गरिनेछ । फ्लाई दुबईले आफ्ना यात्रु र चालक दलको सुरक्षा आफ्नो प्राथमिकता रहेको भन्दै यात्रा तालिकामा भएको परिवर्तनको कारण आफ्ना यात्रुहरूलाई पर्न गएको असुविधाको लागि आफू क्षमाप्रार्थी रहेको बताएको छ ।

पर्यटनमन्त्री सुदन किरातीको स्पष्टोक्ति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राविधिक समस्या देखिएको ‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए राति उडेलगत्तै फ्लाई दुबईको जहाजबाट ठूलो आवाजसहित आगोको झिल्का देखिएको थियो । पर्यटनमन्त्री किरातीले भने– “जहाजमा चरा ठोक्किएको कुरा अहिलेसम्म प्रमाणित नभएको सबैमा स्पष्ट गर्दछु ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणको स्पष्टोक्ति

यसैबीच, नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति काठमाडौँबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाजमा चरा ठोक्किएको अहिलेसम्म पुष्टि नभएको बताए । “विमानस्थलमा निरीक्षणका क्रममा यसको पुष्टि हुन सकेको छैन”, उनले भने । यसअघि फ्लाई दुबईले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्विट गरेको थियो ।

“नेपालमा दर्ता नभएको जहाज भएकाले फ्लाई दुबईको जहाजको अध्ययन सम्बन्धित मुलुकले गर्नेछ । नेपालका तर्फबाट जानकारी गराइसकेका छौँ, जहाजमा चरा ठोकिएको पुष्टि भएको छैन, के भएको हो भन्ने विषय अनुसन्धानका क्रममा पत्ता लाग्ला । सहजीकरणका लागि प्राधिकरण तयार छ”, प्रवक्ता निरौलाले भने ।

विमानस्थलको धावनमार्ग र आसपास निरीक्षण गर्दा चरा नभेटिएकाले घटना के कारणले भएको हो भन्ने अहिले पुष्टि गर्न नसकिने उनको भनाइ छ । प्राधिकरणका अनुसार एफजेड ५७६ जहाजको पाइलटले असामान्य अवस्थाबारे विमानस्थललाई जानकारी गराएका थिए । त्यसपछि प्राधिकरणले सबै आपत्कालीन प्रावधानको प्रबन्ध गरेको थियो ।

उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आवश्यक तयारी गरिएको थियो । तर, पाइलटले मेनुअल परीक्षणपछि उडानलाई निरन्तरता दिने निर्णय लिएपछि जहाज गन्तव्यतर्फ उडेर सकुशल अवतरण भएको प्राधिकरणले जनाएको छ । जहाजको अवस्थाबारे कम्पनीले प्राधिकरणलाई रिपोर्टिङ गर्नेछ । तत्पश्चात् मात्रै जहाजमा भएको समस्याको कारण खुल्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्

‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन : पर्यटनमन्त्री किराती

ठूलो दुर्घटनाबाट बचेर अन्तत: गन्तव्यमै पुग्यो फ्लाइ दुबईको विमान

काठमाडौंबाट दुबई उड्ने क्रममा विमानमा चरा ठाेकिएकाे थियाे : फ्लाई दुबई

फ्लाई दुबईको जहाजले किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन ?

इन्जिन फेल भएर आगलागी भएको फ्लाइ दुबईको विमानलाई दिल्लीमा अवतरण गराइने तयारी

इन्जिन फेल भएर आगलागी भएको भनिएको फ्लाइ दुबईको विमान गन्तव्यतर्फ नै लाग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !