१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं प्रहरीले सुरेन्द्र यादव अपहरण सम्बन्धी उजुरी लिन मानेन


महानगरीय प्रहरी परिसर काठमाडौं डा. बाबुराम भट्टराई

१४ वैशाख, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद डा. सुरेन्द्र यादव अपहरण सम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध जनता समाजवादी पार्टी, नेपालका नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको छ ।

आइतबार दिउँसो आफ्नो पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरिएको भन्दै जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताहरु प्रहरी परिसरमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र कृष्ण (किसान) श्रेष्ठविरुद्ध जाहेरी लिएर पुगेका छन् ।

पीडित सांसद डा. सुरेन्द्र यादव पनि प्रहरी कार्यालय गएका छन् । कार्यालय प्रमुख नभएको बहानामा पुगेको डेढ घण्टा बित्दासम्म पनि उजुरी नलिइएको पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले बताएका छन् । त्यस्तै साढे ४ बजेतिर परिसर प्रमुख श्यामलाल ज्ञवाली कार्यालयमा उपस्थित भएपनि आफूले उजुरी दर्ता गर्न नसक्ने जवाफ थिए ।

उनले जनता समाजवादीका नेताहरुलाई ‘म यो उजुरी दर्ता गर्न सक्दिनँ । तपाईँहरु जे गर्नुहुन्छ गर्नुस्’ भन्दै जवाफ दिएका थिए । उनले महोत्तरी घटना भएकाले त्यहीँ गएर उजुरी दर्ता गराउँदा ठीक हुने राय समेत दिएको नेताहरुले बताएका छन् ।

तर, उजुरी दर्ता नभएपछि जनता समाजवादीका नेताहरुले आक्रोश व्यक्त गरेका छन् । नेता भट्टराईले ट्वीटरमार्फत आक्रोश पोख्दै भनेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?’

खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ । गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए भने त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !