२२ बैशाख २०८१, शनिबार

आज महाशिवरात्रि पर्व, पशुपतिनाथको दर्शनमा आउने भक्तजनलाई मास्क अनिर्वाय


Pashupati1

काठमाडौँ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व) ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

पशुपतिनाथको दर्शनमा आउने भक्तजनलाई मास्क अनिर्वाय

महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अनिर्वाय मास्कको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । मङ्गलबार हुने महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भीड बढ्ने गरेका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य तथा मेला व्यवस्थापन समितिका संयोजक पूर्णसङ्गम जेठाराले बताए ।

उनले भने, “पशुपतिमा आजैदेखि भीड बढेको छ, कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै हामीले मास्क र स्यानिटाइजर अनिर्वाय गरेका छौँ, मास्क प्रयोग नगर्नेलाई प्रवेश दिइने छैन ।” पशुपति क्षेत्रमा दर्शनार्थीहरूको बाक्लो भीड बढेसँगै सुरक्षाकर्मी तथा स्वयम्सेवकसमेत आज साँझ ५ बजेदेखि परिचालन गरिएका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलन थापाले जानकारी दिए । त्यसैगरी मेला क्षेत्र र दर्शन मार्गमा सिसी क्यामरा जडान गरिएको छ । पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ । शिवरात्रिको पूर्वसन्ध्यमा पशुपति झकिझकाउ पारिएको हो ।

पशुपति क्षेत्रमा चोरी लुटपाटलगायत घटना रोक्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सुरक्षाकर्मी परिचालन गरिएको शिवरात्रिको प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार भक्तजनका लागि विशेष सुरक्षा योजनासमेत बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज पशुपति क्षेत्रको निरीक्षण अवलोकन गरी दर्शनार्थीलाई पानी तथा निःशुल्क खानाको व्यवस्थापन गर्न निर्देशन दिएसँगै अहिले उक्त क्षेत्रमा निःशुल्क खाना तथा पानीको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

मन्दिर दर्शनका लागि तीनवटा दर्शन मार्ग व्यवस्था गरिएको छ । गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्र गाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ भने मित्रपार्क जयबागेश्वरी, इँटापाखा भएर भुवनेश्वरमा रहेको फलामको ढोका हुँदै पश्चिम ढोकातर्फ तथा बत्तीसपुलती, गौशाला, एअरपोर्ट, तिलगङ्गा चार शिवालय हुँदै अर्को लाइनको व्यवस्था गरिएको विकास कोषले जनाएको छ ।

यसैगरी गाडीको व्यवस्थापनका लागि पाँच ठाउँ कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलको चौर र गुह्येश्वरी क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । मन्त्री आलेको निर्देशनपछि अहिले पशुपति क्षेत्र झिलीमिली बनाइएको हो । पशुपति दर्शनमा आउने भक्तजनलाई कुनै पनि कुराको कमी हुन नदिन र लाइन लगाएर छिटो दर्शन गर्न सक्ने गरी व्यवस्थापन गर्नसमेत मन्त्री आलेले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम पनि सम्पन्न भएको छ । पशुपति क्षेत्रमा रु ५० लाख बराबरको बिजुली बत्ती र फूलले सजाइएको छ । दाताहरूको सहयोगमा बिजुली तथा फूलले सजावट गरिएको हो । यसैगरी मन्त्री आलेको निर्देशनमा पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्रलेखन पनि सम्पन्न भएको छ ।

यसैगरी महाशिवरात्रिका लागि आएका साधुसन्तले पशुपति क्षेत्रका कुनाकुनामा भीड बढेको छ । हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !