२१ बैशाख २०८१, शुक्रबार

नवौँ राष्ट्रिय खेलकुद : चुनौती पन्छाउँदै भव्य उद्घाटनसम्म…


भव्य उद्घाटनसम्म

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशले विसं २०७६ को वैशाखमै पाएको हो । हालको लुम्बिनी प्रदेशको नेपालगञ्जमा भएको प्रतियोगिताको आठौँ समापन समारोहमा नवौँ आयोजनाको जिम्मेवारीसहितको खेलकुदको झण्डा बोकेर गण्डकी प्रदेशको टोली पोखरा आएको थियो ।

विसं २०७७ फागुन अन्तिम साताका लागि नवौँको मिति तय भएर तयारी सुरु गर्दा विश्वव्यापी फैलिएको कोरोना महामारीले नेपाल पनि अछुतो रहन सकेन । सम्पूर्ण देश आक्रान्त बन्यो । राष्ट्रिय खेलकुद गर्ने वातावरण बनेन भने सरकारको खेलकुदभन्दा जनताको जीवन बचाउने प्रमुख जिम्मेवारी आयो । जसका कारण तोकिएको मितिमा राष्ट्रिय खेलकुद हुन सकेन ।

विसं २०७८ को माघ-फागुनका लागि पुनः तयारी सुरु गर्दै गर्दा कोभिडको प्रभाव कायमै रह्यो । विसं २०७९ जेठ २२ देखी २८ गतेसम्म अर्कोपटक मिति तोकियो । केही तयारीका काम भए पनि दोस्रो स्थानीय तह निर्वाचनका कारण सो समयमा पनि राष्ट्रिय खेलकुद सम्भव भएन । हरेक दुई-दुई वर्षमा हुने राष्ट्रिय खेलकुद पटक-पटक मिति सर्दै गएपछि प्रतियोगिताका सम्बन्धमा आशङ्का कायमै रह्यो । विगतमा १५ वर्षसम्म पनि राष्ट्रिय खेलकुद नभएकाले आशङ्का गर्नेलाई बल पुगेको थियो ।

सरकारले गत जेठ दोस्रो साता असोज २८ देखी कात्तिक ३ गतेसम्म नयाँ मिति घोषणा गरेपनि धेरैले प्रतियोगिता हुनेमा शङ्का व्यक्त गरेका थिए । निर्वाचनको सम्मुख साथै दसैँ, तिहार जस्ता ठूला चाडपर्वको बीच भएकाले पनि आशङ्का गर्नेहरुलाई बल पुग्यो । मौसमको चुनौतीका कारण पछिल्लो सातासम्म पनि प्रतियोगिता हुनेमा आशङ्का कायमै रहेको थियो ।

तर धेरैको आशङ्कालाई चिर्दै र चुनौतीको सामना गरेर, अविश्वासलाई विश्वासमा परिणत गर्दै नेपाली खेलकुदको कुम्भ मेलाको आज भव्य समुद्घाटन सम्पन्न भएको छ । सुःखद पक्ष प्रतियोगिता उद्घाटनका दिन खुलेको माछापुच्छ्रेले सबैलाई खुःसी दिएको थियो । पोखरा रङ्गशालाको १६ हजार पाँच सय दर्शक क्षमताको भरिभराउ प्यारापिटका दर्शकलाई साक्षी राखेर नवौँको उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य उद्घाटन गरेर राष्ट्रिय खेलकुदको शुभारम्भ गरे ।

उद्घाटन समारोहमा प्रस्तुत मार्चपास, झाँकी, सांस्कृतिक कार्यक्रम र नृत्यले सम्पूर्ण देशलाई एकताबद्ध बनाएको सन्देश दिएको छ । पूर्वमेचीदेखि महाकालीसम्मका विभिन्न जाति र समुदायका देशप्रेमका गीत र सङ्गीत रङ्गशालामा गुञ्जिदा सबैलाई उत्साहित पार्यो । प्रतियोगितालाई रोचक र भव्य बनाउन गरिएको आतिशबाजीले सम्पूर्ण पोखरेली र खेलप्रेमीको ध्यान खिच्न सफल भयो ।

प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले अन्तिम घडीसम्म पनि प्रतियोगिताका लागि चुनौती रहे पनि भव्य उद्घाटन गर्न पाउँदा खुःसी लागेको बताए । उनले केही कमजोरी रहेपनि मुलभूत रुपमा प्रतियोगिताको भव्य तयारी भएको र उद्घाटन समारोहले सबैलाई हर्षित बनाएको उल्लेख गरे ।

उनले भने, “राष्ट्रिय खेलकुदका लागि थुपै चुनौतीहरु रहे पनि त्यससँग जुध्दै भव्य उद्घाटन गर्न सफल भएका छौँ । पछिल्लो समय अनपेक्षित वर्षाको चुनौती पनि रहेन । सात महिनाको तयारीले प्रतियोगिता सम्भव भएको हो ।” गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँको आयोजनाले पोखरेलीहरु हर्षित छन् । सँगसँगै नवौँका लागि बन्नुपर्ने पौडी, सुटिङ र हक्कीका खेल पूर्वाधार नबन्दा उनीहरु निरास पनि छन् ।

पोखरा रङ्गशालामा खेल पूर्वाधार नथपिँदा आफूहरु चिन्तित बनेको अग्रज खेलाडी हरिप्रसाद पराजुलीले बताए । यसको समाप्तिपछि बाँकी खेल पूर्वाधार निर्माणका लागि सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गतका केही खेल असोज २३ देखि नै सुरु भएकामा अधिकांश खेल आजदेखि प्रदेशका आठ जिल्लामा सञ्चालन भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !