८ बैशाख २०८१, शनिबार

पूर्व सभामुख महराको साथ पनि प्रधानमन्त्री ओलीलाई


ओली र महरा

काठमाडौँ, बैशाख १७ । पूर्व सभामुख तथा नेकपाका सांसद कृष्णबहादुर महराले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने संकेत दिएका छन् । पार्टीभित्रैबाट ओलीको राजीनामा माग्ने तयारी भैरहेको अवस्थामा महरा ओलीको पक्षमा उभिएको बालुवाटार स्रोतले जनाएको छ ।

आज एउटा प्रेस वक्तव्य जारी गर्दै महराले महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनेको बेला कोरोना भाइरस संक्रमणबाट नेपाल पनि प्रभावित भई देश अहिले लकडाउनको अवस्थामा मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको बताएका छन् ।

उक्त प्रेस वक्तव्य भनिएको छ, ”अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन् ।”

साथै यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न नसकिने भएकोले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न हार्दिक अपील गरेका छन् ।

संसदीय दलमा ओलीको पक्षमा बहुमत जुटाउनेगरि सांसदहरु भेला भएका छन् । सांसद महेश बस्नेतले प्रधानमन्त्री ओलीको पक्षमा आजै १०० जना सांसद उभिने जानकारी दिएका थिए ।

बस्नेतका अनुसार अहिले नै मन्त्रीबाहेक ६२ जना सांसद भेला भईसकेको तर हस्ताक्षर चाहीँ भई नसकेको बताएका छन् । तर, सचिवालय बैठकमा हस्ताक्षर सहित प्रस्तुत हुन आफूहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको उनको भनाई छ ।

रोचक त के छ भने तत्कालिन पूर्व माओवादी केन्द्रका सांसदहरु टोप बहादुर रायमाझी लगायतले समेत ओलीलाई साथ दिने भएका छन् । यसअघि उद्योग मन्त्री लेखराज भट्टले आफू ओलीको पक्षमा उभिएको भन्दै प्रचण्डको साथ छोडेको स्पष्ट सन्देश दिईसकेका छन् ।

त्यस्तै, प्रचण्डका विश्वासपात्रका रुपमा चिनिएका गृह मन्त्री राम बहादुर थापाले समेत प्रधानमन्त्री ओलीलाई अप्रत्यक्ष रुपमा साथ दिईरहेको संकेत देखिरहदा पूर्वसभामुख महराले पनि प्रचण्डको साथ छोडेर ओलीलाई सहयोग गर्ने संकेत देखिएको स्रोतको दाबी छ ।

कृष्णबहादुर महराको प्रेस व्यक्तब्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !