२२ बैशाख २०८१, शनिबार

कप्तानबाट सन्दीपलाई निलम्बन गर्ने क्यानको तयारी, आकस्मिक बैठक बस्दै


सन्दीप लामिछाने

काठमार्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ । लामिछानेविरुद्ध एक किशोरीले हिजो मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो ।

सन्दीपविरूद्द प्रहरीमा जबरजस्ति करणीको जाहेरी परेपछि क्यानले आकस्मिक बैठक बोलाएको छ । आरोप प्रमाणित नभएसम्म उनलाई दोषी ठहर गर्न नमिल्ने भएपनि आज बस्ने क्यानको बैठकले उनको कप्तानी तत्काललाई ‘निलम्बन’ मा राख्न सक्ने छ ।

गत ५ भदौमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको थियो । प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही प्रकारको भएका कारण निलम्बन गर्न लागिएको क्यानक एक अधिकारीले बताए ।

सन्दीप अहिले क्यारेबियन क्रिकेट लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । केन्या भम्रणबाट सन्दीप सिधै वेस्ट इन्डिज गएका थिए । केन्याबाट नेपाली टोली भने आज नेपाल फर्कंदै छ ।

गम्भीर आरोपमा मुछिएको हुँदा मुद्दा किनारा नलागेसम्म उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय लिगहरु गुमाउन सक्नेछन् । सन्दीपविरुद्ध एक किशोरीले जाहेरी दिएपछि उनको क्रिकेट करिअर जोखिममा परेको हो ।

क्यानले गत वर्षको मंसिरमा सन्दीपलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको थियो । आरोप प्रमाणित भएको खण्डमा सन्दीपमाथि १२ वर्षसम्म जेल सजाय हुनसक्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !