२२ बैशाख २०८१, शनिबार

नवौँ राष्ट्रिय खेलकुद : २०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण


शिवराज पार्की

अन्नपूर्ण (कास्की । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रङ्गशालामा बिहीबार पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१ दशमलव ९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । एपिएफकै आशिष चौधरीले २२ दशमलव शुन्य पाँच सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक हात पारे । त्रिभुवन आर्मी क्लबका युवराज विकले २२ दशमलव ५० सेकेन्डमा पूरा गर्दै कास्य पदक प्राप्त गरे ।

महिलातर्फ लुम्बिनीकी निशाले २५ दशमलव २४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । एपिएफकी रमिताकुमारी थारूले २५ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६ दशमलव ५२ सेकेन्डमा पूरा गर्दै कास्य पदक प्राप्त गरे ।

टेनिसमा आर्मीलाई दुई, गण्डकीलाई एक स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको व्यक्तिगत इभेन्ट तर्फ त्रिभुवन आर्मी क्लबले दुई र आयोजक गण्डकी प्रदेशले एक स्वर्ण जितेका छन् ।

पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको फाइनल खेलमा आर्मीले मिक्स डबल्स र महिला डबल्स तर्फ स्वर्ण जितेको हो । गण्डकीले ‘पुरुष डबल्स’ मा स्वर्ण जितेको हो ।

महिला डबल्समा आर्मीका अविलाशा विष्ट र इरा रावतको जोडीले स्वर्ण पदक जित्नुभएको हो । उनीरुको जोडी बागमती प्रदेशका रायना शाह र प्रकृति श्रेष्ठको जोडीलाई ६–३, ६–४ को सेटमा पराजित गरेका हुन् ।

त्यसैगरी मिक्स डबल्सतर्फ आर्मीका प्रनभ खनाल र अविलाशा विष्टको जोडीले स्वर्ण जितेका हुन् । खनाल र विष्टको जोडीले नेपाल पुलिसका आर्यन गिरी र आयशा डोल्कर गुरुङको जोडीलाई ६–४, ६–० सेटको पराजित गरेका हुन् ।

यसैगरी ‘पुरुष डबल्स’तर्फ गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले आर्मीका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गर्दै स्वर्ण जिते । गण्डकीका खड्का नेपालको पहिलो वरियताका खेलाडी हुन् भने सेनाका खनाल द्वितीय वरियतामा छन् । खेलको पहिलो सेट गण्डकीले ७–५ सेटले जित्दा दोस्रो सेट भने ४–६ मा गुमायो । ‘सुपरटाइ’मा गण्डकीले १०–८ अङ्कले गण्डकीले नतिजा आफ्नो पक्षमा ल्यायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !