१९ बैशाख २०८१, बुधबार

गृह मन्त्रालयद्वारा जिल्लाभित्र जारी गरिएका सबै सवारी पास खारेज


गृह मन्त्रालय

१ जेठ, काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास खारेज गरेको छ । जेठ ३ गते शनिवारदेखि लागू हुने गरी सम्वन्धित जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले बताएका छन् ।

अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने उनले बताए । प्रेसको हकमा सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने उनले बताए । मन्त्रालयले यसअघि जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु यसअघि नै मन्त्रालयले खारेज गरिसकेको छ ।

कारोना भाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने नीति अनुरुप सो निर्णय गरेको छ । यो निर्णय देशभर नै लागू गर्नेगरी गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरिसकेको छ ।

पछिल्लो समय पासको दुरुपयोग गर्दै मानिसहरुको अनावश्यक रुपमा आवतजावत हुने र भिडभाड हुने गरेको गुनासो बढेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत नाकामा कडाइ गर्नुका साथै लकडाउन खुकुलो नबनाउन यसअघिको मन्त्रिपरिषद् बैठकमा निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनसँगै एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने निर्णय गर्दै गृहले पास रद्द गरेको थियो । पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा संक्रमण रोकथाममा नै चुनौति थपिएको बेला गृहको यो निर्णय आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !