२५ बैशाख २०८१, मंगलबार

टी-२० क्रिकेट सिरिजमा नेपाल युएईसँग पराजित


नेपाल ओमान क्रिकेट

काठमाडौँ । चारदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएइ) सँग पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको हो ।

एक सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६७ रनमा समेटियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रनको योगदान दिए । ३३ बल खेलेका उनले पाँच चौकाको मद्दतमा ४१ रन जोडेका हुन् ।

त्यस्तै लोकेश बमले २१ बलमा ३३ रन जोडे । उनले दुई चौका र दुई छक्का प्रहार गरे । आसिफ शेखले २९ बलमा ३४ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्लले १९ बलमा २२ रन बनाउदा दुई चौका र एक छक्का हिर्काए । आरिफ शेखले ११ रन र शरद भेषावकले १० रन जोडे ।

युएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई विकेट लिए भने जुनैद सिद्धिकीले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १९२ रन जोड्यो । युएईका लागि चिराग सुरीले अविजित सर्वाधिक ८४ रनको योगदान गरे ।

उनले पाँच चौका र पाँच छक्का प्रहार गरे । रोहन मुस्ताफाले ३५ बलमा ४९ रन बनाए । उनले पाँच चौका र दुई छक्का हिर्काए । त्यस्तै मोहमद वासिमले १३ बलमा २२ रन जोडे । उनले एक चौका र दुई छक्का प्रहार गरे । मोहमद बुटाले १४ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए । नेपालले हिजो भएको पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालले चार देश सम्मिलित टी ट्वान्टी सिरिजमा अन्तिम खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !