२१ बैशाख २०८१, शुक्रबार

७५ फिट अग्लो नेपाल आमाको विशाल मूर्ति बन्दै


नेपाल आमा

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ ।

मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग रु १० करोड ८१ लाखमा ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले मूर्तिको नमूना तयार गरी कार्य अगाडि बढाएको छ । निर्माण कम्पनीले नेपाल आमाको निर्माण हुने मूर्तिका तीन वटा नमूना तयार गरेको छ ।

काठमाडौँबाट आउने विज्ञ टोलीले मूर्तिको नमूनाको अवलोकन, अध्ययन र विश्लेषण गरी तयार गरेको प्रतिवेदनका आधारमा मूर्तिका एउटा मूर्ति निर्माणका लागि छनोट गरिने महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामका सचिव बिर्खबहादुर मल्लले बताए ।

उहाँका अनुसार मूर्तिको फाउन्डेसनमा बन्ने कमलको फूललगायतको संरचना निर्माणको कार्य निर्माण कम्पनीले पूरा गरेको छ । सम्झौता भएको साढे तीन वर्षभित्र मूर्ति निर्माण गर्नुपर्ने छ ।

बालसन्त जगद्गुरुले नेपाल पैदलयात्रा गरेर सङ्कलन गरेको रु दुई करोड, भीमदत्त नगरपालिकाले रु ५० लाख,प्रदेश सरकारको रु ५० लाख र सङ्घीय सरकारको रु ५० लाख मूर्ति निर्माणका लागि लगानी गरिएको छ ।

अष्टधातुबाट बनाइने नेपाल आमाको मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्ने र अहिले २२ टन मात्रै तामा रहेको छ । साढे तीन वर्षमा मूर्ति निर्माण हुने छ । निर्माण कम्पनीले भने दुई वर्ष नौ महिनामा मूर्ति निर्माण गरिसक्ने योजना बनाएको छ । मूर्ति निर्माणका लागि विभिन्न प्रकृतिका १२ हजार श्रमिक लाग्ने छन् ।

तीन रोपनी जग्गामा मूर्ति निर्माण गरिने छ । मूर्तिको दाँयाबाँया गाई र बाघको मूर्ति, नेपालको नक्सा, नेपालका राष्ट्रिय प्रतीक चिह्न र नेपालको सबै तीर्थको प्रतिनिधित्व हुने गरी सङ्ग्रहालयसमेत निर्माण गरिने छ ।

चार वर्षअघि जगद्गुरु मोहनशरण देवाचार्यले भम्केनी धामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउका लागि मौनव्रतदेखि नेपालभर पैदल भ्रमण गर्नुभएको थियो ।

जगद्गुरुले विसं २०७२ ५ वैशाख भम्केनीदेखि नेपाल आमाको मूर्ति निर्माणका लागि महाकालीदेखि मेचीसम्म पैदलयात्रा गरेका थिए । जगद्गुरुले महाकाली–मेची पैदल यात्राका दौरानमा रु एक करोड ८४ लाख ७२ हजार सङ्कलन गरेका थिए ।

स्थानीय खगेश्वर केसीले पौराणिक शक्तिपीठको रूपमा रहेको भम्केनीलाई विकसित गराउनका लागि चार वर्षदेखि स्थानीयवासी जागरुक भएको बताउनुभयो । उनले धार्मिक पर्यटकीय सम्भावना बोकेको भम्केनी ओझेलमा परेकाले विकासका लागि अनुष्ठान गरिएको बताए ।

भम्केनी धाममा रहेका कुण्डमा भकभक गरेर पानी निस्कने भएकाले यसको नाम भम्केनी रहन गएको उहाँको भनाइ छ । धार्मिकजनका अनुसार पौराणिककालमा भम्केनीमा छ कुण्ड थिए । तीमध्ये पाँच पाण्डव र एक द्रौपदीको कुण्ड थियो ।

भीमले एक द्रौपदीका लागि नुहाउन कुण्ड बनाएको भम्केनी धामका अध्यक्ष कृष्णबहादुर सिंहले बताए । अहिले पनि भम्केनीमा पौराणिक छ कुण्ड रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !