हिन्दु धर्ममा भगवान् विष्णुको पूजा, आराधना, भजन किर्तन र ब्रतबसी देशैभरि हरिबोधनी एकादशी मनाईदैछ । गत असार शुक्ल एकादशीमा चीर शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरि यस दिन बिउँझन्छन् भन्ने हिन्दुहरुको मान्यता रहेको छ ।
एकादशीको व्रतले धार्मिक एवं सामाजिक हिसाबमा मात्र नभई वैज्ञानिक हिसाबले पनि महत्व राख्दछ । हरेक ४० देखि ४८ दिनमा मानव शरीर मण्डल नामक एक चक्रबाट गुज्रन्छ । यही चक्रमा यस्तो खास तीन दिन आउँछ, जुनबेला शरीरलाई भोजनको आवश्यकता पर्दैन ।
एकादशीको दिन अन्न ग्रहण गर्नुलाई पाप मानिएको छ । सामान्यतया भगवान विष्णुलाई अक्षता चढाइँदैन । तसर्थ एकादशीका व्रत बस्नेले अन्न ग्रहण गर्दैनन् । यस दिन पहिचान गर्न सके ती दिनमा खानपान गरिरहनु पर्दैन । त्यतिबेला शरीरले भोजनको माग गर्दैन । यो जैविक पद्धति मानवलाई स्वस्थ राख्न सघाउने प्राकृतिक उपाय हो ।
शारीरिक तन्त्रको यो चक्रलाई धेरैजसोले पहिचान गर्न सक्छन् । यसका लागि उसले आफ्नो दिमागबाट यो कुरा निकाल्नुपर्छ कि, कति क्यालोरी, कति प्रोटिन र कति मिनरल्स लिनु जरुरी छ । मान्छेले आफ्नो शरीरको भाषा बुझ्न सके यी तीन दिन सहजै पहिचान गर्न सक्छ ।
तर, हिजोआज जीवनशैली छाडा भएका कारण मानिसको जागरुकता हराएको छ, उसले शरीरको भाषा बुझ्न छाडेको छ । त्यसै भएकाले अनुमानित समय विचार गरेर एकादशीका दिनलाई व्रत बस्ने दिन निर्धारण गरिएको हो ।
४८ दिनमा तीनवटा एकादशी आउँछ । यो एक संकेत हो । एकादशी एक यस्तो तिथि हो, जतिबेला पृथ्वी स्वयं एक खास दशामा हुन्छ । यस दिन शरीरलाई हल्का राख्नुपर्छ । शरीरलाई शुद्ध र जागरुक अवस्थामा राख्नुपर्छ । त्यसैले व्रत बस्ने विधान कायम गरिएको हो ।
व्रत बस्ने विविध तरिका छन् । अन्न त्याग, अन्न र फलफूलको त्याग, अन्न र फलफूल मात्र नभई जलको समेत त्याग, दूध मात्र पिउने, पानी मात्र पिउने आदि थुप्रै प्रकारका व्रतोपवासका विधि छन् । तीमध्ये आफ्नो शरीरलाई अनुकूल हुने गरी, आफ्नो शारीकि अवस्था विचार गरेर व्रत बस्नु लाभदायी हुन्छ ।
कुनै पनि कुरामा जबर्जस्ती गर्नु उचित मानिँदैन । तसर्थ एकादशीमा व्रत बस्ने नाममा आफैंलाई हानि हुने गरी भोको बस्नु उचित हुँदैन । कति समय र कसरी भोको बस्दा शरीर र मनलाई राम्रो गर्छ त्यो पत्ता लगाउनुपर्छ ।
यहाँनेर स्मरणीय के छ भने भोको बस्नु र व्रत वा उपवास बस्नु फरक कुरा हुन् । भोको बसेर, अन्न त्याग गरेर वा अनशन बसेर उपवास हुँदैन । उपवासका आफ्नै विधिविधान एवं नियम छन् । कोही मानिस खाएरै पनि उपवास बस्नसक्छ । उपवास वा व्रतमा खानु र नखानुको अर्थ गौण मात्र छ ।