२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री ओलीद्वारा दाहालको ‘सर्वदलीय संयन्त्र गठन’ प्रस्ताव ठाडै अस्वीकार


ओली प्रचण्ड

काठमाडौं, चैत्र २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय संयन्त्र गठनको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरसका कारण उत्पन्न संकटको समाधान गर्न सर्वदलीय संयन्त्र बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।

तर प्रधानमन्त्री ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग कोरोना भाइरसका कारण उत्पन्न संकट र सरकारहरुले गरिरहेको प्रयासका बारेमा छलफल गर्ने क्रममा उक्त प्रस्तावको औचित्य नै नरहेको बताएका छन् । सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको भिडिओ संवादमा प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा सरकार भन्दा भिन्न अरू कुनै संयन्त्र आवश्यक नभएको भन्दै सरकारले नै प्रभावकारी ढंगले काम गरिरहेको जिकीर गरे ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार इमेज च्यानल टेलिभिजनलाई अन्तर्वार्ता दिँदै, प्रधानमन्त्रीकै संयोजकत्वमा प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनु पर्ने माग गरेका थिए । दाहालले संकटका बेला सरकार एक्लैले सबै काम गर्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अरु दलका नेतासमेत सम्मिलित सर्वदलीय संयन्त्र बनाउनुपर्ने माग गरेका थिए ।

यस्तो संयन्त्रबारे कांग्रेसले आफ्नो धारणा प्रष्ट नगरे पनि समाजवादी दल र साझा पार्टीले भने सर्वदलीय संयन्त्र गठनको माग गरेका थिए । तर शनिबार अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संयन्त्र अनावश्यक रहेको मात्र भनेनन् १५ दिनको बीचमा एक पटक निर्देशन दिने जस्ता काम नगर्नसमेत चेतावनी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !