२३ बैशाख २०८१, आइतबार

आज माघ १६ गते, विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै


शहीद दिवस

काठमाडौँ । आज माघ १६ अर्थात् शहीद दिवस । आज शुक्रबार देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति उच्च सम्मान गर्दै देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।

प्रजातन्त्र स्थापनाको ५ वर्षपछि अर्थात २०१२ सालदेखि राणा शासन विरुद्ध सहादत प्राप्त गरेका शहीदको सम्झनामा यो दिव मनाउन थालिएको हो । नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ ।

वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो ।

निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ ।

देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई शहीद दिवशको रुपमा मनाइएको हो ।

विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भनेे माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत मुख्य दलका शिर्ष नेताहरुले शहीद दिवसको शुभकामना सन्देश दिएका छन् ।

२०१२ सालदेखि शहीद दिवस मनाउन थालिएपनि शहीदको यकिन तथ्याङ्क भने सरकारसँग छैन । आवश्यक मापदण्डबिना हचुवाका भरमा शहीद घोषणा गर्दा वास्तविक शहीदप्रति अपमान महसुस भएको शहीद परिवारको गुनासो छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !