१८ बैशाख २०८१, मंगलबार

आज धरानका मन्दिरमा दर्शनार्थीको घुइँचो


आज धरानका मन्दिरमा दर्शनार्थीको घुइँचो

धरान, सुनसरी । आज नयाँ वर्ष २०८१ को पहिलो दिन धरान उपमहानगरपालिकामा रहेका मन्दिरमा दर्शन गर्ने भक्तजनको घुइँचो लगेको छ । आज धरानका पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको हो ।

धरान–१६ का हिरामणि बस्नेत र सरस्वती बस्नेत धरानको विजयपुर तिर उक्लिए । नयाँ वर्ष मनाउन अरु भेडेटार र अन्य पर्यटकीयस्थल तिर गइरहँदा उनीहरुले विजयपुरका पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरको दर्शन गरे । बुढासुब्बा मन्दिरमा भेटिनुभएका हिरामणिले सुनाए, “नयाँ वर्षमा भगवान्को दर्शन गरेर नयाँ कामको सुरुवात गरे राम्रो हुन्छ भनेर आएका हौँ ।”

नयाँ वर्षमा पर्यटकीयस्थलमा घुमघाम मात्र होइन, आफ्नो मनोकामना पूरा गर्न मन्दिर धाउने पनि उत्तिकै भेटिन्छन् । मन्दिरको दर्शनपछि आफूले परिवारको सुख, शान्तिको कामना गरेको सरस्वतीले बताए ।

नयाँ वर्षका अवसरमा बुढासुब्बाको दर्शनपछि मन्दिरको बाहिर रहेका बाँसमा डोरी बाँधेर अमर प्रेमको कामना गर्ने नवजोडीहरु पनि उत्तिकै देखिन्थे । यहाँ जोडी बाँधेमा आफ्नो माया अमर हुने किंवदन्ती रहेको छ । पहिलो बुढासुब्बाका बाँसमा नाम खोपेर माया अमर बनाउन युवापुस्ताको भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।

अहिले पनि नयाँ वर्ष जस्ता चाडपर्वमा युवापुस्ताका बाक्लो उपस्थिति देखिन्छ । केही वर्षयता मन्दिर व्यवस्थापन समितिले बाँस मासिने भन्दै तार घेरा लगाएर नाम लेख्न रोक लगाएपछि अहिले बाँसको संरक्षणका लागि घेरा लगाइएको तारमै डोरी बाँच्ने चलन बढेको छ ।

नयाँ वर्षका दिन मन्दिरको दर्शन गर्दा वर्षभरि नै फलिफाप हुने विश्वासका साथ हरेक वर्ष नयाँ वर्षका दिन बुढासुब्बामा भक्तजनको घुइँचो लाग्ने गरेको बुढासुब्बा मन्दिर परिसरमा फूलमाला बेच्दै आएका ईन्द्र श्रेष्ठले बताए । उनले भने, “नयाँ वर्षको पहिलो दिन हाम्रो फूलमालाको कारोबार प्रशस्तै हुन्छ ।” उहाँका अनुसार नयाँ वर्षको पहिलो दिन मात्र होइन अझै केही दिनसम्म दर्शनार्थीहरु आउने गर्छन् ।

बुढासुब्बा मन्दिरका पुजारी अशोक आलेमगरले नयाँ वर्षलाई विशेष दिनको रुपमा लिएर दर्शन गर्न आउनेको सङ्ख्या बढिरहेको बताए । उनले भने, “नयाँ वर्षमा अन्त घुम्न जाने पनि धेरै होलान्, मन्दिरमा दर्शन गरेर मनमा शान्तिको कामना गर्ने पनि बढिरहेका छन् । हरेक वर्ष धेरै मान्छे आउँछन् ।” विगतका नयाँ वर्षमा पनि मन्दिरमा दर्शन गर्ने आउने गरेका भन्दै यसपटक अन्य वर्षभन्दा केही बढी भक्तजन आएका उनको भनाइ छ ।

शनिबार बिदाको दिन नयाँ वर्ष पर्नुका साथै सुनसरीको चतराघाममा महाकुम्भ मेला लागिरहेकाले पनि धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको धरान–१४ स्थित दन्तकाली मन्दिरका पुजारी विश्वराज खनालले जानकारी दिए ।

“चतराको कुम्भमेलासँग विजयपुरको विशेष गरी पिण्डेश्वरको महत्व जोडिएको छ । त्यही नाममा मेला लागिरहेकाले पनि कुम्भका दर्शनार्थी पनि विजयपुर आउँछन्”, उनले भने, “यहाँ आएपछि सबै मन्दिर घुमेर जान्छन् । यसपाली नयाँ वर्षमा दर्शनार्थी धेरै आउनुको कारण त्यो पनि हो ।”

आज विजयपुर क्षेत्रका मन्दिरमा दर्शनार्थीको सङ्ख्या अत्यधिक बढेकाले मन्दिर आसपासमा फूलमाला बिक्री गर्नेको आम्दानी पनि मनग्ये भएको व्यवसायीको भनाइ छ । विजयपुर क्षेत्रका मन्दिरमा नयाँ वर्षको पहिलो दिन २५ देखि ३० हजार भक्तजन दर्शन गर्न आएका भन्दै एकै दिन लाखौँ आम्दानी भएको उनीहरुले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !