२३ बैशाख २०८१, आइतबार

सन्दीपविरुद्ध उजुरी दिने युवतीको दुईवटा जन्मदर्ता, नाबालिग नभएको दाबी


सन्दीप लामिछाने पक्राउ फाइल फोटो

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरीको दुईवटा जन्मदर्ता भएको र नाबालिग नभएको दाबी गरिएको छ ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जिल्ला अदालत काठमाडौं परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै युवती नाबालिग नभएको दाबी गरेका हुन् । अदालतमा बयान दिने क्रममा लामिछानेले न्यायाधीशसामू आरोप लगाउनेले आफूसँगको भेटका क्रममा १९ वर्ष उमेर पुगेको भनेको बताएका थिए ।

यस्तै वकिल घिमिरेले अध्ययन प्रयोजनका लागि किशोरीले उमेर घटाएर अर्को जन्मदर्ता बनाएको पाइएको दाबी गरेका छन् ।यस्तै अर्का अधिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् ।

लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । म्याद थपअघि सन्दीपले आफू निर्दोष रहेको दावी समेत गरेका थिए । अधिवक्ता घिमिरेका अनुसार इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको वैकल्पिक कानुनी उपचार पनि हुन्छ कि हुँदैन भनेर समेत प्रश्न गरेमा जवाफ दिंदै न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । यो म्याद उनी पक्राउ परेको मिति असोज २० गतेदेखि नै लागु हुनेछ ।

बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई गत असोज २० गते बिहीबार प्रहरीले पक्राउ गरेको थियो । कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई गत भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

यो पनि पढ्नुहोस्

सन्दीपलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

पक्राउ परेपछि सन्दीपले भने- निर्दोष छु, अनुसन्धानमा सहयोग गर्छु

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !