२५ बैशाख २०८१, मंगलबार

सुजन बागश्रेष्ठले छेडाए पहिलो पटक जिब्रो


सुजन बागश्रेष्ठले छेडाए जिब्रो

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको आगमनपछि वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पहिलो पटक बोडेका २७ वर्षीय सुजन बागश्रेष्ठले जिब्रो छेडेका छन् ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय सुजनले शनिबार पहिलोपटक जिब्रो छेडाएका छन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्रांगण रहेको पाटीस्थित मञ्चमा उनको जिब्रो छेडिएको हो ।

यसअघि, सुजका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौपल्ट जिब्रो छेडाएका थिए । यो वर्ष सुजनले जिब्रो छेडाएका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा भएअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत खान नहुने बताइन्छ ।

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।

जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !