२५ बैशाख २०८१, मंगलबार

कृमि छिद्र (Wormhole) बारेमा उपयोगी जानकारी


कृमि छिद्र
Gopal Bhandari
गोपाल भण्डारी

कृमि छिद्र (Wormhole) बारेमा उपयोगी जानकारी ! विज्ञान कथाहरूका परिकल्पनाकारहरू ब्रम्हाण्ड पलभरमै यात्रा गर्न सकिने यन्त्रहरूको विकास गर्न सम्भव छ भनेर वर्णन गर्न पनि पछि पर्दैनन् । यही मानवको पलभरमा यात्रा गर्ने सपनालाई पूरा गर्ने यन्त्र हो – कृमि छिद्र अर्थात् वर्म होल (Wormhole) । अहिलेको वैज्ञानिक युगमा त्यस्ता कुन गुणहरूले यस्तो अचम्मको यन्त्रको निर्माण सम्भव छ, चर्चा गर्नु उचित होला ।

सर्वप्रथम हामीले कृमि छिद्रको निर्माणमा सहयोग पुयाउने अवयवको बारेमा जान्नु आवश्यक छ । एउटा जान्नैपर्ने आधारभूत विषय हो – कृष्ण छिद्र (Black Hole)ब्ल्याक होल त्यस्तो स्थान हो, जहाँ गुरुत्वाकर्षण शक्ति यति धेरै हुन्छ कि पदार्थ प्रवेश गर्न त सक्छ तर प्रकाशको किरण पनि त्यसबाट फुत्कन सक्दैन । कुनै पनि वस्तुलाई देख्न त्यस वस्तुबाट प्रकाश परावर्तन हुनुपर्छ तर कृष्ण छिद्रबाट कुनै पनि संकेत फुत्कन नसक्ने भएकाले यो नाङ्गो आँखाले देख्न सम्भव छैन । तिनीहरूले प्रकृतिमा रहेका देख्न सकिने पदार्थ माथि थोपर्ने असरको मापनको आधारमा ब्ल्याक होलको अस्तित्व पुष्टि गर्ने गरिन्छ । अत्यन्तै ठूला ताराहरूको आन्तरिक गुरुत्वाकषण शक्तिको प्रभावले लगातार संकुचनको परिणाम स्वरूप सानो अनि बढी घनत्व भएका ब्ल्याक होलको निर्माण हुन्छ ।

अर्को बुझ्नुपर्ने विषय हो श्वेत छिद्र (White Hole)श्वेत छिद्रका सम्पूर्ण गुणहरु कृष्ण छिद्रको ठ्याक्कै उल्टा हुन्छन् । कृष्ण छिद्रले आफ्नो समीपबाट जाने पदार्थहरुलाई तानेर लिन्छ र कहिल्यै फुत्कन दिदैन तर् श्वेत छिद्रमा कुनै पनि पदार्थ प्रवेश गर्नसक्दैन, यसले आफूतर्फ आइरहेका सम्पूर्ण पदार्थलाई फर्काइदिन्छ । कृमि छिद्र त्यस्तो सैद्धान्तिक रुपमा स्थापित स्थान हो, जसलाई आइस्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्तले स्वीकार गर्छ र ब्रम्हाण्डमा टाढा रहेका दुई वटा क्षेत्रलाई सबैभन्दा छोटो दुरीको रुपमा जोड्ने काम गर्छ । त्यो छोटो दुरीलाई सुरुङको रुपमा लिइन्छ र यही सुरुङलाई नै कृमि छिद्र (Wormhole) भनिन्छ ।

अतः कृमि छिद्र कुनै पनि स्थानका दुईवटा विन्दुलाई जोड्ने सुरुङ्ग हो । यस्ता विन्दुहरु छुट्टै दुई वटा संसारका हुन सक्छन् अथवा एउटै ब्रम्हाण्डका पनि हुन सक्छन् । यस्तो सूरुङको लागि आवश्यक पर्ने बक्रता निर्माणगर्ने मुख्य भूमिका कृष्ण छिद्र र श्वेत छिद्रले निभाउनेमा वैज्ञानिकहरु विश्वास गर्छन् । उनीहरुका अनुसार दुई वटा ब्ल्याक होल अथवा एउटा ब्ल्याक होलसँग श्लेत छिद्रको संयोजनबाट कृमि छिद्रको निर्माण हुन्छ । कृमि छिद्र अर्थात् वर्म होल शब्दको प्रयोग अमेरिकन भौतिकशास्त्री जोन ह्विलरले सन् १९५७ वाट ल्याएका हुन् ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

कृष्ण छिद्र ( Black Hole) भनेको के हो ? यसले कसरी असर गर्दछ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !