२६ बैशाख २०८१, बुधबार

दुई दशकपछि खेलमैदान खुल्ला


पर्वत

२५ असोज, पर्वत । करीब दुई दशकसम्म सार्वजनिक कार्यक्रम हुन नसकेको यहाँको एक खेलमैदान सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कुश्मा नगरपालिका–७ गोदामस्थित खेलमैदान सर्वसाधारणका खुल्ला गर्ने नगरपालिका र नेपाली सेनाबीच सहमति भएको छ ।

सेनाको गोदाम ब्यारेक केही समयभित्रै कुश्मा नगरपालिका– ३ दुर्लुङमा सर्न लागेको छ । ब्यारेक सर्ने भएपछि खेलमैदान सर्वसाधारणका लागि खुल्ला गर्न नेपाली सेना सहमत भएको हो । करीब २७ रोपनीमा फैलिएको सो मैदानमा सशस्त्र द्वन्द्वको समयमा सर्वसाधारणका लागि प्रवेश बन्द गरिएको थियो । “सेनाले लिएपछि खेलकूद प्रतियोगिता र सभा सम्मेलन गर्न रोक लगाइएको थियो”, वडाध्यक्ष सुवास पौडेलले भन्नुभयो ।

नगरपालिकाले बजेट विनियोजन गरेर सो मैदान सम्याएको छ । सो मैदानको जग्गा नेपाल प्रहरीको नाममा रहेको छ । सत्ताइस रोपनीमध्ये १२ रोपनी जग्गा सम्याएर खेल मैदान बनाइएको छ । खेलमैदान सम्याएपछि यहाँ खेलको अभ्यास र प्रतियोगिता आयोजना गर्न सहज भएको नगर कार्यपालिकाका सदस्य परशुराम पुरीले बताउनुभयो । खेलमैदान सर्वसाधारणका लागि खुल्ला गर्न केही समयअघि नगरप्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, केवलजङ्ग गुल्मका गुल्मपति शिव पौडेल तथा कुश्मा– ४, ५, ६ र ७ नं वडाका वडाध्यक्षबीच सहमति भएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !