२६ बैशाख २०८१, बुधबार

को हुन् कानुन मन्त्री यज्ञबहादुर थापा ?


को हुन् कानुन मन्त्री यज्ञबहादुर थापा ?

पृष्ठभूमि र जन्म

देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट कास्की-१ बाट प्रत्यक्ष निर्वाचित सांसद यज्ञबहादुर थापाले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन्। नेपाली कांग्रेस कास्कीका सभापति रहेका थापा नेता पौडेल समूहको सिफारिसमा मन्त्री भएका हुन् ।

कास्की-१ बाट २०४८ को संसदीय निर्वाचनमा निर्वाचित सांसद तारानाथ रानाभाट तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीको रुपमा नियुक्त भएको ठिक २६ वर्षपछि त्यही क्षेत्रबाट संविधानसभा निर्वाचनमा निर्वाचित  सांसद यज्ञ बहादुर थापा पनि उही कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नियुक्त भएका छन् ।

लामो समयदेखि निरन्तर पार्टीका लागि कृयाशील भएका थापाले कास्की कांग्रेसका नेताहरु तारानाथ रानाभाट, शुक्रराज शर्मा, महादेव गुरुङ लगायतका नेताहरु ओझेलमा पर्दै गएपछि मात्र थापाले विस्तारै चर्चा र नेतृत्वको अवसर पाएका थिए । यज्ञबहादुर थापाको जन्म बि.सं. २०११ साल भदौ १९ गते कास्की  जिल्लाको लेखनाथ न.पा.–५  मा भएको हो ।  उनका बाबुको नाम स्व. सुर्य बहादुर थापा र आमाको नाम स्व. मन कुमारी थापा  हो । उनकी  श्रीमतीको नाम उर्मिला थापा हो ।

शिक्षा

थापाले राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

राजनीतिक यात्रा

विद्यार्थी राजनीतिदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर कृयाशील थापा मन्त्रीमा नियुक्त गरेपछि कास्की कांग्रेसमा खुसीयाली छाएको छ । लामो समयको राजनीतिक यात्रापछि थापा मन्त्री भएका छन् । थापा प्रजातान्त्रिक आन्दोलनमा पटक पटकको गिरफ्तार तथा जेलका जीवन बिताएका थिए ।

थापाले यसपटक पोखरा लेखनाथ महानगरपालिकाको मेयरको उम्मेदवार बन्न खोजेका थिए । तर, अर्जुननरसिंह केसीले आफ्ना नातेदार रामजी कुँबर टिकट दिलाउन सबै शक्ति लगाएपछि थापा पछि हटे । अहिले उनी मन्त्री बन्न सफल भएका छन् । संयोग चाहिँ कस्तो पर्योछ भने २०७० सालको संविधानसभा चुनावमा थापासँग १५० मतको अन्तरमा पराजित भएका एमालेका मानबहादुर जिसी पोखराको मेयर बने । उनको राजनीतिक यात्रा यस प्रकार छ ।

१.  वि.सं. २०३१ देखि राजनीतिमा प्रवेश ।

२. प्रधानमन्त्री शेरबहादुर देउवा २०३२ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएको बेला थापालाई देउवाले नेपाल विद्यार्थी संघ कास्कीको गठन गरी जिल्ला सचिवको जिम्मेवारी दिएका ।

३.  २०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय ।

४. २०३६ सालमा नेपाल विद्यार्थी संघको जनकपुर अधिवेशनबाट विमलेन्द्र निधि अध्यक्ष हुँदा थापाले केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेका ।

५. नेपाली कांग्रेस प्रतिवन्धित हुँदाको अवस्थामा २०३६ सालमा थापाले पार्टीको मुखपत्र नेपाल पुकारको लागि कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको अन्तरवार्ता लिएर चर्चामा आएका।

६. पार्टी पूर्णरुपमा प्रतिबन्धित रहेको पञ्चायतकालमा थापाले कांग्रेसको बहुदल प्रचार समिति कास्कीको महामन्त्रीको जिम्मेवारी सम्हालेका ।

७. पार्टीले थालेको सत्याग्रहको आन्दोलनमा गिरफ्तारीमा परेका थापा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली गायतका नेतासँग २०४२ सालमा सात महिना जेल बसेका थिए।

८. २०४९ सालमा जिल्ला विकास समिति कास्कीका उपसभपाति । त्यसबेला थापा आफ्नै सभापतिमाथि मुक्का बर्साएर चर्चामा आएका ।

९. कास्की काँग्रेसको सचिव, उपसभापतिको जिम्मेवारी सम्हाल्दै १२ वर्ष पार्टीको जिल्ला सभापतिकोसमेत जिम्मेवारी सम्हालेका ।

१०. ११ औँ र १२ औँ महाधिवेसनमा कास्की सभापतिमा निर्वाचित।

११. २०६२/०६३ को आन्दोलनमा समेत सक्रिय योगदान ।

१२. कास्कीको पार्टी नेतृत्वमा रहेको बेला सुरु भएको २०६२/०६३ को आन्दोलनमा थापा काठमाडौंको टुडिखेलमा प्रहरीबाट मरणासन्न हुने गरी पिटिएका ।

१३.  पहिलो संविधानसभाको निर्वाचनमा कास्की-१ बाट  उम्मेदवार ।

१४. २०७० सालको संविधानसभा निर्वाचनमा विजयी ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !