१४ बैशाख २०८१, शुक्रबार

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ


सन्दीप लामिछाने पक्राउ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । लामिछाने त्रिभुवन विमानस्थलबाटै आज पक्राउ परेका हुन् ।

नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि लामिछाने पक्राउ परेका हुन् । उनी अमेरिका हुँदै कतारको दाेहा ट्रान्जिट भएर बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए ।

अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे । लामिछानेले अध्यागमनका अधिकारीहरूलाई आफू अमेरिकाबाट आएको बताएका छन् ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । जिल्ला अदालत, काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो । क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका बेला उनीबिरुद्ध उजुरी परेको थियो ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !