१४ बैशाख २०८१, शुक्रबार

नेकपामा नयाँ सभामुखको बहस : नेम्वाङ कि सापकोटा ?


नेकपामा नयाँ सभामुखको छलफल : नेम्वाङ कि सापकोटा ?

मंसीर २६, काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् । सभामुखको टुंगो नलाग्दै संसद बैठक आह्वान गरेपछि सत्तारुढ नेकपालाई छिटो सभामुखको टुंगो लगाउनुपर्न दबाब पनि बढेको छ ।

नेकपाले संसद्को हिउँदे अधिवेशन अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । संसद् नियमावलीको व्यवस्था अनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन् । उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ । यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन् । त्यसकारण तुम्बाहाम्फेको पद गुम्न लागेको हो । सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ।

जेष्ठ सदस्यले अध्यक्षता गर्ने गरी उपसभामुखले राजीनामा दिनुपर्ने नेकपा संसदीय दल स्रोतले बताएको छ । बैठक बस्नुअघि राजीनामा आउने संकेत पाईएको छ । उपसभामुख तुम्बाहाम्फेले भने सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ भएपछि आफूले राजीनामा दिने बताएकी छिन् । संसद् अधिवेशन अगावै राजीनामा दिने वा पछि भन्नेमा सुझाव लिइरहेकी छन् ।

सभामुख नेम्वाङ कि सापकोटा ?

नेकपामा सभामुख कसलाई बनाउने भन्ने छलफल अब दुई जनामा साँघुरिएको छ । नेकपाको सचिवालयका अनुसार सुवास नेम्वाङ र अग्नि सापकोटामध्ये एकजना सभामुख हुने लगभग निश्चित छ । स्थायी कमिटीको बैठकका कार्यसूची तय गर्न एक-दुई दिनभित्रै बस्ने सचिवालय बैठकमा सभामुख कसलाई बनाउने भन्नेबारे नेताहरुबीच छलफल हुनेछ । तर त्यसअघि नै दुई अध्यक्षले नेम्वाङ वा सापकोटाका नाममा सहमति जुटाएर प्रस्ताव बैठकमा ल्याउने गृहकार्य भई रहेको छ ।

यसअघि नेकपाभित्र सभामुखका लागि नेम्वाङ र सापकोटा बाहेक उपसभामुख शिवमाया तुम्बाहाम्फे, प्रमुख सचेतक देव गुरुङ, पम्फा भुषाल लगायतका नेताको पनि बलियो दाबी थियो । तुम्बाहाम्फेले अझै पनि आफू सभामुख हुने निश्चित नभइ राजिनामा नदिने बताइरहेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी निकट तुम्बाहाम्फेले महिला सांसदहरु र नेकपाकै केही नेताहरुमार्फत आफ्नो पक्षमा निर्णय गराउन नेतृत्वमाथि दबाब सिर्जना गरिरहेकी छन् ।

नेम्वाङलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही नबोल्न भनेको कारण उनले सभामुख बन्नेबारे मुख खोलेका छैनन् । साथै उनी र उपसभामुख तुम्बाहाम्फे नातेदार पनि हुन् । ओली नेम्वाङलाई सभामुख बनाउनका लागि प्रचण्डलाई मनाउने प्रयासमा भएको बताइन्छ । संसद संचालन गर्नका लागि प्रधानमन्त्री ओलीले आफूलाई अनुकूल हुने पात्र नेम्वाङ नै देखेका छन् ।

अबको संसद झनै पेचिलो हुने र सबैलाई मिलाउन सक्ने तथा निर्णायक बेलामा आफूलाई सहयोग गर्ने सभामुख ओलीले चाहेका छन् । अग्नि सापकोटा पार्टीको राम्रो नेता भएपनि सभामुखको भूमिकामा नयाँ भएकाले ओली आश्वस्त हुन नसकेको निकट नेताहरु बताउँछन् । ओलीले मन्त्रिपरिषदको दोस्रो पुनर्गठनमा सापकोटा सहितका नेताहरुलाई समेट्ने गरी सभामुखमा नेम्वाङकै नाममा सहमति जुटाउन प्रयास गर्ने उनी निकट स्रोतको दावी छ ।

सापकोटालाई सभामुख बनाउनुपर्ने दबाब र घेराबन्दीमा अर्का अध्यक्ष प्रचण्ड पनि छन् । सापकोटा प्रचण्ड निकट नेतामात्र होइन पूर्वमाओवादीका दोस्रो तहका नेताहरुमध्ये अहिले राजकीय जिम्मेवारीमा नरहेकाले पनि उनको पक्षमा दह्रो अडानका साथ उभिन प्रचण्डमाथि नेताहरुको दबाब छ । सापकोटाले ओली निकट नेताहरुसँग पनि आफ्नो पक्षमा उभिन आग्रह गरेका छन् ।

सापकोटा पार्टीको प्रभावशाली नेता भएकाले सभामुखको भूमिकामा उनी सन्तुलनकारी बन्न नसक्ने तर्कसमेत नेम्वाङ पक्षधरले गरेका छन् । तर सभामुख पद पूर्व माओवादीले यसअघि नै शक्ति सन्तुलनका आधारमा पाएकाले पूर्वएमालेले दावी गर्नु नै राजनीतिक रुपमा बेठीक रहेको प्रचण्ड निकट नेताहरुको भनाइ छ ।

पार्टी एकीकरण अघि नै पूर्वएमालेलाई राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष र पूर्वमाओवादीलाई उपराष्ट्रपति तथा सभामुख पाउने समझदारी भएको थियो । अब सभामुख समेत पूर्वएमालेले लिएर पूर्वमाओवादी पक्षलाई हरेक मोर्चामा कमजोर बनाउन खोजिएको आरोप पूर्वएमालेलाई लागेको छ ।

सुवास नेम्वाङ २०६४ मा प्रथम संविधानसभाको अध्यक्ष, दोस्रो संविधानसभाको अध्यक्ष तथा व्यबस्थापिका संसदको सभामुख, पुन :स्थापित प्रतिनिधिसभाका सभामुख, अन्तरिम व्यबस्थापिका संसदको सभामुख भई सक्नुभएको छ भने भने अग्नि सापकोटा सूचना तथा सञ्चार मन्त्री र बन तथा भु-संरक्षण मन्त्री भई सकेका छन् । पार्टीमा दुवै नेताले सत्ताको पूर्ण सदुपयोग गरेको देखिन्छ ।

एमालेसँग एकतामा गएका प्रचण्डले त्यहाँ आत्मसम्मान नपाइरहेको चर्चा चलिरहेको छ र ‘फिलिङ कार्यकारी’को भावनालाई जगाएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । यदि सभामुख पनि पूर्व एमालेलाई नै दिदाँ पार्टीमा आफुहरु कमजोर हुने साथै सभामुख पद पूर्व माओवादीले यसअघि नै शक्ति सन्तुलनका आधारमा पाएको हो भन्ने तर्क पनि हावी हुनसक्छ ।

अबको संसद झनै पेचिलो हुने र सबैलाई मिलाउन सक्ने तथा निर्णायक बेलामा आफूलाई सहयोग गर्ने सभामुख ओलीले चाहेका छन् । ओलीले मन्त्रिपरिषदको दोस्रो पुनर्गठनमा सापकोटा सहित उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई समेट्ने गरी सभामुखमा नेम्वाङकै नाममा सहमति जुटाउन प्रयास हावी भएमा नेम्वाङको अधिकतम सम्भावना छ ।

अनुभवका आधारमा सुबास नेम्वाङको सम्भावना धेरै देखिन्छ भने पार्टी एकीकरण अघि भएको सहमति अनुसार सभामुख पद पूर्व माओवादीले पाउनुपर्ने सर्त अनुसार सापकोटाको पनि सम्भावना देखिन्छ । तथापी कुन तर्क र अडान हावी हुन्छ त्यसका आधारमा नयाँ सभामुख चयन गरिनेछ ।

यो पनि पढ्नुहोस्

उपसभामुखलाई राजीनामा गराउँदै नेकपा, को-को बन्दैछन् नयाँ सभामुख र उपसभामुख ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !