२० बैशाख २०८१, बिहिबार

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक १३०० सुरक्षाकर्मी खटिने


नवौँँ राष्ट्रिय खेलकुद

कास्की । गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको नवौँँ राष्ट्रिय खेलकुदमा सुरक्षा प्रबन्धलाई विशेष महत्वका साथ व्यवस्थापन गरिएको छ । खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने गरी सुरक्षा कार्ययोजना बनाइएको छ ।

खेलाडी, दर्शक र पाहुनाले सुरक्षाको पूर्ण अनुभूति गर्ने गरी सुरक्षालाई ध्यान दिइएको छ । शुक्रबारदेखि कात्तिक ३ गतेसम्म मुख्य गरी पोखरा केन्द्रित भएर गण्डकी आठ जिल्लामा हुने प्रतियोगितामा आठ हजार हाराहारी खेलाडी, प्रशिक्षक र अफिसियल गरी दश हजार हाराहारीमा सहभागिता हुने भएपछि सुरक्षालाई चुस्त बनाउन यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई त्रुटिरहित ढङ्गले खेलको सुरक्षार्थ खटिन र सम्भावित दुर्घटना तथा सुरक्षा चुनौतीलाई मध्यनजर गरी समयमै खबर गराउन निर्देशनसमेत गरिएको प्रहरीले जनाएको छ । सबै खेलस्थल, उद्घाटन तथा समापन समारोह, रङ्गशालाको प्रवेशद्वार, खेलाडी बास बसेको होटललगायतका स्थलमा विशेष उपकरणसहितका सुरक्षाकर्मी परिचालन गर्ने गरी संयुक्त सुरक्षा योजनाअनुसार सुरक्षा प्रबन्ध मिलाइएको नवौँँ राष्ट्रिय खेलकुद सुरक्षा उपसमितिका संयोजकसमेत रहनुभएका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले बताए ।

प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसहित नेपाली सेनाले समेत सुरक्षा दिनेछन् । खेलस्थल र रङ्गशालामा जनपथ र सशस्त्र प्रहरी सँगसँगै परिचालित हुनेछ भने सेनाले अतिविशिष्ट व्यक्तिको सवारीमा सुरक्षा प्रबन्ध गर्नेछ । प्रहरी प्रमुख जोशीका अनुसार प्रतियोगिताको उद्घाटनदेखि समापन समारोहसम्मका सात दिन प्रतियोगिता हुने आठ जिल्लामा दैनिक एक हजार एक सय जनपथ प्रहरी र दुई सय सशस्त्र गरी एक हजार तीन सय प्रहरी परिचालन हुनेछन् ।

यसबाहेक आवश्यकता अनुसार थप प्रहरी परिचालन गर्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालयमा २५ जनाको टोली ‘स्टाण्ट बाई’ तैथानीमा रहने र थप मद्दत परेको खण्डमा तुरुन्त परिचालित हुने व्यवस्था गरिएको छ ।

“राष्ट्रिय खेलकुदको सुरक्षामा कुनै कमी नरहने गरी संयुक्त सुरक्षा योजना तयार पारेर कार्यान्वयन गरेका छौँ ।” गण्डकी प्रदेश प्रहरी प्रमुख जोशीले भने”, खेलस्थलको र रङ्गशालाको सुरक्षा, भिभिआइपी सवारी, ट्राफिक व्यवस्थापन लगायतलाई ध्यान दिएर सुरक्षा प्रदान गर्नेछौँ ।”

प्रहरीले ठाउँ ठाउँमा मेटल डिटेक्टर, सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ । पोखराबाहेक अन्यत्र खेल हुने बाहिरी जिल्लामा समेत जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर एउटा संयुक्त सुरक्षा योजना तयार भएकाले सोहीअनुसार सुरक्षा व्यवस्था गरिने जनाइएको छ ।

राष्ट्रिय खेलकुदका लागि आम नागरिकको समर्थन रहेकाले कुनै ‘सुरक्षा थ्रेट’ भने नरहेको आकलन प्रहरीको छ । “औपचारिक उद्घाटन अघिनै केही खेल अहिले चलिरहेको छ, हरेक खेल भइरहेको ठाउँमा नेपाल प्रहरीको उपस्थिति छ । अफिसरको कमाण्डमा रहने सुरक्षा टोलीले खेलस्थलमा सुरक्षा दिएको छ ।” सुरक्षा उपसमितिका संयोजकसमेत रहेका प्रहरी प्रमुख जोशीले भने ।

नवौँँको सुरक्षाका लागि गठित उपसमितिमा प्रहरी प्रमुख जोशीसहित सशस्त्र प्रहरीका एसएसपी, जिल्ला प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक, नेपाली सेनाका कर्णेल, महानगरका सुरक्षा महाशाखा प्रमुख, खेलकुदका पदाधिकारी रहेका छन् ।

नवौँँको समग्र सुरक्षा कमाण्ड प्रदेश प्रहरी प्रमुख जोशीले गर्ने भए पनि फिल्डमा खटिएर हेर्न र समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज पन्त तोकिएका छन् । उनले नै अन्य सुरक्षा निकायसँग समन्वय र रिर्पोटिङ गर्नेछन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख एवं सुरक्षा उपसमितिका सचिव लक्ष्मण योगीले सुरक्षाका लागि रङ्गशाला र अन्य खेलस्थलको प्रवेशद्वारमा सिसिटिभी जडान गरिएको बताए । राष्ट्रिय खेलकुद परिषद्बाट निजी सुरक्षा गार्ड, स्वयमंसेवक परिचालन गरिएको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !