२१ बैशाख २०८१, शुक्रबार

नेकपा सचिवालय बैठक सकियो, वैशाख २० गते फेरि बस्ने


नेकपा सचिवालय बैठक

काठमाडौं, वैशाख १७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएपनि बैठक बिना निष्कर्ष सकिएको छ ।

सचिवालय बैठक पुन: वैशाख २० गते बस्ने भएको छ । आज राती बैठक सकिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त कुराको जानकारी गराएका हुन् ।

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलका अनुसार आज बसेको सचिवालयको वैठकले पार्टी एकतालाई मजबुत बनाउने, सरकारले गरेक राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने बारेमा समेत छलफल भएको सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

उक्त २० गते बस्ने बैठकले स्थायी कमिटी बैठक र अरु निर्णय गर्ने उनले जानकारी दिएका छन् । बैठकमा पार्टी भित्रको आन्तरिक समस्या र स्थायी कमिटीका २० सदस्यले माग गरेको स्थायी कमिटी बैठक बारेमा छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको हो ।

हिजो मंगलबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलपछि सचिवालयको समय आज तय भएको थियो । यसअघि सोमबार प्रधानमन्त्री ओली र माधव नेपाल पक्षबीच भएको छलफलपछि अस्ति मंगलबार नै बैठक बस्ने नेपाल पक्षका नेताहरुले बताएका थिए ।

सरकारले ल्याएको दुई अध्यादेशले नेकपामा विवाद बढ्दै गएको छ । बैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको सार्वजनिक भए लगत्तै सचिवालय बैठक बसेको थियो ।

तर, बैठककै बीच राष्ट्रपतिबाट अध्ययादेश जारी भएपछि बैठकको औचित्य सकिएको निष्कर्ष सदस्यहरुले निकालेका थिए । यसबीच अध्यादेश फिर्ता भइसकेको छ । तर, नेकपाको विवाद भने गहिरिँदै गएको छ ।

पार्टीमा स्थायी कमिटी बैठकको माग पनि हुँदै आएको छ । २० जना स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै हस्ताक्षर समेत दुवै अध्यक्षलाई बुझाएका छन् ।

यो पनि पढ्नुहोस्

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

पूर्व सभामुख महराको साथ पनि प्रधानमन्त्री ओलीलाई

प्रधानमन्त्री ओली पक्षधर सांसदहरुको हस्ताक्षर संकलन

प्रधानमन्त्री ओली किन पुगे संसद भवन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !