१२ असार २०८१, बुधबार

मुलुकलाई निकास दिन नागरिक समाजको राजनीतिक नेतृत्वलाई आग्रह


मुलुकलाई निकास दिन नागरिक समाजको राजनीतिक नेतृत्वलाई आग्रह

काठमाडौँ । साहित्यिक एवम् प्राज्ञिक छलफल हुने नेपाल प्रज्ञा प्रतिष्ठानको आँगन । रुखको फेदमुनी केही सामान्य कुर्सी छन् । कुर्सीमा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लहरै बसेका छन् ।

उनीहरुको माथि तुल टागिएको छ ‘वुहद नागरिक आन्दोलन’ । नागरिक समाजले आज आयोजना गरेको कार्यक्रममा नागरिकका तर्फबाट नेतालाई प्रश्न गरियो । नागरिकको प्रश्नको कठघरामा शीर्ष नेताले सकेसम्म जवाफ दिने प्रयास गरे ।

नागरिकका केही प्रश्नको उत्तर खोज्ने ध्येयका साथ आफूहरुले खुल्ला आकाशमुनी प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई निम्त्याएको भन्दै प्राध्यापक खनालले कार्यक्रम शुरु गरे ।

दोस्रो जनआन्दोलनको क्रममा नागरिक समाजले खेलेको भूमिकको उच्च प्रशंसा गर्दै एमाले नेता नेपालले संविधान, सङ्घीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि पुनःनागरिक समाजको साथ र सहयोग जरुरी रहेको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले स्वायत्त पार्टीले निर्भकताका साथ गरेको निर्णयलाई सर्वोच्च अदालतको फैसलाले समस्या पारेको उल्लेख गरे ।

देश र जनताको पक्षमा निरन्तर इमान्दारी पूर्वक लागेको भन्दै उनले आफूलाई कुनै पनि प्रकारको डर समेत नरहेको स्पष्ट पारे । पार्टीभित्रको मूल मान्छेले नै पार्टीको विधान मिच्ने काम गरेको भएपनि नेता नेपालले नेपाली कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रणाली र विधिमा हिडाउन आफू प्रयासरत रहेको बताए ।

प्राध्यापक खनालले राजनीतिक पृष्ठभूमि बाध्दै केही प्रश्नसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई बोल्ने पालो दिए । अध्यक्ष दाहालले सरकारलाई आफनो पार्टीले दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताए ।

प्रतिनिधिसभाको विघटनपछि आन्दोलनमा रहेका प्रमुख राजनीतिक दलबीचमा सहकार्य हुने वित्तिकै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता र नयाँ सरकारको खाकासमेत आउने उनको भनाइ थियो ।

जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुरले आफूले उठाएको माग सम्बोधन गराउने अवस्थामा आफूहरु मुलुकलाई निकास दिन तयार रहेको बताए । अध्यक्ष ठाकुरले मुलुकलाई समस्यामा परेको बेला आफूले नै निकास दिने गरेको स्मरण गरे ।

कांग्रेसका नेता डा. रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने बताए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन आए कांग्रेसले उहाँलाई साथ नदिने र अविश्वासको पक्षमा मतदान गर्ने उल्लेख गरे ।

नेता रिजालले प्रधानमन्त्रीसँग संसद्को बहुमत नरहेको भन्दै माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि नयाँ प्रक्रिया शुरु हुने स्पष्ट पारे । उनले राजनीतिक परिस्थितिको मूल्याङ्कन गरेर कांग्रेसले देश र जनताको पक्षमा उचित निर्णय लिने जानकारी दिए ।

मुलुकको राजनीतिलाई सही दिशामा लैजान राजनीतिक नेतृत्वले शीघ्र पहल गरोस् भन्ने आग्रह गर्दै नागरिक समाजका तर्फबाट यस्ता कार्यक्रम निरन्तर अगाडि बढ्ने प्राध्यापक खनालको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !