२२ बैशाख २०८१, शनिबार

नवौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एपिएफलाई स्वर्ण


एपिएफलाई स्वर्ण

पोखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको स्वर्णपदक विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मीलाई हराउँदै एपिएफले स्वर्ण जितेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । सडन डेथमा आर्मीलाई ६-५ ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई आज साँझ ‘सडन डेथ’मा पराजित गरी एपिएफ च्याम्पियन बन्दै स्वर्ण आफ्नो पोल्टामा पार्न सफल भयो । खेलको नियमित तथा थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएकामा पेनाल्टीमा समेत समान चार-चार गोल भएपछि खेल ‘सडन डेथ’मा पुगेको हो ।

सडन डेथमा एपिएफका विश्वास उदासले निर्णायक गोल गर्दै टोलीलाई स्वर्ण दिलाए । आर्मीका सुमन अर्यालको प्रहार एपिएफका गोलरक्षक राजु नगरकोटीले रोक्दा सेनाले रजत पदकमा चित्त बुझाउन विवश बन्यो ।

पेनाल्टी सुटआउटमा एपिएफका लागि नवीन लामा, आवास लामिछाने, सुदील सिर्खाकार, गोलरक्षक राजु नगरकोटी र रितेश धिमाल गोल गर्दा सनिस श्रेष्ठको प्रहार बाहिरिएको थियो । यसैगरी आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा र विवेक बस्नेतले गोल गर्दा सुमन अर्याल र सेसेहाङ आङ्देम्बेको प्रहार एएिफका गोल किपर नगरकोटीले उत्कृष्ट बचाउ गरे ।

प्र्रतियोगिताको आयोजक गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा तृतीय हुँदै कास्यपदक पायो । राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा प्रतियोगिताका ११ वटै टोलीले सहभागिता जनाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !